स्वास्थ्य

बागलुङका बालबालिकालाई आईपीभी खोप लगाइँदै

By खबरहब

May 21, 2024

बागलुङ– बागलुङमा यस वर्ष ११ हजार सात सय ७१ जना बालबालिकाका लागि यही जेठ १३ देखि २६ गतेसम्म आईपीभी खोप अभियान सञ्चालन हुने भएको छ ।

खोप अभावका कारण २०७३ साल वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकाले यो खोप नपाएकाले खोप अभियान प्रारम्भ हुन लागेको हो ।

जिल्लाका दशवटै स्थानीय तहमा खोप सञ्चालनका लागि स्वास्थ्य कार्यालय बागलुङले आवश्यक तयारी थालेको जनाएको छ ।

विकट ग्रामीण भेगका बालकालिकालाई खोपको पहुँचमा ल्याउन तीन सय ३९ स्थानमा खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बाबुराम आचार्यले जानकारी दिए ।

कुनै पनि बालबालिका आईपीभी खोपबाट बञ्चित नहोउन् भन्ने उद्देश्यसहित तीन सय ३९ जना स्वास्थ्यकर्मी, ६ सय ८९ जना स्वयंसेवक खटाइने प्रमख आचार्यले बताए ।

खोप व्यवस्थापन तथा अनुगमनका लागि ९५ जनालाई खटाइने प्रमुख आचार्यले बताए ।

स्वास्थ्यकर्मीले विद्यालय, स्वास्थ्यचौकी तथा सार्वजनिक स्थानमा बालबालिकालाई पायक पर्ने ठाउँमा पुगेर खोप लगाउने उनको भनाइ छ ।

खोप अभिायनलाई प्रभावकारी बनाउन जिल्लास्थित पालिका, अस्पताल, स्वास्थ्यचौकीसँग सहकार्य गरिने उनले जानकारी दिए