नेपाली राजनीतिक इतिहासमा पहिलोपटक भएको आम निर्वाचनबाट जननिर्वाचित प्रधानमन्त्री भएपछि विशेश्वरप्रसाद कोइरालाले २०१५ सालमा भनेका थिए, ‘१५ वर्षको समय भयो भने प्रत्येक नागरिकलाई प्रधानमन्त्रीको हैसियतसम्म पुर्याउने सपना छ।’
यसको अर्थ हरेक नागरिक पालैपालो प्रधानमन्त्री हुनुपर्छ भन्ने होइन तर देशको नेतृत्व तहमा हरेक आम नागरिकले पहुँच पाउनुपर्छ भन्ने हो। अर्थात् प्रधानमन्त्री वा अरु कुनै राजनीतिक लाभका पद मात्रै कुनै बिरासतको होइन भन्ने बीपी अर्थात् ‘सान्दाजु’को मर्म थियो।
तर बीपीको त्यो सपनामाथि राजा महेन्द्रले तुषारापात गरिदिए। पहिलोपटक जननिर्वाचित प्रधानमन्त्रीले आफैले लडेर ल्याएको प्रजातन्त्रको पूर्णअभ्यास गर्नै पाएनन्। २०४ वर्षे राणा शासन अन्त्यका लागि बलिदान दिएका जनताका अधिकारमाथि फेरि राजा महेन्द्रले लोभीपापी आँखा लगाए। २०१७ साल पुस १ गते महेन्द्रले जनताका सारा मौलिक अधिकार खोसेर आफैं कार्यकारी भएर देशको शासनसत्ता चलाउन थाले। जनताले निर्वाचित गरेका बीपीहरूलाई धमाधम जेल हाल्न थाले।
राजनीतिक जीवनका करिब १५ वर्षहरू बीपीले जेलमै बिताए। त्यसबीचका करिब ८ वर्षजति उनको जीवन निर्वासित रह्यो। जेल होस् या निर्वासन बीपीले हरपल राजनीतिक जीवन नै बाँचे। राजनीतिकै लागि लडे। जनताका अधिकारका लागि शासकसँग जीवनभरि लडिरहे। १८ महिने उनको प्रधानमन्त्रित्वकाल एउटा प्रजातन्त्रका लागि स्वर्णकाल पनि थियो। देशको आधुनिकीकरण अनि विकासको एउटा प्रस्थानबिन्दुमात्रै थिएन, बरु त्यो प्रस्ट दृष्टिकोण र दूरदृष्टिपूर्ण राजनीतिको एउटा सुरुवात पनि थियो। जहाँ समाजवादको मौलिकीकरण अनि सिद्धान्तको राजनीतिको गर्भरचना थियो।
राणा शासकसँग विद्रोह गरेका पिता कृष्णप्रसाद कोइराला र माता दिब्या कोइरालाको कोखमा बीपीको जन्म भारतमै भएको थियो। विसं १९७१ भदौ २४ गते जन्मिएका बीपी २०३९ साल साउन ६ गतेसम्म छोटो समय बाँचे। तर जति बाँचे, पूरै जीवन देश र प्रजातन्त्रका लागि लडीलडी बाँचे।
राजनीतिक परिवारमै जन्मिएका उनी आफ्ना पिताको राजनीतिक जीवनबाट दीक्षित थिए। शिक्षासँगै उनको राजनीतिक जीवनको आरम्भ भारतको बनारस, पटना र कोलकाता लगायतका सहरमा भएको थियो। यी त्यस्ता ठाउँहरू हुन्, जो बेलायती शासनविरुद्ध भारतीय स्वतन्त्रता आन्दोलनका प्रमुख केन्द्रहरू थिए। त्यसले पनि बीपीको कलिलो मस्तिस्क राजनीति र स्वतन्त्रता आन्दोलनले खारिएको थियो।
बीपी ०३३ सालमा मेलमिलापको नीति लिएर फर्किंदा पत्रकारले सोधेका थिए- तपाईंलाई त राजाले मृत्युदण्ड दिन सक्छन् किन नेपाल फर्किनुभएको?’ बीपीले हाँसेरै जवाफ दिए- राजासँग मेरो घाँटी जोडिएको छ…
निर्वासनका अधिकांश समय बीपीको समय पनि यिनै सहरहरूमा बित्यो। जहाँबाट उनको साथसंगत भारतका दिग्गज समाजवादी नेताहरूसँग हुनपुग्यो। त्यसैको परिणाम थियो नेपालमा पनि समाजवादी आन्दोलनले ‘नेपाली कांग्रेस’ जन्मायो।
राजा त्रिभुवनलाई राणाको पिँजडाबाट मुक्त गर्न बीपीले कुनै समय सशस्त्र क्रान्तिको नेतृत्व पनि गरे। मुक्ति सेना नेपाली कांग्रेसको लडाकु दस्ता थियो। जसको कमाण्डर बीपी नै थिए।
