भरतपुर- भरतपुर भ्रमण वर्ष २०२४ अभियान सञ्चालनको लागि सहकार्य गर्ने विषयमा नेपाल पर्यटन बोर्ड र भरतपुर महानगरपालिकाबीच सम्झौता भएको छ ।
बुधबार भरतपुर महानगरपालिका सभाहलमा भ्रमण वर्षलाई प्रर्वद्धन गर्न दुई पक्षबीच सम्झौता भएको हो । भरतपुर भ्रमण वर्ष २०२४ को अभियान सञ्चालनमा लाग्ने कुल तीन करोड सत्तरी लाख रुपैयाँ खर्चमध्ये बोर्डले ७० लाख रुपैयाँ व्यहोर्ने सम्झौतामा उल्लेख छ ।
पर्यापर्यटन तथा मानव वन्यजन्तु द्धन्द्ध व्यवस्थापन कार्याशाला, ब्रसोर, स्टीकर, डिजिटल बोर्ड, होर्डिङ बोर्ड, वैदेशिक पर्यटन प्रर्वद्धन, विभिन्न सहरहरुमा प्रचारात्मक कार्यक्रम, नेचर गाईड तालिमलगायतका कार्यक्रम गर्न सो रकम खर्च गरिने सम्झौता पत्रमा उल्लेख छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भ्रमण वर्षलाई सफल बनाउन बोर्डले गरेको सहयोगको उच्च प्रशंसा गरिन् । बोर्डले अभियानलाई सफल बनाउन अहिलेसम्म भएका प्रयोगलाई उच्चतम प्रयोग गरी नमूना काम गर्न अनुरोध पनि गरिन् ।