काठमाडौं– सहकारी संस्थाहरू विकराल अवस्थामा पुगेको बेलामा अहिले धापासी महिला बहुउद्देश्यीय सहकारी संस्थाले भने उदाहरणीय काम सुरु गरेको छ । काम गर्ने जागरुकता, उत्साह र आपसी सहयोगले गर्दा महिलाहरू एउटा उद्योग नै खडा गर्न सफल भएका छन् ।
आफैँले लगानी गरी ठूला उद्योग खोल्न नसक्ने र गृहिणी भएका कारण टाढा-टाढा काम गर्न जान सक्ने सम्भावना पनि थिएन । नजिकै केही काम गर्न पाए हुन्थ्यो भन्ने इच्छा भने सबैमा थियो । त्यसैले; सहकारीमा आबद्ध केही महिलाहरू सल्लाह गर्न थाले ।
आफ्नै सहकारी (धापासी महिला बहुउद्देश्यीय सहकारी संस्था) बाट केही गर्न पाए हुन्थ्यो भन्ने राय सबैको आयो । काम गर्ने इच्छा र चाहना हुँदाहुँदै पनि उनीहरूले के गर्ने भन्ने निर्णय लिन सकेका थिएनन् । सबै महिला दिदीबहिनीहरूले केही गर्न उत्सुकता देखाएपछि व्यवसाय गर्ने सोच बन्यो । केही समयको अध्ययन, अन्य संघसंस्थाबाट लिएको सल्लाह र काम गर्ने हुटहुटीले उनीहरूले अन्ततः उद्योग नै खडा गरे ।
सहकारीले बचत भेला पार्ने मात्रै हो, केही गर्दैन भन्ने आरोपलाई चिर्न र आबद्ध महिलाहरूलाई रोजगारीको बाटोमा लैजान वर्षौंदेखि गरेको संघर्ष बल्ल पूरा भएको बताउँछिन् धाम सर्फ उद्योगकी अध्यक्ष रेनुका कोइराला । सहकारीले उद्योग खोल्दा सबै महिलाहरूलाई नै संलग्न गराएको र आफूहरूलाई उद्यम गरेर खाने वातावरण सिर्जना गरेको उनको भनाइ छ ।
केही सहकारीका कारण सम्पूर्ण सहकारीको नै बदनाम र मानिसहरूमा त्रास फैलिरहेका बेला सबै सहकारी खराब छैनन् भन्ने उदाहरण धापासी महिला बहुउद्देश्यीय सहकारी संस्था बनेको उनको दाबी छ ।
एकजनाको आँटमा सुरु भएको उद्योग सहकारीमा आबद्ध केही दिदीबहिनीबीच केही काम सुरु गरौँ भनी सल्लाह भयो । तर, के गर्ने भन्नेमा कौतूहल थियो । उनीहरूले विभिन्न संघसंस्थासँग अन्तरक्रिया गरे ।
पहिले सेनेटरी प्याड उद्योग खोल्ने भनी केही महिलाहरूलाई नगरपालिकाको सहयोगमा तालिम पनि प्रदान गरे । ती महिलाहरूले सहकारीबाट नभइ व्यक्तिगत रूपमा उद्योग सञ्चालन गरेपछि उनीहरू अलमलमा परेका थिए । पछि सहकारीमै आबद्ध एक महिलाले सर्फ बनाउन आफूलाई आउने बताएपछि उनीहरू सर्फ उद्योग नै खोल्ने निर्णयमा पुगे ।
उद्योग सञ्चालन गर्न आवश्यक सामाग्री खोजी गरे । भक्तपुरमा सर्फ बनाउन आवश्यक केमिकलहरू पाइने ठाउँ पत्ता लगाए । सर्फ बनाउन आवश्यक मेसिन पनि खोज्न थाले । नेपालमा किन्नुभन्दा भारतबाट ल्याउँदा ३० हजार रुपैयाँसम्म सस्तो पर्ने भएपछि भारतबाट नै मेसिन मगाए ।
