काठमाडौं– आज विश्व योग दिवस ‘महिला सशक्तिकरणका लागि योग’ नारासहित नेपाल लगायत विश्वभर मनाइँदैछ ।
सन २०१६ मा युनेस्कोले समेत योगलाई आफ्नो अभौतिक सांस्कृतिक सम्पदाको रूपमा दर्ता गरेको छ । आधुनिक चिकित्सा पद्धतिले रोग लागिसकेपछिको उपचार अनि शारीरिक पक्षलाई धेरै महत्व दिन्छ भने योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धीकरण र अध्यात्मिकतामा ध्यान दिँदै मानव शक्ति अनि चित्तको सकारात्मक विकेन्द्रीकरणको महत्व दिन्छ ।
आफ्नो नजरमा आफ्नो महत्त्व र उपस्थितिको मूल्य योगको माध्यमबाट जागृत हुने भएकाले मानसिक रोग र आत्मसम्मानको वृद्धिका लागि पनि योग एकमात्र सरल र सहज उपाय भएको जानकारहरू बताउँछन् । गौतम बुद्धदेखि क्राइस्टसम्म, शिवदेखि कृष्णसम्म अनि अरू विभिन्न दर्शन केन्द्रीत महात्माले पनि आफ्नो जीवनकालमा योग अभ्यास गरेका पाइएको छ । योग के हो ? योग कसरी स्वास्थ्यसँग जोडिएको छ ? महिला सशक्तिकरणका लागि योगको भूमिका के छ ? यिनै विषयमा प्राकृतिक चिकित्सक डा. सुनिल पौडेलसँग गरिएको कुराकानी:
योग के हो ?
हामीलाई चाहिएको के हो ? योगलाई त्यस अनुसारले बुझ्नुपर्छ । योग भनेको हाम्रो पूर्वीय दर्शनको महत्वपूर्ण विधा हो । मान्छेको जन्म त्यतिबेला पूर्ण हुन्छ जब उसले भगवत्व प्राप्त गर्छ । त्यसको बाटो हो योग जुन ऋषीमुनिले पत्ता लगाएका हुन् । मानिस मात्रै एउटा यस्तो प्राणी हो जुन कुनै पनि कुरामा सन्तुष्ट हुँदैन । मानिसको त्यो मनलाई सन्तुष्ट पार्ने तत्त्व भनेको योग हो ।
अब यसलाई कसैले स्वास्थ्यमा कसैले ध्यानमा लगेर जोडे, कसैले आशनमा लगेर जोडे त्यो चाहीँ फरक कुरा हो । जबसम्म शरीर स्वास्थ हुँदैन अर्थात अस्वस्थ शरीरले ध्यान साधना गर्न सक्दैन । त्यसैले यसलाई स्वास्थ्यसँग पनि जोडिएको छ ।
योग र स्वास्थ्य योगमा धेरै शारीरिक व्यायाम छन् जसलाई हामी आसन भन्छौं । पहिले हाम्रो आचरण र विचारहरू सुधार्ने । शरीर र विचारहरूलाई शुद्धिकरण गरिसकेपछि शारीरीक व्यायामहरू गर्ने । योगका बारेमा अहिले त लाखौं रिसर्चहरू भइसकेका छन् । त्यसमा के भनिएको छ योगले मान्छेको ५ वटा तहमा काम गर्न सक्छ ।
शारीरीक तह यदि कसैको बिपी बढेको या घटेको छ भने त्यसलाई नियन्त्रण गर्ने, सुगर नियन्त्रण गर्ने, मांसपेशीलाई सुदृढ बनाउने, हड्डिहरूलाई बलियो बनाउने, आन्तरिक अङ्गहरूलाई व्यायाम दिन सक्ने लगायत धेरै रोगहरू निको पार्न यसले सहयोग गर्छ ।
मानसिक तह मानसिक रूपमा पनि यसले धेरै लाभ दिन्छ । जस्तै मनलाई एकाग्रता गर्न, तनाव कम गर्न, शान्त हुन पनि योग अभ्यास गर्न सकिन्छ ।
सामाजिक तह मनिस एउटा सामाजिक प्राणी भएकाले शारीरिक र मानसिक सँगै सामाजिक रूपमा पनि स्वस्थ हुन आवश्यक छ । जुन योगले गराउँछ । त्यस्तै आध्यात्मिक तह र भावनात्मक तहमा पनि योगले सहयोग पुर्याउँछ ।
यी भनेका स्वस्थ व्यक्तिमा हुनुपर्ने गुण हुन् । त्यति मात्रै नभएर कस्तो व्यक्तिले कस्तो खाना खाने भन्ने विज्ञान पनि यससँग जोडिएकाले यसले पुर्ण रूपमा स्वस्थ रहन सहयोग पुर्याउँछ ।