जुन दरबारको अधिकारका लागि बीपीले आफ्नो जीवन नै दाउमा राखे, त्यही दरबारले उनलाई जीवनभरि खेदिरह्यो। त्यस्तो अवस्थामा पनि बीपी २०३३ सालमा मेलमिलापको नीति लिएर फर्किंदा पत्रकारहरूले सोधेका थिए- तपाईंलाई त राजाले मृत्युदण्ड दिन सक्छन् किन नेपाल फर्किनुभएको?’ बीपीले हाँसेरै जवाफ दिए- राजासँग मेरो घाँटी जोडिएको छ…।
कतिपयले आज पनि बीपीको त्यही भनाइलाई लिएर ‘राजासँग घाँटी जोडिएको’ भनेर आलोचना गरिरहेका छन्। तर, त्यसको मर्म धेरैलाई थाहा छैन। थाहा भएर पनि बुझाउन सकिरहेका छैनन्। बीपीले राजासँग घाँटी जोडिएको छ भन्नुको अर्थ थियो- बीपी नरहे राजा पनि रहनेछैनन्…। अर्थात् बीपीलाई मृत्युदण्डको अर्थ राजाको पनि अन्त्य हो। घाँटी जोडिएकाको मृत्यु त सँगसँगै हुने नै हो।
नेपालमा समाजवादी आन्दोलनका प्रणेता हुन् बीपी। राजनीतिमात्रै होइन, साहित्यमा पनि बीपीको नाम उत्तिकै उज्यालो छ, जति राजनीतिक योगदानले उनको नाम सधै उजेलिइरहन्छ। समाजवादको त्यही गर्भरचना हो-नेपाली कांग्रेस। जसलाई बीपीले आफ्नो जीवनकालभरि हुर्काउँदै लगे।
बीपीले कहिलेकाहिँ भन्ने गर्थ ‘म राजनीतिज्ञ कम दार्शनिक बढी भएँ कि!’ समाजवादको दर्शनको त्यो बिम्बमा कहिलेकाहिँ बीपीको ब्यबहारिक र मौलिक राजनीतिक जीवनलाई पनि छेक्न खोज्थ्यो। तथापि राजनीतिक आदर्शबाट बीपीको बाटो कहिल्यै अगल भएन।
बीपीले पहिलो विश्वयुद्धलाई ताजा अक्षरहरूमा पढेका थिए। जिउँदा दृश्यमा हेरेका थिए। र, दोस्रो विश्वयुद्ध आफैंले भोगेका थिए। जतिबेलाको विश्व कम्युनिस्ट अनि साम्यवादको कहिल्यै पूरा नहुने गन्तव्य ताकेर बिथोलिएको थियो। त्यो बेला बीपीले नेपाली समाजमा समाजवादी राजनीतिक दर्शन बोकेको एउटा पार्टी नेपाली कांग्रेस स्थापित गरेर सामाजिक मनोविज्ञान पनि बदल्न सके।
त्यो भनेको एउटा युग चाहिएको समय थियो। त्यसको खोजीमा बीपी थिए। त्यही युग निर्माणको सपना थियो बीपीसँग। आफैंले भनेजस्तै राजनीति, साहित्य अनि जीवनको दर्शन, आदर्श र सिद्धान्तका कैयौं चौबाटाहरूमा बीपीको जीवन अलमलियो होला तर जुन युग निर्माणको सपनाले बीपीलाई कहिल्यै निदाउन दिएन, त्योसँग लड्दालड्दै उनले सारा जीवनै समर्पण गरिदिए।
त्यो भनेको कुनै एउटा शासक अनि शासनसत्ता वा व्यवस्थामात्रै होइन, एउटा सिङ्गो युगको परिवर्तन थियो। हरेक परिवर्तनका लागि कठोरभन्दा कठोर साधना चाहिन्छ। बीपीको साधना समाजवाद थियो, प्रजातन्त्र थियो। अनि त्यसका लागि राजनीतिलाई साधन बनाए र त्यसको साधक नेपाली कांग्रेस। जहाँ बीपीका जिउँदा जाग्दा बिम्बहरू अहिले पनि छन्।
वास्तवमा बीपीलाई एउटै चिनारीमा सीमित गर्न सकिन्न। पहिचानको एउटै नाममा बीपीको महानता अट्दैअट्दैन। बीपी आफैंमा महान साहित्यकार पनि हुन्। आफै बाँचिरहेको सिङ्गो युग र त्यही समाजलाई चुनौती दिएर साहित्यको दर्शन जन्माएका बीपीले एउटै जीवनकालमा फरक-फरक जीवन बाँचे।
आफ्नै जीवनकालमा फरक फरक जीवन बाँचेका बीपीलाई आज त्यही समाजवादको ऐनामा मात्रै हेरिएको छ। एउटा साँघुरो घेरामा सीमित पारेर बीपीको पूर्ण चित्र देखिन्न। यस्तो सोच्नु भनेको बीपीलाई हामीले हेर्ने साँघुरो दृष्टिमात्रै हो।
काँग्रेस कहाँ छ ?