बहुउद्देश्यीय काम गर्ने भनिएको सहकारीलाई निश्चित घेरामा मात्रै बाँधेर राख्नु हुँदैन भन्ने लक्ष्यलाई उनीहरूले सहकारीकै नामबाट ‘धामको सर्फ उद्योग’मा परिणत गरे । सुरुमा ७ लाख रुपैयाँ जतिमै सामाग्रीहरूको व्यवस्थापन गर्न सकिन्छ भनी आँट गरे पनि गुणस्तरीय उत्पादन दिन नसक्ने भएपछि लगानी बढेर २५ लाख रुपैयाँसम्म पुग्यो ।
नेपालमा उत्पादन भैरहेका सामान्य गुणस्तरका सर्फ उत्पादन गर्न लगानी पनि सामान्य नै गरे पुग्थ्यो । तर, गुणस्तरीय सर्फ उत्पादन गर्ने लक्ष्यसाथ काम अघि बढाउँदा लगानी पनि धेरै गर्नुपरेको उद्योगकी अध्यक्ष कोइरालाले बताइन् । अहिले धामको सर्फ भारतबाट आयात हुने एरियलभन्दा बढी गुणस्तरीय भएको उनको भनाइ छ ।
उनले भनिन्, ‘धामको सर्फको मुख्य योजना भनेकै भारतीय महङ्गा सर्फ नेपाली बजारबाट विस्थापन गर्नु हो । हामीले नेपालमै मेहनत गरी यत्तिको गुणस्तरीय सर्फ उत्पादन गर्न सक्छौ भने किन विदेशी सर्फ प्रयोग गर्ने ?’
आधुनिक जीवनयापनमा घरायसी सरसफाइका लागि सर्फ अत्यावश्यक जस्तै हो । क्रमशः ग्रामीण क्षेत्रमा समेत कपडा धुन र अन्य सरसफाइ गर्न सर्फ प्रयोग बढ्न थालेको छ । सोही कारण यो उद्योग उपलब्धिमूलक हुने निचोडसाथ गुणस्तरमा विशेष जोड दिएको कोइरालाले बताइन् ।उद्योग २०८० साल जेठ १२ गते स्थापना भएको उनले जानकारी दिइन् ।
उत्पादनमा आफैँ खटिइन्छन् महिला उद्योग खोल्नुअघि महिलाहरूले अन्य सर्फ उद्योग निरीक्षण गरेका थिए । ती उद्योगहरूमा उनीहरूले सर्फ कसरी बनाउने, कुन र कति सामग्री प्रयोग गर्ने भन्ने जाने ।
त्यसपछि सर्फ उद्योगमै काम गरिरहेका एक कामदारलाई आफ्नो उद्योगमा ल्याए । सबै महिलाहरूले सर्फ कसरी बनाउने भनी सिक्न थाले । पछि उनीहरू आफैँ दक्ष भए । सर्फ उत्पादनमा दिनरात आफैँले काम गर्न थाले ।
उद्योगमा अहिले उनीहरू आफैँ काम गर्छन् । कच्चा पदार्थको मात्रा मिलाउनेदेखि प्याकेजिङसम्मका सबै काम महिलाहरू आफैँले गरिरहेका छन् । उद्योगमा अहिले दैनिक १०० केजी सर्फ उत्पादन हुन्छ ।
सहकारीमार्फत महिलाहरूको सीप र क्षमता विकास गर्न र रोजगारीमा प्रेरित गर्न यो उद्योग निकै लाभदायी भएको धामको सर्फ उद्योगकी उपाध्यक्ष जमुना गुरुङ बताउँछिन् । ‘अहिलेसम्म हामीले आफैँ सर्फ उत्पादन गरिरहेका छौं । सुरुमा सिक्न केही दिन लाग्यो । अहिले त सबै जानकारी भइसक्यो । नेपालमा उत्पादन हुने अन्य सर्फभन्दा हामीले बनाएको सर्फ धेरै नै राम्रो छ,’ उनले भनिन् ।
