‘करियर’ र ‘वैदेशिक रोजगारी’का नाममा ढिलो विवाह गर्ने चलन बढ्दो छ । विवाहका लागि दुई चार दिनको छुट्टी मिलाएर आउने त्यस लगत्तै कर्म स्थलमा फर्किने कारण सन्तान जन्माउने योजना वर्षौँ अलपत्र पर्दा धेरै जोडीमा बाँझोपनको समस्या बढेको अनुसन्धानले देखाएको छ । जसको प्रभाव सामाजिक सुव्यवस्थामा परेको छ । आवश्यकताले आविष्कार पनि जन्माउँछ भने झैँ छुटिएर रहने जोडीका लागि पुरुषको शुक्रकीट र महिलाको डिम्ब निश्चित समयका लागि भण्डार गरी अनुकूल समयमा गर्भाधान गराउने प्रविधि अहिले प्रचलनमा आएको छ । उनीहरूले निश्चित समयमा सन्तान जन्माउने प्रयोजनका लागि आफ्नो वीर्य र अण्डालाई भण्डारण गर्न सक्छन् ।उमेर बढ्दै गएपछि डिम्ब र वीर्यको गुणस्तर कम हुन्छ भन्ने सन्तापबाट मुक्तिका लागि पनि यो प्रविधि फलदायी हुने चिकित्सकहरूको विश्लेषण छ । अण्डा र शुक्रकीटको भण्डारण कसरी गरिन्छ ? प्राकृतिक रूपमै शारीरिक सम्पर्कबाट गर्भाधान हुने प्रक्रिया कति विश्वसनीय छ ? यिनै विषयमा फर्टिलिटी विज्ञ डा. उषा कार्कीसँग गरिएको कुराकानी
पछिल्लो समय बाँझोपनको समस्या बढिरहेको छ । जसका कारण आईभीएफ प्रविधिमार्फत सन्तान जन्माउने दम्पतीहरूको संख्या बढ्दो छ । यसै अन्तर्गतको डिम्ब र शुक्रकीट भण्डारण कस्तो प्रविधि हो ?
यो अहिलेको अत्यन्त सान्दर्भिक विषय हो । अब आउने पुस्ताका लागि यसले ठूलो महत्त्व राख्छ । प्रजननका लागि मुख्य मानिने महिलाको अण्डा र पुरुषको शुक्रकीटलाई भण्डारण गरेर राख्ने, ताकि भविष्यमा त्यसको प्रयोगले आफ्नै जैविक सन्तान प्राप्त गर्न सकियोस् । यही प्रविधि अन्तर्गत डिम्ब र शुक्रकीट भण्डारण अर्थात् (फर्टिलिटी प्रिजर्भेशन) प्रविधि हो ।
अण्डा र शुक्रकीटको भण्डारण कसरी गरिन्छ ?
कुनै पनि महिलाले आफ्नो अण्डा भण्डारण गर्न चाहेमा महिनावारी भएको दुई दिनदेखि नै इन्जेक्सन लगाउनु पर्छ । इजेक्सन र औषधिबाट डिम्ब विकास गर्ने प्रक्रिया सुरु गरिन्छ । त्यो अण्डाको साइज बढेपछि सानो सुईले घोचेर निकालिन्छ ।
त्यसपछि कतिवटा अण्डाहरू निस्केको छ, गन्ती गरेर स्वस्थ अण्डालाई ल्याबमा भण्डारण गरेर छुट्टै र त्यसलाई शुक्रकीटसँग मिलाएर भ्रूण बनाएर पनि राख्न सकिन्छ ।
प्राकृतिक रूपमै शारीरिक सम्पर्कबाट गर्भाधान हुने प्रक्रियालाई यसरी मानव अङ्गबाट निकालेर कति समयसम्म सुरक्षित राख्न सकिन्छ ?
यसका विभिन्न प्रक्रिया र तरिकाहरू छन् । जस्तै एउटा गोल्ड स्ट्याण्डर्ड अर्थात् बनेका भूर्णलाई सुरक्षित राख्ने प्रक्रिया अर्को डिम्बाशयकै टिस्युलाई पनि अण्डकोशको टिस्यु प्रयोग गरेर पनि गर्न सकिन्छ । यसलाई सही तरिकाले भण्डारण गरेर राख्न सकियो भने यो एकदमै सुरक्षित विधि हो । अण्डा र शुक्रकीटलाई वर्षौँसम्म फ्रिज गरेर राख्न सकिन्छ । यसबाट धेरै हदसम्म गर्भाधान गराउन सकिन्छ । तर तौरतरिका मिलाउनु पर्छ ।
कुन् उमेरमा अण्डा भण्डारण गर्दा राम्रो हुन्छ ?
