आर्थिक

‘धनी बन्न सिकाउने’ तीन पुस्तक

By खबरहब

September 21, 2024

काठमाडौं – धनी बन्नु अधिकांशको चाहना र लक्ष्य हो । तर, धनी कसरी बन्ने भन्ने कुरा सिकाउन र सिक्न निकै कठिन छ । ‘धनी बन्न सिकाउने’ बग्रेल्ती किताबहरू बजारमा प्रशस्त पाइन्छन् ।

कतिपय लेखकले धनी बन्ने उपाय सिकाउने नाममा धेरै पाठकलाई बकम्फुसे किताब पनि भिडाउने गरेका छन् । ‘धन’ शब्द राख्नासाथ बजार पाउने भएकाले लेखकहरूले त्यस्ता पुस्तकहरू लेख्ने गरेका हुन सक्छन् ।

अहिलेहाल बजारमा नेपाली पाठकहरूले पढिरहेका धनसम्बन्धी तीन पुस्तकबारे चर्चा गरौँ ।

धनी बन्ने वैज्ञानिक सूत्र

भारतीय लेखक सुरेश पद्मनाभनले लेखेको पुस्तक हो ‘धनी बन्ने वैज्ञानिक सूत्र’ । सेल्फ हेल्प विधाको पुस्तक हिमाचल क्षेत्रीले नेपाली भाषामा अनुवाद गरेका हुन् ।

उक्त पुस्तकमा पैसालाई माया गर्नेबारे सिकाइएको छ । लेखकले पुस्तकमा १७ भाग राखेका छन् । पहिलो भागमा ‘प्रारम्भिक निष्कर्ष’ शीर्षक दिँदै लेखकले पैसाबारे सिकाएका छन् । एक सत्य सूचना वा जानकारी कति शक्तिशाली हुन्छ भन्ने बुझाउन खोजेका छन् । एक सही विचारले सामान्य व्यक्ति पनि धनी हुनसक्ने सन्देश पनि दिएका छन् ।

आल बुक स्टोर प्रालि बागबजारले २०७८ सालमा नेपालमा पहिलो संस्करण प्रकाशन गरेको सो पुस्तकमा पैसाको महत्व, पैसाको नीति, पैसासम्बन्धी सोचाइ र सत्यता, पैसाको शक्ति तथा पैसा कमाउने तरिकाहरूबारे चर्चा छ ।

लेखकले पुस्तक सरल भाषामा लेखेकाले बुझ्न सजिलो छ । कतैकतै भारतीय ठाउँबारे उल्लेख भए पनि नेपाल र भारतबीच धर्म, संस्कृति र व्यवहार धेरै फरक नभएकाले नेपाली पाठकलाई भाव बुझ्न सजिलो छ ।

२१४ पृष्ठको पुस्तकमा लेखकले पैसाबारे सोच्ने तरिकामा परिवर्तन ल्याउन खोजेका छन् । पूरै पुस्तकमा लेखकले पैसाप्रति सकारात्मक सोचाइ विकास गर्न जोड दिएका छन् ।

लेखकले ‘मनी वर्कसप’ सञ्चालन गर्ने भएकाले पुस्तक लेख्नुको कारण कतै त्यही कार्यशालामा आउन प्रेरित गर्न मात्र हो कि भन्ने भान पनि हुन्छ । पुस्तकमा लेखकले ‘मैले यहाँ केही कुरामात्र भनेको छु, अरू धेरै कुरा कार्यशालामा सिकाउनेछु’ लेखेकाले शंका गर्ने ठाउँ दिएको छ । सो पुस्तकको मूल्य २४९ रुपैयाँ तोकिएको छ ।

मनी मन्त्र– पैसा कसरी कमाउने ?

नेपाली लेखक दिलीपकुमार श्रेष्ठद्वारा लिखित ‘मनी मन्त्र–पैसा कसरी कमाउने ? पुस्तकमा आठ खण्ड छ । लेखकले विभिन्न कथाका माध्यमबाट पैसालाई बुझाउन खोजेका छन् ।

लेखकले पैसा नबुझी जीवन बुझ्न नसकिने दाबी गरेका छन् । पैसा र जीवन एक सिक्काका दुई पाङ्ग्राजस्तै भएकाले पैसाको महत्व बुझ्न लेखकको आग्रह छ ।

शून्यबाट करोडपति बन्न ‘कागबाट पैसा कमाउन सिक्न सकिने’ रोचक सन्दर्भ पनि लेखकले पुस्तकमा समेटेका छन् । कागले सानो–सानो ढुङ्गा हालेर गाग्रोबाट जसरी पानी खान्छ – त्यसरी नै थोरै रकम बचत थाल्दै पछि त्यसको फल लिन सकिने पुस्तकमा उल्लेख छ ।

