फाइल फोटो

समाचार

वीरगञ्ज महानगरद्वारा ४० करोड राजस्व सङ्कलन

By खबरहब

May 21, 2024

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा ३९ करोड ८० लाख ३४ हजार एक सय १९ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

महानगरले गत आर्थिक वर्षको १० महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा तीन करोड १८ लाख ९८ हजार २९ रकम बढी सङ्कलन गरेको हो ।

महानगरले गत आवको १० महिनामा ३६ करोड ६१ लाख ३६ हजार ९० राजस्व सङ्कलन गरेको थियो ।

वीरगञ्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले चालु आवको बजेट पुसमा संशोधन गर्दै ७० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य भए तापनि हालसम्म ४० करोडको हाराहारीमा मात्रै राजस्व सङ्कलन भएको जानकारी दिए ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले चालु आर्थिक वर्षमा मालपोत कर ५० करोड रकम सङ्कलन गर्ने लक्ष्य रहेकामा त्यो प्राप्त गर्न कठिन हुने बताए ।

महानगरले २४ शीर्षककमा आन्तरिक राजस्व वापत आम्दानी गर्दै आइरहेको छ ।

महानगरले यस वर्ष घरबहाल कर बापत चार करोड ९६ लाख ७५ हजार आम्दानी गरेको छ भने पूर्वाधार सेवाको उपयोगमा लाग्ने कर बापत भने दुई करोड सात लाख ९२ हजार सङ्कलन गरेको छ ।