समाचार

सिमलताल पहिरो : बेपत्ताको खोजीमा जुट्यो भारतीय टोली

By खबरहब

July 21, 2024

चितवन– नारागणगढ–मुग्लिन सडकको सिमलतामा पहिरोसँगै त्रिशूलीमा बगेका दुईवटा बस र त्यसमा सवार यात्रुको खोजीमा भारतीय उद्धार टोली जुटेको छ ।

भारतको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ)को १२ सदस्यीय टोली आज बिहानदेखि खोजतलासमा जुटेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँतर्फ आइरहेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको बस र काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–२४९५ख ००१ नम्बरको बस सिमलतालस्थित त्रिशूली नदीमा बगेका थिए ।

बसमा सवार ६५ जनामध्ये तीनजना बाँच्न सफल भएका थिए भने ६२ जना बेपत्ता भएका थिए ।

अहिलेसम्म फेला परेका २५ शवमध्ये १७ जनाको सनाखत भएको छ । अझै ३७ यात्रु र दुईवटै बसको अवस्था अज्ञात छ ।

मुलुकमा अत्याधुनिक उपकरणसहितका जनशक्ति नहुँदा सरकारको अनुरोधमा भारतबाट उक्त टोली आएको हो ।