राजनीति

संसदीय छानबिन समितिको कार्यादेश तय गर्न कार्यदलको बैठक बस्दै

By खबरहब

May 21, 2024

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) तयार गर्न गठित कार्यदलको बैठक आज बस्दैछ ।

बैठक बिहान ९ बजे कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने जनाइएको छ ।

शनिबार गठित कार्यदलले आइतबार बिहानदेखि साँझसम्म छलफल गरे पनि क्षेत्राधिकारका विषयमा कुरा नमिल्दा बैठक विनानिष्कर्ष टुंगिएको थियो ।

संसदीय छानबिन समितिको कार्यादेशका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच कुरा मिल्न सकेको छैन ।

नेपाली कांग्रेसले समिति बनाउँदा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नामै उल्लेख गर्नुपर्ने अडान राख्दै आएको छ भने सत्ता गठबन्धनका दल यस कुरामा असहमत छन् ।

गत शनिबार बसेको शीर्ष नेताहरुको बैठकले संसदीय छानबिन समिति बनाउने सहमति गर्दै त्यसको कार्यादेश टुंगो लगाउन कानूनमन्त्री पदम गिरीको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेको थियो । जसमा कांग्रेसका जीवन परियार, एमालेका महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल सदस्य छन् ।

सहकारी प्रकरणमा छानबिन समितिको माग गर्दै कांग्रेसले लगातार संसद वैठक अवरुद्ध गर्दै आएको छ ।