आर्थिक

सुरु भयो प्रथम सहकारी रोजगार मेला 

By खबरहब

June 21, 2024

काठमाडौं– राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले आयोजना गरेका प्रथम सहकारी रोजगार मेला–२०८१ आजबाट सुरु भएको छ ।

‘मर्यादित सहकारी व्यवसायका लागि युवा संलग्नता’ भन्ने नाराका आजबाट तीन दिनसम्म चल्ने गरी ललितपुरमा सुरु भएको हो ।

तीन दिने यस मेलामा रोजगारीको खोजीमा रहेका युवालाई सहकारी क्षेत्रका रोजगारदातासँग समन्वय गर्ने माध्यमका रूपमा लिइएको छ ।

युवा अवसर र रोजगारीको खोजीमा बिदेसिने क्रम बढ्दै गइरहेको अवस्थामा सहकारी क्षेत्रमा आबद्ध भई स्वरोजगार हुन सकिने तथा यस क्षेत्रमा पनि रोजगारीको राम्रो अवसर छ भन्ने देखाउन मेला आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

मेलाको उद्घाटन समारोहमा बोल्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले युवाहरूको भावनाअनुरूप सहकारी क्षेत्रले काम गर्नुपर्ने धारणा व्यक्त गरे । सहकारी रोजगार मेलाले यस क्षेत्रका रोजगारदाता र रोजगारी खोज्ने युवाबीच सेतुको काम गर्ने उनले विश्वास व्यक्त गरे ।

मन्त्री अधिकारीले एउटै व्यक्ति दुई–तीन वटा सहकारीको सञ्चालक रहनु अहिले सहकारी क्षेत्रमा देखिएको समस्याको प्रमुख कारण रहेको बताए । अर्थतन्त्रको एक मुख्य हिस्सेदारी सहकारी क्षेत्रको प्रमुख समस्या बुझेर सरकार अघि बढ्ने उनको जिकिर थियो । सहकारी क्षेत्रले उत्पादन गरेका वस्तुको बजारीकरण गर्ने जिम्मेवारी अबदेखि सरकारले लिने उनले प्रतिबद्धता समेत जनाए ।

कार्यक्रमबारे प्रस्ट पार्दै राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले देश छोडेर विदेश जाने युवालाई नेपालको सहकारी क्षेत्रमा स्वरोजगार हुने अवसर र राम्रो सेवा सुविधा सहितको रोजगार छ भन्ने जानकारी गराउन मेला आयोजना गरिएको जानकारी दिइन् ।

अध्यक्ष मल्लले सहकारी क्षेत्रलाई सरकारले प्राथमिकतामा नराखेको गुनासो गरिन् । सहकारीले उत्पादन गरेका वस्तुको बजारीकरण र सहुलियत ऋणको व्यवस्थापन सरकारले नगर्दा यस क्षेत्रका किसान विस्थापित हुने अवस्थामा रहेको उनको भनाइ थियो । उनले सहकारीले २५ भन्दा बढी चिया उद्योग सञ्चालन गर्दै आएको र दैनिक २५ हजार लिटर बढी दूध उत्पादन गर्दै आएकोमा त्यसका लागि बजार नभएकाले सरकारको त्यसतर्फ ध्यान जानुपर्ने धारणा राखिन् ।

कार्यक्रममा सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेश प्रसाद पोखरेलले धन्यवाद व्यक्त गरेका थिए । उद्घाटन समारोहमा सहकारी मन्त्रालयका उच्च अधिकारी, नेपाल प्रहरीका उच्च अधिकारी तथा सहकारी क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

मेलामा सहकारी क्षेत्रका ३० भन्दा बढी स्टल रहेका छन् । मेला पाँच हजारभन्दा बढीले अवलोकन गर्ने आयोजक संस्थाको अपेक्षा छ ।