क्रिकेट

नामिबियाविरुद्ध नचलेको नेपालको मध्यक्रम

By खबरहब

February 21, 2024

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ को तेस्रो खेलमा नेपाल नामिबियासँग पराजित भयो । लिग–२ को पहिलो खेलमा नेपालले घरेलु मैदानमा नामिबियासँग नै पराजय भोगेको थियो । अघिल्लो वर्ष नामिबियामाथि प्रभावशाली जित निकाल्दै लिग–२ को शीर्ष स्थानमा फर्किएको नेपाल एक वर्षपछि सोही टिमसँग लगातार पराजित भयो ।

पहिलो खेलमा ब्याटिङमा देखिएको समस्या दोहोरिँदा नेपालले नामिबियाविरुद्ध दोस्रो खेलमा पनि जित निकाल्न सकेन । पहिलो खेलमा नचलेको नेपाली टिमको मध्यक्रमको ब्याटिङ लाइन आज पनि सस्तैमा धरासायी हुन पुग्यो । नेपालका मुख्य तीन ब्याटर शून्य रनमा आउट भए । दिपेन्द्रसिंह ऐरीले पनि ६ रन बढी बनाउन सकेनन् ।

नेपालसँगका दुई खेलमा जित निकालेको नामिबियाले महत्वपूर्ण ४ अंक बटुल्दै तालिकामा बलियो उपस्थितिको सन्देश दिएको छ । नामिबियाले पछिल्लो समय उत्कृष्ट खेल्दै आएको छ । नामिबियाका कप्तान गेरहार्ड इरास्मस नेपालसँगको जितबाट टिम उत्साही भएको बताउँछन् ।

उत्कृष्ट खेल खेल्दै आएको नेपाललाई घरेलु मैदानमा हराएर ४ अंक जोड्नु टिमका लागि महत्वपूर्ण भएको उनको भनाइ छ । खेलपछि सञ्चारकर्मीसँग नामिबियाका कप्तान गेरहार्डले आफूहरुका लागि यो सिरिज निकै महत्वपूर्ण भएको बताए । सकारात्मक नतिजा निकाल्ने योजनाका साथ नेपाल आएको भन्दै त्यसमा सफल हुँदा खुसी लागेको बताए ।

किन हार्‍यो नेपाल ?

कीर्तिपुरस्थित त्रिवि मैदानमा कमजोर ब्याटिङ गर्दा नेपालनामिबियासँग २ विकेटको हार व्यहोर्न बाध्य भयो। टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपाल १६८ रनमा अलआउट भएको थियो। जुन लक्ष्य नामिबियाले ८ विकेट गुमाएर पूरा गर्‍यो।

खेलपछि नेपालका प्रशिक्षक मोन्टी देसाइले पहिले ब्याटिङको योजना बनाए पनि त्यसमा सफल नभएको बताए।पछिल्लो समय त्रिवि क्रिकेट मैदानमा टस जित्ने टिमले खेलमा पकड जमाउँदै आएको छ । लिग–२ का तीन खेलमा नै टस जित्नेले खेल आफ्नो पक्षमा पार्न सफल भएको छ ।

पहिलो खेलमा टस जितेको नामिबियाले बलिङ रोज्यो र नेपालको ब्याटिङ लाइन ध्वस्त पार्‍यो । जहाँ नेपाल ४ विकेटको हार ब्यहोर्न बाध्य भएको थियो । तर, दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी नेदरल्याण्डसँग नेपालले टस जितेर फिल्डिङको निर्णय लियो ।

नेदरल्याण्ड्सको ब्याटिङ सस्तैमा समेट्यो । जहाँ नेपालका ब्याट्सम्यानले प्रभावशाली प्रदर्शन गर्दा ९ विकेटको जित हात पार्‍यो । तर, लिगको तेस्रो खेलमा टसले नेदरल्याण्डलाई साथ दिँदा नामिबियामाथि सहज जित निकाल्यो ।

बिहानको समयमा ओसिलो हुने त्रिवि मैदानमा टस जित्ने टिमले फिल्डिङ रोज्ने र ब्याटिङमा आउने टिमलाई समस्या हुँदै आएको छ । जसको प्रभाव नतिजामा देखिदै आएको छ । यही प्रभावलाई चिर्न नेपालले योजना बनाएको भए पनि सफल हुन नसकेको प्रशिक्षक देसाइ बताउँछन् ।

