काठमाडौं- क्रिकेटका अन्तर्राष्ट्रिय म्याचका लागि सम्पूर्ण मापदण्ड पूरा भएको नेपालको एक मात्रै त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा पूर्वाधार विकासको गफ लामो समयदेखि चलिरहेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा जारी नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताका सबै खेल त्रिवि क्रिकेट मैदानमै हुँदैछन् ।
एनपीएलका हरेक म्याचमा दर्शकको ओइरो लाग्ने गरेको छ । रुखदेखि घरका छानामासमेत चढेर नेपालीहरू क्रिकेट हेरिरहेका छन् । टिकट काटेकाहरू पनि घाँसे चौरमा बसेका छन् ।
नेपालले अन्तर्राष्ट्रिय म्याचका लागि होम ग्राउन्डका रुपमा यसैलाई उपयोग गरिरहेको छ। मूलपानी क्रिकेट स्टेडियम दशकभन्दा लामो समयदेखि निर्माणको चरणमा छ ।
संघीय राजधानीबाहिर गौतम बुद्ध क्रिकेट स्टेडियम बन्ने क्रममा छ । रुपन्देहीमा निजी क्षेत्रबाट एउटा स्टेडियम बनिरहेको छ । कैलालीको फाप्ला क्रिकेट स्टेडियम पनि पूर्वाधारयुक्त छैन ।
यसबीचमा त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्याराफिट निर्माण थाल्ने कुरा अघि बढेको पनि करिब ३ वर्ष हुन लागिसकेको छ ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०७९ चैतमा ‘विश्वकप लिग २’ अन्तर्गत नेपाल र यूएईको खेल हेर्न पुगेका बेला दर्शक र क्रिकेट समर्थकको चर्को हुटिङ सामना गर्नुपरेको थियो ।
त्यसबेला छोरीहरूसहित स्टेडियममा पुग्दा उनले केही गालीयुक्त नारा पनि सुन्नु परेको थियो । प्रचण्ड कीर्तिपुर पुग्दा ‘रङ्गशाला चाहियो, रङ्गशाला चाहियो’ भन्दै दर्शकहरूले चर्को नारा लगाए ।
सन् १९९८ देखि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालिएको त्रिवि मैदानले अहिलेसम्म रुप फेर्न सकेको छैन । तर त्यसयता दर्जनबढी प्रधानमन्त्री त देशले फेरिसकेको छ ।
एसीसी ट्रफीअन्तर्गत पपुवा न्युगिनी र बङगलादेशबीचको खेलबाट यहाँ अन्तर्राष्ट्रिय प्रतियोगिताको रेकर्ड राख्न सुरु गरिएको थियो। ‘आईसीसी मेन्स क्रिकेट वर्ल्डकप लिग–टु’ मा नेपाललाई ऐतिहासिक सफलता पनि यही मैदानले दियो ।
यही मैदानमा १२ खेलमा लागतार ११ जितको श्रृंखला कायम गरेको नेपाली टीमका लागि सरकारले यसको पूर्वाधार विस्तार र क्षमता सुधारमा लामो समय चासो दिएन।
२०७९ चैतमा खेल हेर्न पुगेका बेला नाराबाजी झेल्नुपरेपछि प्रचण्डले तत्कालन कीर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइट जडान अघि बढाउन राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिए । तर प्रचण्ड त्यसको १८ महिनापछि अर्थात् २०८१ असार २८ गते सत्ताबाट बिदा हुँदासम्म पूर्वाधार निर्माणले कुनै गति लिएन ।
बरु प्रचण्ड पुत्री गंगाले फेक फोटो सेयर गर्दै त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडा भइसकेको खबर २०७९ चैत १२ गते फेसबुकमा सेयर गरेर ट्रोल हुन पुगिन् । ट्रोल भइसकेपछि ‘द्रूत गतिमा काम सम्पन्न भएपश्चात् रंगशाला यो आकारमा देखिन्छ’ भन्दै उनले फोटोको क्याप्सन सच्याइन् ।
