आर्थिक

११ महिनामा ५७ करोडको लिपिस्टिक आयात 

By खबरहब

June 21, 2024

काठमाडौं– चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा ५७ करोड २८ लाख ६२ हजार रुपैयाँको महिलाहरूले लगाउने लिपिस्टक आयात भएको छ ।

भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांकले नेपालमा ११ अर्बभन्दा बढीको शृङ्गारका सामग्री आयात भएको देखाएको छ । तथ्याङकअनुसार चालु आर्थिक वर्षको जेठसम्ममा ११ अर्ब ७२ करोड ६९ लाख हजार रुपैयाँ बराबरको मेकअपको सामान आयात भएको हो । जसमा आँखाको शृङ्गारमा प्रयोग गरिने सामग्री मात्रै २२ करोड ३६ लाख ३४ हजार रुपैयाँको आयात भएको छ ।

यस्तै, नङपालिस ४ करोड ५६ लाख २८ हजार, विवाहित महिलाले प्रयोग गर्ने सिँदुर १ करोड ३६ लाख ५६ हजार र अनुहारमा लगाउने क्रिमहरू मात्रै ९४ करोड ३५ लाख ७८ हजारको आयात भएको तथ्यांकमा उल्लेख छ ।

यस्तै समीक्षा अवधिमा ८६ करोड ९३ लाख ६३ हजारको स्याम्पु, कपालमा लगाउने कलर ७१ करोड ४२ लाख, कपालमा लगाउने (हेयर कन्डिसनर) २० करोड ४ लाख ४६ हजारको आयात भएको छ ।

यस्तै सोही अवधिमा अन्य विभिन्न मेकअपका सामग्री आयातमा नेपालीले ३ अर्ब ३१ करोड १ लाख ९६ हजार रुपैयाँ खर्च गरेको तथ्यांकले देखाएको छ ।

विभिन्न शृङ्गार सामग्री आयातका लागि नेपालबाट वर्षेनी अर्बौँ बाहिरिने गरेको छ । गत आर्थिक वर्षमा पनि शृङ्गारका सामग्री मात्रै नेपालबाट १० अर्ब ७६ करोड १२ लाख १७ हजारको मेकअपको सामग्री आयात भएको थियो ।