राजनीति

राजनीतिक स्थिरताका लागि नयाँ सरकार बनेको हो : उपप्रधानमन्त्री सिंह

By खबरहब

July 21, 2024

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार गठन भएको बताएका छन् ।

तारकेश्वर नगरपालिकाको नयाँ प्रशासकीय भवनको आज उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले मुलुकमा दुई ठूला दल मिलेर सरकार बन्नु भनेको नै राजनीतिक स्थिरताको सन्देश दिएको बताए ।

‘विगतमा राजनीतिक अस्थिरता हुँदा जनचाहनाअनुरूप काम भएन । अब स्थिर सरकार बनेको छ, यसले विगतको भन्दा सकारात्मक र प्रभावकारी काम गरेर देखाउँछ’, उनले भने । उनले नयाँ सरकारले जनतामा आशा जगाउने गरी काम गर्ने विश्वास व्यक्त गरे ।

उपप्रधानमन्त्री सिंहले स्थानीय तह प्रत्यक्ष जनतासँग जोडिएको सरकार भएकाले जनताको अपेक्षाअनुसार प्रभावकारी काम गर्न ध्यान दिनुपर्नेमा जोड दिए । नयाँ प्रशासकीय भवन सञ्चालन भएपश्चात् सेवा प्रवाह थप प्रभावकारी बन्दै जाने अपेक्षा गरिएको उनले बताए ।

कांग्रेसका नेता एवं पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले नयाँ प्रशासकीय भवन निर्माण भएसँगै जनताले सहज रूपमा सेवा पाउने बताए ।

नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले स्थानीय तहमा देखिएका समस्या समाधान गरी समृद्ध तारकेश्वर निर्माण गर्ने उद्देश्यले काम गरिरहेको स्पष्ट पारे ।

विसं २०७७ असोज २९ गते सम्झौता भई विसं २०७९ चैतमा सम्पन्न भएको उक्त भवन१७ करोड १५ लाख चार सय ८४ रुपैयाँमा निर्माण गरिएको नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी अर्यालले जानकारी दिइन् ।