सन्तान उत्पादनका लागि भोलिका दिनमा सहज होस् भन्ने उद्देश्यले यो भण्डारण गरिएको हुन्छ । यसमा उमेर एकदमै महत्त्वपूर्ण कुरा हो । विशेष गरी महिलाहरूको हकमा । हामी जन्मिँदै यी कुराहरू लिएर आएका हुन्छौँ । जन्मिदा लाखौँको संख्यामा अण्डा हुन्छन् । जब महिनावारी शुरु हुन्छ, ३ सय हजारदेखि ५ सय हजार मात्रा घटिसकेको हुन्छ । त्यसैगरी प्रत्येक महिनावारीमा यो अण्डा घट्दै जान्छ । त्यसैले गर्भधारणका लागि सही उमेर १८ देखि २४ वर्ष मानिन्छ । किनकि त्यो समयमा अण्डाको मात्रा हाम्रो शरीरको बनावट र क्षमता सबै फिट हुन्छ ।
हालको चालचलनलाई हेर्ने हो भने ३५ वर्ष पुग्नु अगाडि नै यदि अण्डाहरू निकाल्न सकियो भने एकदम उपयुक्त हुन्छ । त्यो उमेरमा निक्लेका अण्डाहरूबाट राम्रो भ्रूण बन्ने क्षमता हुन्छ । त्यसैले छिटो विवाह गर्न मन छैन, विवाह भएर पनि तत्काल सन्तान जन्माउने चाहाना छैन वा अरु कुनै कारण छ भने ३५ वर्षको उमेरअघि नै अण्डाहरू भण्डारण गरेर राख्नु सही विकल्प हुनसक्छ ।
किनकि बिहे गर्न वा बच्चा जन्माउने बेलासम्म उमेर ४० वरिपरि वा ४० कटिसक्यो भने अण्डाहरूको संख्या र गुणस्तर दुवै राम्रो हुँदैन । गर्भाधान हुने सम्भावना पनि न्यून हुन्छ ।
कस्तो कस्तो अवस्थामा शुक्रकीट र अण्डा भण्डारण गर्न सकिन्छ ?
बढ्दो उमेर सँगसँगै महिलाहरूमा प्रजनन क्षमता कम हुने भएकाले प्रजनन क्षमतामा ह्रास आउनु अगाडि नै अण्डाहरू भण्डारण गर्न सकिन्छ जसलाई सोसियल प्रिजर्भेशन भनिन्छ । त्यस्तै महिलालाई कुनै रोग लागेको छ भने उपचार गर्दा अण्डाहरू नास हुने सम्भावना हुन्छ । जस्तै क्यान्सरको रोगी छ भने किमो थेरापीहरू दिँदा, प्रजनन अङ्गहरुमा रेडियसन थेरापीलगायत विभिन्न रोगको उपचारका क्रममा अण्डाहरू नष्ट हुने सम्भावना भएकाले पछि गएर गर्भधारण गर्न समस्या हुनसक्ने हुँदा यस्तो अवस्थामा अण्डा भण्डारण सुरक्षित बाटो हुनसक्छ ।
त्यस्तै महिलाको हकमा तीन तरिकाले भण्डारण गर्न सकिन्छ । पहिलो भनेको बनेको अण्डाहरू सिधै फ्रिज गर्न सकिन्छ, दोस्रो भ्रूण अण्डालाई शुक्रकीटसँग मिलाएर राख्न सकिन्छ र तेस्रो हो अण्डा कोशमा भएका टिस्युहरु नै निकालेर पनि भण्डारण गर्न सकिन्छ ।
त्यस्तै पुरुषहरूमा पनि विभिन्न कारणले शुक्रकीटमा समस्या आउन सक्ने जुन अवस्था हुन्छ । जस्तै बढ्दो उमेर, कामको प्रकृति, विभिन्न रेडियसन, रसायन तथा उच्च तापक्रममा काम गर्नुपर्ने अवस्था छ भने शुक्रकीटको संख्यामा कमी आउँछ ।
विशेष गरी वैदेशिक रोजगारीमा जाने पुरुषहरूमा विभिन्न कारणले पछि गएर सन्तान उत्पादनमा समस्या आउन सक्ने भएकाले यस्तो अवस्थामा शुक्रकीट भण्डारण गरेर राख्न सकिन्छ ।
बिहेअघि अण्डा भण्डारण गर्नुपर्ने कुरामा नेपालका महिलाहरू कतिको सचेत पाउनु भएको छ ?
पहिले पहिले यसलाई त्यति महत्त्व दिइँदैनथ्यो । बिस्तारै अहिलेको पुस्ताले धारणा बदल्दै गएको छ । तर प्रयोग भएको छैन । म कहाँ भ्रूणहरू भण्डारण गर्न आउने धेरैजसो विदेश जानेहरू छन् । त्यसमा कोही बिहे गरेर तत्काल बच्चा जन्माउन नचाहनेहरू छन् भने कोही बिहे नगरेकै युवतीहरु पनि छन् ।
जसले भविष्यको लागि भनेर अण्डाहरू भण्डारण गरेका छन् । नेपालमै बस्नेहरू पनि सचेत छन् । यसबारे बुझ्नका लागि धेरै महिलाहरू आउने गर्दछन् । तर प्रयोग त्यति भइरहेको छैन ।
यो विधि धेरै खर्चिलो छ भनिन्छ, के कति खर्च लाग्छ ?