पाँचपोखरी प्रकाशन गृहले प्रकाशन गरेको पुस्तकमा लेखकले जुन क्षेत्रमा आफ्नो लगानी छ – त्यही क्षेत्रबाटै करोडपति बन्न सकिने तर्क दिएका छन् । करोडपति बन्न पढाइ, उमेर र परिस्थितिजस्ता कुराले नछेक्ने भएकाले आफू रहेकै ठाउँबाट करोडपति बन्न बाटो पहिल्याउनुपर्ने लेखकको धारणा छ ।

१६७ पुष्ठको पुस्तकमा लेखकले धर्मले धनलाई दिने मान्यताबारे पनि चर्चा गरेका छन् । हिन्दु, बौद्ध, यहुदी, जैन, इस्लाम, शिख र ताओजस्ता धर्ममा धनलाई कुन स्थान दिइएको छ भनी लेखकले देखाएका छन् । तर, धनबारे आफ्नै धारणा बनाउन पाठकलाई आग्रह गरेका छन् ।

लेखकले पुस्तकलाई रोचक बनाउन प्रत्येक खण्डको अन्त्यमा एउटा चित्र राखेका छन् । तर, त्यहाँ झट्ट हेर्दा जुन चित्र देखिन्छ – गहिरिएर नियाल्दा अर्को चित्र भेटिइन्छ । त्यसले पनि पुस्तकमा बढी रोचकता थपेको छ ।

लेखकले ‘बेबिलोनका सबैभन्दा धनी मानिस’, ‘धनी बुवा गरीब बुवा’ र ‘समय व्यवस्थापन’ जस्ता पुस्तकलाई सन्दर्भ बनाएकााले मूल पुस्तक पढ्ने पाठकलाई भने केही कुरा दोहोरिएर आएजस्तो आभास हुनसक्छ । सो पुस्तकको मूल्य २२५ रुपैयाँ तोकिएको छ ।

धनी कसरी बन्ने

विदेशी लेखक रिचर्ड टेम्पलरले लेखेको ‘धनी कसरी बन्ने ?’ पुस्तकको नेपाली अनुवाद दीपेन्द्र शाहले गरेका हुन् । भुँडीपुराण प्रकाशनले २०७८ माघमा पुस्तकको पहिलो संस्करण सार्वजनिक गरेको थियो ।

पैसासम्बन्धी व्यवहार परिवर्तन गर्न सिकाउने पुस्तक १६५ पृष्ठको रहेको छ । पुस्तक छोटो–छोटो पाठमा बाँडिएकाले पढ्दै जाँदा छिट्टै सकिएजस्तो अनुभव हुन्छ ।

पुस्तक मूलतः ५ भागमा बाँडिएको छ । पहिलो भागमा धनबारे सोच्न, दोस्रो भागमा थप धनी बन्न, तेस्रो भागमा बढी समृद्ध हुन र चौथो भागमा समृद्ध बनिरहन जोड दिइएको छ । पाँचौँ भागमा भने ‘आफूले कमाएको धन दान दिनू’ भन्ने सन्देश छ ।

पुस्तकमा आफन्तसँग ऋण नलिनुका साथै साथीभाइ र आफन्तलाई ऋण नदिन पनि सुझाइएको छ । मित्र तथा आफन्तलाई ऋण दिनैपरे फिर्ता नमाग्ने तरिकाले दिन लेखकको सुझाव छ । ऋण दिँदा सो बराबर इक्विटी लिन पनि लेखकको सुझाव छ ।

पूँजीबजारतर्फ आफूलाई सहज लाग्ने शेयरमात्र खरिद गर्न लेखकले सुझाव दिएका छन्, ता कि त्यो कम्पनी र शेयरबारे बढी जानकारी मिलोस् । फजुल खर्च नियन्त्रण गर्नु र सम्पत्ति कमाएका अरूमाथि आरिस नगर्नु पनि धनी बन्ने माध्यम भएको लेखकको तर्क छ ।

पुस्तकले देखावटीपनमा जोड दिन खोजेजस्तो देखिन्छ । ‘कपडाले धन कमाउन सकिन्छ’ भन्ने खालका विरोधाभाषयुक्त कुराहरू पनि पुस्तकमा छन् ।

निश्चित विषयमा केन्द्रित नभएपनि समग्रमा पुस्तक पठनीय नै मान्न सकिन्छ । पुस्तकको मूल्य २५० रुपैयाँ तोकिएको छ ।