भारतीय सर्फ विस्थापन गर्ने लक्ष्य गुणस्तरीय सर्फ उत्पादन गर्न सक्षम भएका महिलाहरू आफ्नो उद्योगको मार्केटिङ (बजारीकरण) गर्ने मेलोमेसो चाहिँ नमिलेको नमिलेको बताउँछन् । प्रायः सबै सामान्य गृहिणी र प्रविधिबारे कम जानकारी भएका कारण मार्केटिङ गर्ने आइडिया नभएको उनीहरूको भनाइ छ ।
उत्पादनमा गुणस्तर कायम गर्दै प्रभावकारी ढङ्गले बजारीकरण गर्न सके भारतीय महङ्गो सर्फ नेपाली बजारबाट विस्थापन गर्न सकिने उद्योगी महिलाहरूको दाबी छ ।
उनीहरूले दिनरात पसल-पसलमा गएर त आफ्ना उत्पादनहरू त बेचिरहेका छन्, तर अनलाइनहरूमा कसरी व्यापार गर्ने भन्ने जानकारी छैन । ई–कमर्स कम्पनीहरूसँग सम्झौता गर्न नसकिएको उनीहरू बताउँछन् ।
मार्केटिङबारे तालिम लिन महिलाहरू नै संलग्न छन् । आ–आफ्नो क्षेत्रका महिलाहरूलाई त उनीहरूले धामको सर्फमा बानी पारिसकेका छन् । धाम सर्फ एकपटक प्रयोग गरेका मानिसहरू उद्योगमै आउने गरेको उनीहरूको भनाइ छ । अब केही प्रविधिक ज्ञान लिएर यसलाई अनलाइनमा पनि व्यापार गर्न खोजिरहेको उनीहरू बताउँछन् ।
विभिन्न सुपरमार्केटहरूमा पनि भारतीय सर्फको साटो यही सर्फ राख्न सम्झौता गरेको अध्यक्ष कोइरालाले जानकारी दिइन् । केही बिगमार्टहरूले सर्फ राख्ने भने पनि मार्टहरूको नै व्यवसाय राम्रो नभएको, साथै समयमा भुक्तानी नदिने समस्याका कारण उनीहरूलाई सामान दिन नसकेको कोइरालाको भनाइ छ ।
‘हामीले यो उद्योगमा संलग्न ५० जना जति महिलाहरूलाई महिनाको ५ केजी जसरी भए पनि बिक्री गर्नुपर्ने नीति बनाएका छौं,’ कोइराला भन्छिन्, ‘हामी हाम्रा आफन्त वा छरछिमेकलाई त बानी नै पारिसक्यौँ । अहिले टोखा वरपरका सम्पूर्ण किराना पसलमा पनि धाम सर्फ उपलब्ध छ । अहिले त टाढा-टाढाका आफन्त पनि सर्फ राम्रो लागेको भन्दै उद्योगमै लिन आउँदा अत्यन्तै खुसी लाग्छ ।’
सस्तो र गुणस्तरीय अहिले मुख्यतः भारतबाट आयात हुने एरियल सर्फले नै नेपाली बजारमा आधिपत्य जमाएको छ । गुणस्तरीय भनिएका वा मेसिनमा प्रयोग हुने अधिकांश सर्फ भारतीय नै हुन् ।
नेपाली उत्पादन भन्ने थाहा हुनासाथ राम्रो नहुने भ्रम रहेको, तर आफूहरूले नेपालमा पनि केही मेहनत र लगानी गर्न सके अन्य देशबाट आयात हुने भन्दा पनि बढी गुणस्तरीय उत्पादन दिन सकिने उदाहरण फैलाउन खोजेको उद्योगमा आवद्ध महिलाहरू बताउँछन् ।
बजारसम्म उत्पादन पुर्याउन निकै गर्नुपरेको धामको सर्फकी सचिव मीना डङ्गोलले बताइन् । ‘मानिसहरू नेपाली सर्फ भनेपछि राम्रो हुँदैन भन्दै मुख खुम्च्याउँछन् । हामीले एकपटक प्रयोग गर्नुहोस्, राम्रो भएन भने अर्कोपटक नगर्नुहोला भनी सर्फ बेच्छौँ । पछि उहाँहरू सर्फ राम्रो रहेछ, मलाई त्यही सर्फ दिनुहोस् भन्दै आउनुहुन्छ,’ उनले भनिन् ।