प्रचण्डले दिएको निर्देशन उनी सरकारबाट बाहिरिँदासम्म अलपत्र भयो । अर्थात्, त्रिवि क्रिकेट मैदानमा न त फल्ड लाइट राखियो न त प्याराफिट नै विस्तारको काम भयो । प्रचण्ड सरकारबाट बिदा भए, राष्ट्रिय खेलकुद परिषद्ले पनि प्रक्रिया अघि बढाए पनि गति लिएन, बरु टेन्डर पटक पटक रद्द हुँदा काममा अलमल भयो।
टेन्डर रद्द
त्रिवि मैदानमा फ्लडलाइट र प्याराफिट बनाउन पहिलो पटक २०८० वैशाखमा टेन्डर गरिएको थियो । त्यसबेला ५ कम्पनीले आवेदन दिँदा मूल्यांकन समितिले सबैलाई अयोग्य ठहर्यायो । त्यसपछि २०८० साउनमा अर्को पटक टेन्डर आह्वान भयो । ५ कम्पनीले आवेदन दिँदा कात्तिकमा तीमध्ये एउटा छनोट भयो ।
एउटा कम्पनी छनोटपछि अन्य ५ कम्पनीले कम्पनी पूर्वाग्रह आरोप लगाउँदै सार्वजनिक खरिद अनुगमन कार्यालयमा निवेदन दिए ।
कार्यालयले पुनःमूल्यांकन गर्न निर्देशन दियो । ठेक्का पाएको कम्पनी कार्यालयविरुद्ध उच्च अदालत गयो । तर, अदालतले टेन्डर रद्द गर्न आदेश दिएपछि निर्माण रोकियो ।
२०८१ वैशाख तेस्रो पटक टेन्डर आह्वान गरियो । यसपटक ४ निर्माण कम्पनीले बोलपत्र पेश गरे । तर कुनै कम्पनी छनोट हुन सकेनन् ।
मूल्यांकनमा सबै अयोग्य ठहर भए । तेस्रो पटक टेन्डर आह्वान गर्दा पनि निर्माण कम्पनी छनोट नभएपछि शुक्रबार चौथो पटक टेन्डर आह्वान गरिएको छ ।
ओलीको निर्णय
तीन पटक टेन्डर रद्द भएपछि प्रचण्डको निर्देशन अलपत्र पर्यो । उनैलाई विस्थापित गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भए ।
त्यसको भोलिपल्ट अर्थात् असार ३१ गते बसेको ओली क्याबिनेटको पहिलो बैठकले तीन सय दिनभित्र त्रिवि क्रिकेट मैदानमा ‘फ्लड लाइट’ जडान र ‘प्याराफिट’ बनाइसक्ने निर्णय गर्यो । उक्त निर्णयबारे सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले त्यसबेला औपचारिक जानकारी पनि दिए ।
असार १७ गते राति नेपाली-कांग्रेस र नेकपा एमालेको ७ बुँदे सहमतिअनुसार प्रचण्डलाई हटाएर नयाँ सरकार बनाएपछि प्राथमिकताका कार्यक्रम घोषणा गर्ने क्रममा पनि त्रिवि क्रिकेट स्टेडियमबारे कुरा भएको थियो ।
बोलपत्र
ओली क्याबिनेटको पहिलो निर्णय कार्यान्वयनतर्फ लैजान पूरापूर चार महिना लागेको छ । शुक्रबार फ्लडलाइट र प्याराफट निर्माणका लागि फेरि चौथो पटक बोलपत्र आह्वान भएको छ ।
चौथो पटक बोलपत्र आह्वान भएपछि फ्लडलाइट र प्याराफिट निर्माणको काम समयमै सक्ने बाचा प्रधानमन्त्री ओलीले गरेका छन्। ओलीले निर्माणकार्य समयमै पूरा हुने पनि उल्लेख गरेका छन् । तर यो बोलपत्र पनि यसअघिका तीनवटा जस्तै ‘हात्ती आयो हात्ती आयो फुस्स’ हुने सम्भावना उत्तिकै छ ।
सहरी विकास मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले अन्तर्राष्ट्रियस्तरको प्याराफिट निर्माण र फ्लडलाइट जडानका लागि शुक्रवार बोलपत्र आह्वान गरेको हो ।
चौथो पटक गरिएको बोलपत्रअनुसार प्याराफिटका बनाउन १ करोड ६२ लाख र फ्लडलाइट जोड्न १ करोड ७३ लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।
ती काम अघि बढाउन इच्छुक निर्माण कम्पनीले आगामी माघ ६ गते मध्यान्ह १२ : ३० बजेसम्म बोलपत्र दर्ता गरिसक्नुपर्नेछ । त्यही दिन दिउँसो साढे १ बजे बोलपत्र खोलिने पनि मन्त्रालयले जनाएको छ ।
बन्छ त ?
