अन्तर्राष्ट्रिय

भारतले समुद्री क्षेत्रमा वायु ऊर्जा परियोजना सञ्चालन गर्ने

By खबरहब

June 21, 2024

काठमाडौं – भारत सरकारले तामिल नाडु र गुजरात राज्यस्थित समुद्री क्षेत्रमा वायु ऊर्जा परियोजनाका लागि ७ हजार ४ सय ५३ करोड भारु स्वीकृत गरेको छ ।

भारत सरकारको मन्त्रिपरिषद् बैठकले ती परियोजनाका लागि उक्त रकम स्वीकृत गरेको एनडीटीभीले जनाएको छ ।

यसअन्तर्गत ६ हजार ८ सय ५३ करोड भारु दुबै राज्यमा ५ सय मेगावाट क्षमताका परियोजना स्थापना एवम् सञ्चालनका लागि छुट्याइएको छ । बाँकी ६ सय करोड भारु भने उक्त परियोजना स्थापनाका लागि चाहिने दुई बन्दरगाहको स्तरोन्नतिमा खर्च गरिने जनाइएको छ ।

भारत सरकारले हरेक वर्ष समुद्री क्षेत्रमा सञ्चालित वायु ऊर्जा परियोजनाबाट हरेक वर्ष १ गिगावाट नवीकरणीय विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । यसका लागि नवीन एवम् नवीकरणीय ऊर्जा मन्त्रालयले सरोकारवाला निकायहरुसँग सहकार्य गर्ने एनडीटीभीले उल्लेख गरेको छ ।