बसन्त ऋतु । यस ऋतुमा प्रकृतिले सुन्दर छट्टा फैल्याउँछ । न जाडो, न गर्मीको यो घमाइलो मौसममा बनस्पतिले पाउलो हाल्छ । पात झरेका बनस्पतिमा पिपिरापिपिरी देखिन थाल्छ । पुरानो पात झर्छ । नयाँ पातको जन्म हुन्छ । हेर्दा सामान्य पात देखिए पनि यसले प्रकृतिको नियम इंगित गर्छ ।
पहिला पहिला माइती गएका बुहारीहरु बर्खा लागेसंगै घर फर्कने सुरसार गर्थे । यस अर्थमा यो घरमा काम खुल्ने समय पनि हो । यसै मेसोमा प्रकृतिलाई सौन्दर्यको लालीमा छर्ने गुराँस फूलको बखानमा यो सामग्री केन्द्रित छ । राष्ट्रिय फूल भएकाले यो हाम्रो परिचय पनि हो ।
भौगोलिक अवस्था र हावापानीअनुसार अरु बनस्पति झैं गुराँसका पनि विभिन्न प्रजाति पाइन्छ । नेपालमा गुराँस १ हजारदेखि ५ हजार मिटरको उचाईसम्म पाइएको छ । हालसम्म गुराँसका ३० प्रजाति भेटिएका छन् । अझ पूर्वी हिमाली र पहाडी क्षेत्रमा प्रजातिको विविधता भेटिन्छ ।
नेपालको राष्ट्रिय फूल लाली गुराँसको वैज्ञानिक नाम रोडोडेनड्रोम आर्वोरियम हो । दक्षिण पाटा फर्केको समशीतोष्ण र शीतोष्ण जंगलमा बागु, खस्रु र अंगेरीजस्ता बनस्पति माझ हुर्कन रुचाउने यो बनस्पति ७–२० मिटर अग्लो र २–५ मिटरसम्म मोटो हुन्छ । यसको रुख सुरिलो खिरिलो नभई बाङ्गोटिङ्गो हाँगाबिंगा भएको भद्दा हुन्छ ।
लालीगुराँसका वृक्षका केही विचित्र विशेषता छन् । एउटा खास विशेषता के हो भने यो सहनशील वृक्ष हो । अन्य बोटविरुवा हुर्कन नसक्ने प्रतिकूल हावापानीमा पनि यसले आफूलाई सहज ढंगमा हुर्काउँछ । भीर होस कि पहरा, ढुंगा होस या गेग्रान अझ भनौं पहरा, छहरा जता पनि यो रमाउँछ ।
मलिलो, अम्लीय, सुख्खा, वर्षा जता रोप्नुस, गुराँसले जरा फैल्याउँछ । तर नर्सरीमा भने यो विरुवा हुर्काउन अत्यन्तै चुनौतीपूर्ण छ ।
लालीगुराँसको यही मनोविज्ञान बुझेर हुनुपर्छ गीतकार क्षेत्रप्रताप अधिकारीले नारायणगोपालको स्वरमा गीत रेकर्ड गराए– म त लालीगुराँस भएँछु, बनैभरि फुलिदिन्छु , मनैभरि फुलिदिन्छु ।
लालीगुराँसको अर्को विशेषता भनेको यसको अनुपम रंग नै । २२–२५ सय मिटरको उचाईसम्म पाइने लालीगुराँसको फूल लालीजस्तो गाढा रंगको हुन्छ भने २५ सय मिटरभन्दा माथिको स्थानमा भेटिने गुराँस फिका गुलावी रंगको हुन्छ । अझ कतै सेतो रंगको गुराँसको बाहुल्य पनि पाइन्छ । उचाई अनुसार रंगमा फरकपन भेटिनु यसको मौलिक विशेषता हो ।
गुराँस बहुउपयोगी बनस्पति हो । यसको काठ निर्माणदेखि खुकुरीको दाप बनाउन उपयोग हुन्छ । गुराँसको फूल सुकाएर औषधिका रुपमा उपयोग गर्ने आम प्रचलन छ । गुराँसको फूलबाट बनेका जुस बजारमा पाइन्छ । यो स्वास्थ्यवद्र्धक हुने आयुर्वेदशास्त्रको विश्लेषण अनुसारले धेरैले उपयोग गर्ने गरेका छन् । यसको फूल अमिलो हुने भएकाले अचारको रुपमा पनि उपभोग गरिन्छ । गाउँघरका झ्यालढोका रंगाउन यसको फूल प्रयोग गर्ने गरिन्छ ।
गुराँसको फूलबाट एकातिर बहुमूल्य चीज प्राप्त हुन्छ भने अर्कातिर यसको मुन्टा र पता अत्यन्त विषालु हुन्छ । गुराँसको मुन्टा गाइबस्तुले खायो भने ज्यानसम्म जान सक्छ । पातमा भएको इरिकोलिन नामक विषालु रसायनले यस्तो समस्या निम्त्याएको हो । गुराँसको फूल झपक्क फुलेको बेला मौरीले जम्मा गरेको मह विषालु हुने कतिपयको तर्क छ । बसन्त ऋतुमा भीरमौरीले उत्पादन गरेको मह बनका बनस्पतिका कारण स्वास्थ्यवद्र्धक नहुने धारणा पनि रहेको पाइन्छ ।
माछाको काँडा अड्किएमा गुराँसको फूल खानाले काँडा झर्ने आम विश्वास रहिआएको छ । यसरी काँडा झर्नुको एउटा वैज्ञानिक कारण के भने गुराँसको फूलमा ‘मकरन्द’ भन्ने चिप्लो पदार्थ हुन्छ, जस्ले काँडालार्य चिप्लो पारेर घाँटीबाट बाहिर निकाल्छ भन्ने आधार रहेको छ । गुराँस फूल सबै ठाउँ, सबै याममा फुल्दैन । त्यसैले त यसको महिमा अलौकिक बनेको हो ।