वालिङ– गएराति स्याङ्जाको भिरकोट नगरपालिका–१ भलुवाडाँडामा आगलागी भएको छ । भलुवाडाँडा बस्ने ८१ वर्षीय बेलनारायण श्रेष्ठको ढुङ्गा तथा माटोले बनेको कच्ची घर र गोठमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी उमेशलाल श्रेष्ठले बताए ।
गए राति श्रेष्ठको एकतले कच्ची गोठबाट सुरु भएको आगोले निजकै कच्ची दुई तले घर र गोठमा क्षति पुगेको छ । विद्युत् सर्ट भई आगलागी भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । प्रहरी र स्थानीयले झण्डै एक घण्टापछि आगो नियन्त्रणमा लिएका थिए ।
आगलागीबाट दुई तले कच्ची घर र गोठ जलेर पूर्ण रूपमा नष्ट भएको छ । रातिको समयमा अकस्मात् घर जल्दा भित्रै रहेको एक लाख ३० हजार रुपैयाँ नगद, सुन सात तोला, भाँडावर्तन, लत्ताकपडा गरी १५ लाख रुपैयाँ बराबरको क्षति भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।