देश/प्रदेश

वीरेन्द्रतालमा हिमपहिरो, बूढीगण्डकी किनारका बासिन्दालाई सतर्क रहन आग्रह

By खबरहब

April 21, 2024

काठमाडौँ– गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित वीरेन्द्रतालमा हिमपहिरो खस्दा बूढीगण्डकीमा पानीको बहाव उच्च भएको छ ।

आज बिहान मनासलु बेसक्याम्पबाट तालमा ठूलो हिउँ पहिरो झरेका कारण तालको पानी बाहिर निस्किएर बूढीगण्डकीमा झरेको बताइएको छ ।

तालमा पहिरो खसेपछि त्यहाँबाट बाढी गएर बूढीगण्डकीमा मिसिएपछि गण्डकीमा पानीको बहाव दोब्बरले बढेको  बताइएकाे छ ।

बाढीले नदी आसपास क्षेत्रमा क्षति गर्न सक्ने भन्दै गृह मन्त्रालयले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको गृह मन्त्रालयका प्रवत्ता नारायणप्रसाद भट्टराईले बताए ।

जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार घटनाबारे बुझ्न सामागाउँ चौकीबाट प्रहरी त्यसतर्फ गएको छ । हिमपहिरोले सामागाउँबाट साम्दो जाने बाटोको काठे पुल बगाएको प्रहरीले जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी भोला दाहालले तालमा ठूलो पहिरो खस्दा पानी बाहिर आएको बताए । उनले क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको जानकारी दिए ।