देश/प्रदेश

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

By खबरहब

July 21, 2024

लुम्बिनी – लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि सोमबार अपराह्न ६ः३० बजेसम्म दाबी पेस गर्न आह्वान गरेका हुन् ।

यसअघि अल्पमतमा परेपछि मुख्यमन्त्री जोखबहादुर महराले आज बसेको प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका थिए ।

केन्द्रमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच भएको सहमतिअनुसार लुम्बिनीमा सरकारको नेतृत्व एमालेले गर्ने सहमति भएको छ ।

सोअनुसार लुम्बिनीमा एमाले संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी छ । एमालेको नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आज दुई दलको बैठकसमेत बसेको थियो ।

एमाले प्रमुख सचेतक तुलसी चौधरीले सोमबार पहिलो चरणमै दाबी पेस गर्ने तयारी गरिएको जानकारी दिए ।