चार पटकसम्म आह्वान गरिएको बोलपत्र रद्द भएको अवस्थामा प्रधानमन्त्री ओलीले शुक्रबार सामाजिक सञ्जालमा ठूलै उपलब्धिका रुपमा लेखेका छन् ।
‘क्रिकेट हाम्रो युवा, समाजको प्राण भएको’बताउँदै ओलीले प्रधानमन्त्रीको शपथ लिएको पहिलो दिन नै त्रिवि क्रिकेट मैदान सुविधासम्पन्न बनाउने निर्णय गरेको पनि स्मरण गरेका छन् ।
तर उनै प्रधानमन्त्री ओलीले त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्याराफिट निर्माण अघि बढिसकेको कुरा कात्तिकमै भनेका थिए । सरकारका सय दिनका काममा समावेश गर्दै उपल्बधि सुनाएका उनै ओली शुक्रबार बल्ल टेन्डर भएको कुरा लेख्छन् । कात्तिकमा निर्माणका लागि ठेक्का नै नलागेको अवस्थामा पनि प्रधानमन्त्रीले हल्ला गरे ।
तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आर्थिक वर्ष २०७९–८० को बजेटमा फ्लडलाइटका लागि छुट्याएको १० करोड बजेट फिर्ता भएको थियो । आर्थिक वर्ष २०८१–८२ को बजेटमा पनि फ्लडलाइट बनाउन २० करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
‘क्रिकेट हाम्रो युवा समाजको प्राण हो । क्याबिनेटको पहिलो बैठकबाट हामीले कीर्तिपुरको मैदानमा क्रिकेट रंगशालाको प्यारापिट निर्माण र फ्लडलाइट जडान गर्ने निर्णय गरेका थियौँ। यसको लागि पर्याप्त ध्यान दिएर सुरुमै पारस खड्का सहित क्रिकेट खेलाडीहरूलाई बालुवाटार बोलाएर छलफल पनि गर्यौँ’, उनले भनेका छन्, ‘त्यसबेला क्यानका पदाधिकारीले पनि बरु अलिक समय दिएरै विश्वस्तरको रंगशालाको राम्रो डिजाइन गरौँ, हतार नगरौँ भन्ने सल्लाह दिनु भएको थियो। जग्गा प्राप्ति लगायत झन्झटिलो प्राविधिक प्रक्रियाले सोचेभन्दा बढी समय लाग्यो। त्यसले प्रारम्भिक प्राविधिक डिजाइन तय गर्ने काममा केही ढिलाइ अवश्य भयो’, ओलीले भनेका छन् ।
टेन्डर लाग्ने नलाग्ने ग्यारेन्टी नभएको अवस्थामा ओलीले समयमै निर्माण सम्पन्न गर्न सबैले सुझाव र खबरदारी दिनुपर्ने पनि बताएका छन् ।
‘आज निर्माणका लागि बोलपत्र आह्वान भएको छ। अब हामीले तीन सिफ्टमा फटाफट काम गरेर यसलाई निर्धारित समयमै सम्पन्न गर्नु पर्ने छ’, उनले भनेका छन्, ‘यसलाई विश्वस्तरको बनाउने ‘प्लान’ भने त्यसपछि पनि जारी रहने छ । काम छिटो सक्न र आवश्यक सुझाव तथा खबरदारी गर्न सबैलाई अनुरोध गर्छु’ उनले भनेका छन् ।