समाचार

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, अनुशासन आयोगको प्रतिवेदनमाथि छलफल हुने

By खबरहब

August 21, 2024

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बिहान ८ बजे सुरु हुने बताइएको छ ।

आजको बैठकमा विभिन्न १० एजेन्डामा छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा पार्टी अनुशासन आयोगको प्रतिवेदनमाथि विशेष छलफल हुनेछ ।

रास्वपाले केन्द्रीय समिति बैठकबाट पूर्वमहामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने तयारी गरेको छ । यसअघि ढकाललाई पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट निलम्बन गरिएको थियो । यस्तै उनलाई साधारण सदस्यबाट किन नहटाउने भन्दै २४ घण्टे स्पष्टीकरण पनि सोधिसकेको छ ।

बैठकमा समसामयिक राजनीति र पार्टीका गतिविधि, राष्ट्रिय भेला, कर्णाली विशेष अभियान, सङ्गठन निर्माण सम्बन्धी कार्यविधि संशोधनलगायत विषयमा छलफल हुने झाले जानकारी दिए ।