राजनीति

कांग्रेस महासमिति बैठकमा प्रतिवेदनमाथि सुझाव दिन एक जनालाई ५ मिनेटको समय

By खबरहब

February 21, 2024

काठमाडौँ– नेपाली कांग्रेसको जारी महासमिति बैठकमा आज चार समूहमा विभाजन गरेर पाँच प्रतिवेदनमाथि छलफल भइरहेको छ ।

समूहगत छलफलमा सहभागीहरुले मंगलबार प्रस्तुत प्रतिवेदनमाथि सुझाव तथा धारणा राखिरहेका छन् । आफ्ना सुझाव तथा धारणा राख्न एक सहभागीलाई पाँच मिनेटको समय तोकिएको छ ।

सम्मेलन केन्द्रको मुख्य गोदावरी हलमा कोशी र सुदुरपश्चिम प्रदेश, कोन्ज्योसोम हलमा लुम्बिनी प्रदेश, भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरु, फूलचोकी हलमा बागमती र गण्डकी प्रदेश र विशंखुनारायण हलमा मधेश र कर्णाली प्रदेशको समूहगत छलफल भइरहेको छ ।

समूहगत छलफलमा आज सबै सहभागीहरुले धारणा राख्ने व्यवस्था मिलाइएको प्रचारप्रसार उपसमिति संयोजक मीन विश्वकर्माले जानकारी दिए ।

उनले भने, ‘हामीले महासमिति बैठकमा सहभागी सबै सदस्यहरुको धारणा लिन आवश्यक समयको व्यवस्थापन गरेका छौँ, सबै सदस्यहरुले आफ्ना धारणा तथा सुझावहरु राख्न पाउने छन् ।’ महासमिति बैठक भोलिसम्म सञ्चालन हुनेछ ।