सांकेतिक तस्वीर

समाचार

भारतको कर्नाटकमा बैतडीका दाजुबहिनीको मृत्यु

By खबरहब

May 21, 2024

महेन्द्रनगर– बैतडीको पुर्चौडी नगरपालिका–४ भोडरका दुई दाजुबहिनीको भारतको कर्नाटकमा मृत्यु भएको छ ।

बुबा-आमासँग कर्नाटकस्थित गाउँबस्तीमा मजुदरी गरिरहेका नन्दसिंह धानुकको १७ वर्षीय छोरा विक्रम  र १५ वर्षीया छोरी शिरिष्माको कर्नाटकमा गत शनिबार शंकास्पद मृत्यु भएको  मृतकका काका पर्ने जीवन धामीले जानकारी दिए।

‘दुवै दाजुबहिनीको हत्या गरी स्थानीय खोलामा डुबेर मृत्यु भएको अफवाह फैलाइएको कर्नाटकमा रहेकाले दाबी गरेका छन्’, धामीले भने, ‘दुवैको शरीर चोटपटक देखिन्छ ।’ बुबाआमाको आग्रहमा शिरिष्मा एक महिनाअघि र विक्रम करिब छ महिनाअघि मात्रै भारत गएका थिए । मृतक दुवैको शव स्थानीय अस्पतालमा राखिएको उनको भनाइ छ । घटनापछि मृतकका बुबा नन्दसिंह बेपत्ता रहेको बताइएको छ ।

‘सोमबार नै आफन्तको जिम्मा लगाएर शव दाहसंस्कार गर्ने योजना थियो’, धामीले भने, ‘तर अझै शव अस्पतालमै छ ।’ मृतकका आफन्तले भने घटनाको छानबिनको माग गरिरहेका छन् ।