यो एउटा जटिल प्रविधि हो, जहाँ हामीले जिउ बाहिर भ्रूण बनाउँछौँ । जसको लागि विभिन्न खालको औषधीहरू, तौरतरिका लगायत विभिन्न प्राविधिक विषय व्यवस्थापन गर्नुपर्ने हुँदा अलिकति खर्चिलो नै छ । तर त्यसो भन्दैमा गर्नै नसकिने पनि छैन । अहिले धेरै सहुलियत दरमा त्यो पनि किस्तामा पैसा तिर्न सकिने व्यवस्था छ ।
नेपालमा बिहे नगरी वैदेशिक रोजगारीमा लाखौँ मानिस गएका महिला तथा पुरुष दुवैका लागि यो कत्तिको उपयोगी छ ?
यो प्रविधि महिला पुरुष दुवैका लागि उपयोगी छ । तत्काल बिहे गर्दिन बच्चा जन्माउँदिन विदेश जान्छु भन्ने महिला पुरुष दुवैले शुक्रकीट र अण्डा भण्डारण गरेर राख्न सक्छन् ।
अर्को कुरा म के भन्न चाहन्छु भने वैदेशिक रोजगारीमा जाँदा अन्य स्वास्थ्य जस्तै प्रजनन स्वास्थ्य जाँच गर्न आवश्यक छ । किनकि केही समस्या भए समयमै उपचार हुन्छ र भोलिको दिनमा हुने निसन्तान पन तथा बाँझोपनको समस्याबाट बच्न सकिन्छ ।
यसरी लामो समयसम्म भण्डारण गरिएको भ्रूणबाट जन्मिएका बच्चाहरू कति स्वस्थ हुन्छन् ?
भ्रूणहरू भण्डारण गर्दैमा बच्चामा स्वास्थ्य समस्या आउने हुँदैन । यो गलत बुझाई हो । प्राकृतिक रूपमै जन्मिएका बच्चाहरूमा पनि कहिलेकाहीँ खराबी आउने सम्भावना हुन्छ । यो शतप्रतिशत सफल हुन्छ भन्ने हुँदैन । तर भण्डारण गरिएको भ्रूणकै कारण स्वास्थ्यमा खराबी भने आउँदैन ।
यो प्रविधि प्रभावकारी हो भनेर कसरी विश्वास दिलाउने ?
हाम्रो तर्फबाट हामीले धेरै तरिकाले यसबारे जनचेतना फैलाइरहेका छौँ । जस्तै हामी कहाँ आउने व्यक्तिहरूलाई यसबारे प्रस्ट पारेर चेतनाहरू दिइरहेका छौँ । त्यस्तै विभिन्न सञ्चारमाध्यमहरूबाट फर्टिलिटी प्रिजर्भेसनको फाइदा र उपयोगिताबारे जनचेतना फैलाउने कामहरू गरिरहेका छौैं ।
अझै जनचेतना फलाउन आवश्यक छ । विशेष गरी अबको पुस्ताले छिटो विवाह चाहँदैन । शिक्षा, करियरलाई पहिलो प्राथमिकतामा राख्छ । त्यसैले अबको दिनमा महिला होस् या पुरुष दुवैले प्रजनन क्षमता, स्वास्थ्य र फर्टिलिटी प्रिजर्भेसनबारे बुझ्न एकदमै जरुरी छ ।
अन्त्यमा, यस प्रविधिबारे भन्नै पर्ने केही छन् ?
आइभिएफ, फर्टिलाइजेशन भन्ने बित्तिकै यो त विदेशमा बस्नेहरूले, ठुलाबडा मान्छेहरूले मात्रै गर्न सक्छन् भन्ने आम बुझाई छ । त्यसो होइन यो आवश्यक परेका सबैले अपनाउन सक्ने विधि हो ।
पछिल्लो समय निःसन्तानपनको समस्या एकदमै बढ्दो छ । यसको ठ्याक्कै कारण भन्न नसके पनि महिलाहरूमा बढ्दो उमेर, परिवर्तित जीवनशैली र पुरुषमा पनि विभिन्न कारणले बाँझोपनको समस्या आउने गरेको छ । जसको समाधानका लागि फर्टिलाइजेशन मेडिकल क्षेत्रमा एउटा यस्तो प्रविधि हो । जसले भोलिका दिनमा सजिलै गर्भधारण गर्न सहयोग पुग्छ ।
त्यसैले यसको सही समय, तरिका र विधिबारे बुझ्न जरुरी छ । त्यसैले तत्काल बच्चा नचाहने दम्पती प्रजनन अङ्गहरुमा समस्या छ र उपचार गराइरहेका बिरामी, क्यान्सरका बिरामी, लगायत समस्या भएका दम्पतीहरूका लागि यो एकदमै उपयोगी हुने गर्दछ ।
भिडियोमा हेर्नुहोस् :