उनी भन्छन, ‘हामी यो मैदानमा पहिले ब्याटिङका लागि तयार थियौं। त्यसका लागि योजना पनि बनाएका थियौं । हामीले पाँच ओभरमा राम्रो सुरूआत गर्न पनि सफल भयौं ।’ तर, मध्यमक्रमका ब्याट्सम्यान सस्तैमा आउट हुँदा योजनामा सफल नभएको उनको भनाइ थियो । उनले थपे, ‘कुशल आउटपछि अनिल पनि दुर्भाग्यवस आउट हुन पुगे । खेलमा यस्तो भइरहन्छ ।’

पावरप्लेमा तीन विकेट गएको अवस्थामा पनि कुशल मल्ल र आसिफ शेखले राम्रो साझेदारी गरेका मोन्टीको भनाई थियो । तर कप्तान रोहित पौडेलसहितका मुख्य ब्याटर आफ्नो भूमिकामा केन्द्रित हुन नसकेको उनले तर्क गरे ।

नेपालका कप्तान रोहितकुमार पौडेलले आफ्नो प्रदर्शनलाई लिएर सन्तुष्ट नभएको बताए । आफू र दीपेन्द्रले राम्रो ब्याटिङ गर्न नसक्दा नेपालले राम्रो स्कोर बनाउन नसकेको रोहितको भनाई थियो । ‘हामीले ब्याटिङमा राम्रो गर्न सकेनौं’ खेलपछि रोहितले भने जसले हामीलाई जित निकाल्न कठिन भयो ।

ब्याटिङ अर्डरमा आएको परिवर्तनले खेलमा प्रभाव पारेको हो भन्ने प्रश्नमा उनले नेपालको ब्याटिङ अडर स्पष्ट भएको र परिस्थिति अनुसारको अडर निर्माण गर्न नेपाल तयार रहेको जानकारी दिए । पहिलो खेलमा नामिबियासँग हारेपछि नेदरल्यान्ड्सविरूद्ध कमब्याक गरेको भन्दै कप्तान रोहितले नेपालले फेरि कमब्याक गर्ने प्रतिक्रिया दिए ।

१६९ रनको लक्ष्यमा पनि नेपालले बलिङ र फिल्डिङमा राम्रो प्रदर्शन गरेको नेपालका प्रशिक्षक मोन्टीले बताए । लिग –२ मा नेपालले आइतबार नेदरल्यान्ड्ससँग खेलेपछि यो सिरिज सकिनेछ। त्यसपछि नेपालले सेप्टेम्बरमा मात्र लिग–२ को सिरिज खेल्नेछ ।

सिरिजपछि टी–२० मा केन्द्रित

नेपाल लिग–२ को यो सिरिज लगत्तै अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी टी–२० विश्वकपमा केन्द्रित हुनेछ । प्रशिक्षक मोन्टीले यो सिरिजपछि नेपाली टिम पूर्णतः टी–२० खेलमा केन्द्रित हुने बताए ।

नेपालले विश्वकप तयारीका लागि नामिबिया र नेदरल्याण्डसँग लिग–२ को खेल लगत्तै टी–२० सिरिजको आयोजना गरेको छ । त्यसपछि नेपाल भारतका विभिन्न क्लवसँग टी–२० सिरिज खेल्नेछ । यसपछि पनि नेपाल अन्य सिरिज र तयारी खेलमा ब्यस्त हुनेछ । ४ महिनाको अवधिमा नेपालले कम्तीमा पनि १५ वटा खेल खेल्ने तयारी छ ।

नेपाल आगामी ४ देखि ३० जुनसम्म अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा सहभागिताका लागि जानेछ । यसपालिको विश्वकपमा २० देशले खेल्दैछन् । नेपाल विश्वकपको समूह डी मा रहेको छ । जुन समूहमा नेदरल्यान्डस्, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश रहेका छन् ।

नेपालले पहिलो खेल जुन ४ मा नेदरल्यान्ड्स, दोस्रो खेल श्रीलंकासँग जुन ११, तेस्रो खेल दक्षिण अफ्रिकासँग जुन १४ र चौथो खेल बंगलादेशसंग जुन १६ मा खेल्नेछ ।

तस्बिर- चिरायु शाक्य