बीपीको त्यही आदर्श अनि राजनीतिक दर्शनबाट जन्मिएको नेपाली कांग्रेस अहिले पनि देशको ऐतिहासिक राजनीतिक विरासत बोकेको पार्टी हो। देशको हरेक ऐतिहासिक परिवर्तनमा नेपाली कांग्रेसको आफ्नै योगदान छ। आफ्नै ऐतिहासिक महत्व छ। तर आज नेपाली कांग्रेस कहाँ छ? नेपाली काँग्रेसलाई डोर्याउनेहरू कहाँ छन्? बीपीको फोटो भित्तामा टाँसेर उनका सिद्धान्त र राजनीतिक फलाकिरहने र आफूलाई सच्चा अनुयायी ठान्नेहरूलाई आज भेट्दा त्यो बीपी मन कस्तो हुँदो हो? यसले सायदै आजको नेतृत्वलाई पोल्दो होला।
आफ्नो सिरानमा झुन्डिएको बीपीको तस्बिरमा लागेको धुलो होइन, हरेक ‘समाजवादी’ले आफ्नो कुरुप अनुहार पुछौं- महामानव बीपीलाई हार्दिक श्रद्धासमुन…
बीपीका सपनाहरू राजनीतिका दर्शनमा मात्रै होइन, साहित्यका हरेक अक्षरअक्षरमा कुँदिएका छन्। बीपीलाई पढ्नेहरूलाई आफुलाई विद्वान ठान्दो हुन्, उनलाई चाहनेहरू आफूलाई महान नेता सम्झँदा हुन् तर हामी कति बीपीको सच्चा अनुयायी बन्न सक्यौं? उनको तस्बिर अगाडि उभिएर छातीमा हात राखेर बीपीलाई सम्झिने हिम्मत त आजको नेतृत्वलाई सायदै होला। उनकै सपनाको गोलमटोल बाटोमा हिँडिरहेको नेपाली कांग्रेसले त्यसपछिका ६ दशक बीपीको नाममात्रै फलाकिरह्यो। न बीपीलाई बुझ्यो, न बीपीले बुझेको र देखाएको बाटोमा सरासर हिँड्नसक्यो। न आजको पुस्तालाई बीपी बुझाउन सक्यो।
समाजवाद भनेको भविष्यको एउटा लहर हो । अर्थात् हाम्रा कैयौं पुस्ताका लागि एउटा आदर्श समाजको परिकल्पना। यो भनेको तेस्रो विश्व अर्थात् नेपालजस्ता असंलग्न राष्ट्रहरूको एक स्वभावजन्य मित्र हो। समाजवाद अझ उन्नत शब्दमा भन्दा प्रजातान्त्रिक समाजवादको मियोबाट उछिट्टिएपछि नै ‘साम्यवाद’का भ्रमहरू बोकेर या त कम्युनिस्टहरू जन्मिन्छन् या कुनै तानाशाह। त्यसैले समाजवाद भनेको आदर्श समाजको एउटा व्यवहारिक जीवन हो।
अनि समाजवादको एउटा मुख्य लक्ष्य भनेको समानता। र, त्यसका दुई आयाम हुन्- आर्थिक र राजनीतिक समानता। यो भनेको कहिल्यै नभेटिने ‘साम्यवाद’को अभिष्ट होइन। बरु बीपीले देखेको त्यही आदर्श समाजको एउटा भ्रुण हो।
खासगरी बीपीको यही राजनीतिक आदर्शमा आफ्नो राजनीतिक जीवन बाँचिरहेको नेपाली कांग्रेसले अब साँच्चिकै बीपीले बनाएको प्रजातान्त्रिक समाजवादको त्यो बाटोमा आफूलाई ड्योर्याउनै पर्नेछ। हिँड्न त ढिला भइसक्यो अब कुद्नै पर्नेछ, कुदाउनैपर्नेछ। वर्षमा दुईचोटि बीपीका सिद्धान्त अनि उनको साहित्यको ऐनामा आफ्नो कुरुप अनुहार हेरेर मात्रै उनका सपना पूरा हुँदैनन् भन्ने अब नेपाली कांग्रेसको नेतृत्वले कठोर आत्मसमालोचना गर्नैपर्छ।
त्यसैले अब यसो गरौं, आफ्नो सिरानमा झुन्डिएको बीपीको तस्बिरमा लागेको धुलो होइन, हरेक ‘समाजवादी’ले आफ्नो कुरुप अनुहार पुछौं- महामानव बीपीलाई हार्दिक श्रद्धासमुन…।