योगका आसनहरू योगका धेरै आसनहरू छन् । जुन बसेर, सुतेर विभिन्न तरिकाले गर्न सकिन्छ । उसो त योगमा २४ कोटी आसन हुन्छन् भनिन्छ । तर ती आसनलाई विभिन्न समूहमा राखेर गर्दा बसेर, सुतेर, घोप्टो सुतेर, टाउको तल खुट्टा माथी राखेर गर्ने आसन छन् । त्यसका साथसाथै एउटा आसन छ जसलाई ध्यान गर्ने आसन भनिन्छ ।
यी हरेक समूहबाट एक जनाले हरेक दिन ५ वटा सम्म गर्न आसन गर्न सक्छन् । जसले शारिरीक तथा मानसिक रूपमा फाइदा पुर्याउँछ ।
विधिहरू नजानेर गर्दा सस्थ्यमा झन असर हरेक व्यक्ति कुनै न कुनै रूपमा फरक हुन्छन् । त्यसैले हरेक व्यक्तिको काम, रहन सहन तथा खानपिनको प्रकृतिसँग जोडेर योग गर्नुपर्ने हुन्छ ।
अहिले मकहाँ थुप्रै योग गुरु तथा योग गर्ने बिरामीहरू योग गर्दागर्दै नसा च्यपिएको समस्या लिएर आउँछन् । किनकी उनीहरू दिनभरी बसेर गर्ने खालको काम गर्छन र योग गर्दा पनि एक घण्टा बसेर आशन गर्ने र एक घण्टा प्रणायाम गर्छन् । त्यसो गर्दा यो प्रभावकारी हुँदैन । बढी बसेर नै मेरुदण्डमा नसा च्यापिने समस्या आउँछ ।
कतिपय बिरामीहरू आउँछन् आउँछन् । जो दिनभरी उभिएर गर्ने खालको काम गर्ने र योग गर्दा सूर्य नमस्कार गर्ने गर्दछन् । त्यसैले योग गर्दा जहिले पनि काम गर्ने प्रकृति भन्दा फरक प्रकृतिको हुनुपर्छ । जसले काम गर्दा भएको हानीलाई हाम्रो योग अभ्यासले स्वास्थ्यलाभ दिन्छ ।
त्यसैले जुनखालको काम गरेर हाम्रो स्वास्थ्यलाई हानी भइरहेको छ, त्यस्तो खालको आसन गर्नुहुँदैन । जस्को ज्ञान नहुँदा धेरै योग गर्ने मान्छे मात्रै नभएर योग गुरुहरूलाई समस्या भएको पाइएको छ । त्यसैले धेरै कुरा बुझेर योग चिकित्सक अथवा योगसँग विज्ञ व्यक्तिहरूसँग सल्लाह लिएर मात्रै योग गर्नु राम्रो हुन्छ ।
उमेर र काम अनुसार योगका आसन फरक उमेर भन्दैमा सवैले सवै आसनहरू गर्न मिल्छन् भन्ने छैन । तर बच्चाहरूको लागि छुट्टै किसिमका खेलकुदयुक्त आसन विकास भइसकेका छन् । जुन गर्दा बच्चालाई खुसी प्राप्त हुन्छ ।
त्यस्तै अफिसमा काम गर्ने व्यक्तिहरूले आफ्नो कामको प्रकृति हेरेर आसन गर्नुपर्छ । त्यस्तै ठाउँ र मौसम अनुसार पनि आसन फरक खालका हुने भएकाले त्यसमा पनि ध्यान दिनुपर्छ । त्यसैले फरक उमेर अनुसार फरक खालका योग अभ्यासहरू हुन्छन् ।
महिला सशक्तिकरणका लागि योग हाम्रो देशको परीवेशमा महिलाहरू चुलोचौकोमै सीमित रहेको उनीहरूको अवस्था देख्दाखेरी योग सिकिसकेपछि उनीहरूले योग अरूतिर सिकाउन सक्छन् ।
योग भनेको आफैँमा अभ्यास मात्रै नभएर जीवनशैली पनि हो । जीवनशैली मान्छेले सिकेपछि त सशक्तिकरण भयो । त्यो स्वास्थ्यको रूपमा होस् वा महिलाको प्रतिभा प्रस्फुटनका लागि होस् । त्यसैले यसको ठूलो रोल छ । नेपाली महिलाहरू त्यत्तिकै पनि धेरै रोगी छन् । उनीहरूले योगाभ्यास गरेको त्यति देखिएको छैन ।
जस्तै ४०-५० वर्ष कटेपछि धेरै कमै महिलाहरूले व्यायाम गर्छन् । त्यसैले महिलाले घरमै योगाभ्यास गरे र उनीहरूको अनुसरण गर्दै बच्चाहरूले पनि गर्न थाले भने त परिवारकै उन्नति भएको मानिन्छ । त्यसैले महिलाको विकासमा यसले एकदमै राम्रो भूमिका खेल्न सक्छ ।