मीनाको कपडा पसल भए पनि आफ्नो उत्पादन भनेर पसलमै सर्फ पनि बेच्न राखेकी छिन् । धामको सर्फको गुणस्तर भारतीय एरियलको भन्दा राम्रो रहेको उनको दाबी छ ।
नियमित धामको सर्फ नै प्रयोग गर्ने गरेकी ग्राहक सविना श्रेष्ठ यस सर्फले छिट्टै मैलो जाने र लुगाको कलर पनि नजाने बताउँछिन् । अन्य सर्फ प्रयोग गरेर लुगा धुँदा हातमा घाउ आउने, फुट्ने जस्ता समस्या निम्तिने गरेको, तर धामको सर्फले त्यस्तो नभएको उनको भनाइ छ ।
भारतीय सर्फको तुलनामा धामको सर्फ सस्तो पनि रहेको छ । बजारमा एरियल सर्फको मूल्य प्रतिकेजी ४०० रुपैयाँ पर्छ । धामको सर्फको मूल्य प्रतिकेजी ८० रुपैयाँ सस्तो अर्थात् ३२० रुपैयाँ मात्र पर्छ । यस्तै हातले कपडा धुँदा प्रयोग गरिने सर्फलाई भने २४० रुपैयाँमात्र पर्छ ।
१० वर्षमा नेपालभर ! स्थापना भएको एक वर्षमै राम्रो उत्पादन गर्न सफल यस उद्योगमा आवद्ध महिलाहरूले आउँदा दिनमा क्षमता अझै विस्तार गर्दै लैजाने लक्ष्य राखेका छन् ।
मानिसहरूको दैनिक जीवनमा नभई नहुने सर्फ अब नेपालभर पुर्याउने लक्ष्य राखेको सर्फ उद्योगकी अध्यक्ष कोइराला बताउँछिन् । विभिन्न संघसंस्थाहरूसँग समन्वय गरी ठूला सुपर मार्केटहरूमा सर्फ उपलब्ध गराउने र विदेशी आयात रोक्न विभिन्न कार्यक्रमहरू गर्ने अध्यक्ष कोइरालाको भनाइ छ । अबको १० वर्षमा धामको सर्फले नेपालभर बजार लिने उनको दाबी छ ।
१८ वर्षदेखि सहज रूपमा चलिरहेको सहकारी धापासी महिला बहुउद्देश्यीय सहकारी संस्था वि.सं. २०६३ सालमा स्थापना भएको हो । टोखा नगरपालिका-८ का निश्चित ठाउँका महिलाहरूले समूह बनाएर सुरु गरेको उक्त संस्थाले अहिले ५०० भन्दा बढी महिलाहरूलाई एकट्ठा गरिसकेको छ ।
सानो बचत सङ्कलनबाट सुरु गरिएको सहकारीले अहिले सामान्य ऋण कुनै हिचकिचाहट बिना उपलब्ध गराउने गरेको छ । सहकारीको पुँजी डेढ करोड रुपैयाँभन्दा बढी छ ।
अप्ठ्यारोका परेका महिला दिदीबहिनीहरूलाई सहयोग गर्न सहकारीमार्फत आफू सधैँ अग्रसर रहेको सहकारीकी पूर्वअध्यक्ष समेत रहेकी कोइरालाको भनाइ छ । सहकारीले सुरुवाती दिनदेखि महिलाहरूलाई हरेक क्षेत्रमा अग्रसर गराउने र आत्मनिर्भर बनाउने काम गर्दै आएको उनले जानकारी दिइन् ।
महिलाहरू मात्र सदस्य रहेका यस सहकारीमा हालसम्म कुनै समस्या नआएको र कुनै पनि बचतकर्तालाई अप्ठ्यारोमा नपारेको सहकारीकी उनको भनाइ छ । कोइराला धापासी महिला बहुउद्देश्यीय सहकारीमा १२ वर्षसम्म अध्यक्ष थिइन् ।
सहकारीसँग ठूलो बचत नरहेको र अन्य क्षेत्रमा लगानी नभएका कारण हालसम्म अन्य ठूला सहकारीमा जस्तो समस्या नभएको उनको भनाइ छ ।