अन्तर्राष्ट्रिय

‘दक्षिण चीन सागरको विवादमा दक्षिणपूर्वी एसियाली मुलुकको दृष्टिकोणमा कुनै मतभेद छैन’

By खबरहब

February 21, 2024

नयाँ दिल्ली- दक्षिणपूर्वी एसियाली मुलुकहरुको संगठन आशियानका महासचिव डा. काओ किम होर्नले दक्षिण चीन सागरमा जारी विवादलाई लिएर दक्षिणपूर्वी एसियाली मुलुकहरुको दृष्टिकोणमा कुनै मतभेद नरहेको रहेको जनाएका छन् ।

भारत भ्रमणका क्रममा भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीमा उनले दक्षिण चीन सागरमा चीनसँग जारी विवादबारे मुलुकहरुले द्विपक्षीय माध्यमबाट वार्ता गर्नुपर्नेमा जोड दिए ।

उनले हाल आचारसंहितालाई अन्तिम रुप दिनेबारे छलफल भइरहेको भन्दै दक्षिण चीन सागरको अवस्था व्यवस्थापन कसरी गर्ने विषयमा बहस भइरहेको बताए । अन्तर्राष्ट्रिय व्यवसायिक पारवहनका लागि अत्यावश्यक मानिने दक्षिण चीन सागरमा अथाह प्राकृतिक स्रोत रहेको ठानिन्छ ।

चीनले यस समुद्रको ठूलो हिस्सामा आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ । दक्षिण चीन सागरको जलक्षेत्रलाई लिएर चीन र मलेशिया, इण्डोनेशिया, ब्रुनाइ, फिलिपिन्स, भियतनामजस्ता मुलुकबीच बारम्बार विवाद उत्पन्न हुँदै आएको छ ।