समाचार

ढोरपाटन सिकार आरक्ष आसपासमा घरबास सञ्चालन गरिने

By खबरहब

April 21, 2024

ढोरपाटन–  पर्यटन प्रवर्द्धनका लागि बागलुङका दुई पालिकामा तीस घरबास (होमस्टे) सञ्चालन गरिने भएको छ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन आसपासमा घरबास सञ्चालन गरिने भएको हो । 

दिगो पर्यटन प्रर्वद्धन परियोजना अन्तरगत टेरिडेज होम जर्मनको आर्थिक विकास तथा वातावरण मन्त्रालयको सहयोग तथा (बिवाइसी) बागलुङको साझेदारीमा घरबास सञ्चालन गर्न थालेको कार्यक्रम संयोजक उत्तम अर्यालले बताए । 

युवा उद्यमशीलता वृद्धि गर्न, महिलालाई आत्मनिर्भर बनाउन र व्यवस्थित रुपमा व्यावसायिक घरबास सञ्चालन गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले यो अभियान थालिएको उहाँको भनाइ छ । पहिलो चरणमा ढोरपाटन उपत्यका क्षेत्रमा सञ्चालित पाँच घरबास सञ्चालकलाई रु दुई लाख ८० हजार बराबरको सामग्री वितरण गरेको अर्यालले बताए । 

ढोरपाटन नगरपालिकामा २० र निसीखोला गाउँपालिकामा १० घरबास व्यवस्थित रुपमा सञ्चालनमा ल्याउने तयारी रहेको संयोजक अर्यालको भनाइ छ । हाल सञ्चालनमा रहेका घरबासलाई व्यवस्थित गराउने र युवालाई प्रत्यक्ष रोजगारीसँग जोड्ने कामको सुरुवात गरेको अर्यालले बताए । 

घरबासमा आवश्यक पर्ने लत्ताकपडादेखि विस्तारा, कुर्सी, टेबल, ग्यास सेटलगायत विभिन्न ४० प्रकारका सामग्री हस्तान्तरण गरिएको छ । सञ्चालकलाई विभिन्न तालिममार्फत घरबास विषयमा विज्ञ बनाउने र दिगो रुपमा अगाडि बढ्ने गरी कार्यक्रम तय गरिएको उनले बताए । यस वर्षको पुस १५ गतेसम्म १७ र त्यसपछि १३ घरबास सञ्चालनमा ल्याइने अर्यालले जानकारी दिए। पहिलो चरणमा रु ८५ लाख लगानी लगानी गर्न थालेको उनको भनाइ छ ।

युवालाई गाउँमै रोजगारीको सिर्जना गराइ व्यावसायिक बनाउन एक सय ५० जनाका लागि फरकफरक कार्यक्रम सञ्चालनसमेत गरिने भएको छ । युवालाई होटल म्यानेजमेन्ट, टुरिस्ट गाइड, बेकरी कफी बनाउने लगायतका तालिमका माध्यमबाट सीप सिकाइ आयआर्जनसँग जोडिने छ । 

ढोरपाटनका कार्यवाहक नगर प्रमुख धनबहादुर कायतले यस क्षेत्रको पर्यटन प्रवर्द्धन, स्वरोजगार सिर्जना र घरबास सञ्चालन व्यवस्थापनमार्फत पर्यटन प्रवर्द्धन हुनुका साथै धेरै युवाले रोजगार बढाउने बताए । 

ढोरपाटन र निसीखोलामा थुप्रै सम्भावना हुँदाहुँदै पनि पछाडि परेको भन्दै अब विभिन्न सङ्घ संस्थासँग सहकार्य गरेर विकासको गति बढाउने उहाँको भनाइ छ ।