ब्रेकिङ स्टोरी

धनराज र ऋषिकेशलाई पक्राउ गर्न रास्वपाको दबाब

By ज्ञानु घिमिरे

October 21, 2024

काठमाडौं- पोखराको सूर्यदर्शन सहकारीबाट गोरखा मिडियामा गएको रकम अपचलन गरेको आरोपमा शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पार्टी कार्यालय चमतीबाट पक्राउ परे । उनीलाई जिल्ला अदालत कास्कीले ६ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाउन अनुमति दियो । लामिछाने पक्राउ परेसँगै नेपाली कांग्रेसका सभापति धनराज गुरुङकी पत्नी ज्योति गुरुङ र एमाले सांसद ऋषिकेश पोखरेलकी पत्नी अञ्जना कोइरालाको पनि नाम चर्चामा आएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले शनिवार पोखरामा आयोजना गरेको कार्यक्रममा सो पार्टीका नेताहरुले सहकारीकी असली ठग गुरुङपत्नी ज्योति र सार्वजनिक लेखा समितिका सभापति पोखरेलकी पत्नी अञ्जना भएको आरोप लगाउँदै उनीहरुलाई समात्न चुनौती दिए ।

रास्वपाका नेताहरूले प्ले कार्ड नै बोकेर सहकारीको असली ठग गुरुङ र पोख्रेल दम्पती भएको भन्दै छिटोभन्दा छिटो उनीहरूलाई सरकारले पक्राउ गरेर अनुसन्धान अगाडि बढाउनुपर्ने सरकारलाई दबाब दिएका हुन् ।

रास्वपा प्रवक्ता मनिष झाले सरकारले सत्तापक्षका नेताहरूलाई जोगाएर राजनीतिक प्रतिशोधका आधारमा रवि लामिछानेमाथि झुटो आरोप लगाएको भन्दै वास्तविक ठगलाई जोगाएर निर्दोषलाई फसाएको आरोप लगाए ।

उनले लामिछानेमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन आफूहरूले साथ दिएको बताउँदै सत्तापक्षका नेतालाई सरकारले कहिले अनुसन्धान अगाडि बढाउँछ, हेर्न बाँकी रहेको बताए ।

‘केपी ओलीको सरकार काम नलाग्ने भइसकेको छ वास्तविक अपराधी सत्ता पक्षका नेताहरू जोगाएर प्रतिपक्षका नेताहरूलाई प्रतिशोधका आधारमा खोट खोजीखोजी पक्राउ गरिरहेको छ’, झाले भने, ‘ललितपुरको मितेरी सहकारीका १५ करोड ठग धनराज गुरुङ, उनकी पत्नी ज्योति गुरुङ, यस्तै मोरङको उमा गैरी कृषि सहकारी संस्थाको १४ करोड ५६ लाख हिनामिनाका ठग ऋषिकेश पोखरेल र उनकी श्रीमती अञ्जना कोइरालालाई कहिले पक्रन्छौ सरकार ?’

झाले सरकारको मुटु भए यी दुवैजनालाई पक्रेर कानुनको दायरामा ल्याउन समेत अनुरोध गरे ।

यता, सहकारी संस्था बचत रकम हिनामिनासँग सम्बन्धित संसदीय छानविन विशेष समितिका सदस्य शिशिर खनालले पनि समितिको प्रतिवेदनमा स्पष्टरूपमा कांग्रेस उपसभापति गुरुङदम्पती र लेखा समिति सभापति पोख्रेल दम्पती दुवै दोषी भएको भन्दै सत्ताको आडमा उनीहरूको संरक्षण भएको गुनासो गरे ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि शुक्रबार विपक्षी दलहरुको बैठकमा कुनै पनि मुद्दामा दोषी देखिएको व्यक्तिमाथि राजनीतिक आडमा संरक्षण हुन नहुने भन्दै सहकारी प्रकरणमा दोषी देखिएका सरकार र प्रतिपक्षी सबै अनुसन्धानको दायरामा आउनुपर्ने बताएका थिए । उनले बिहीबार नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको बैठकमा पनि यो कुरा राखेको जानकारी गराए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन पनि रविलाई सरकारले पक्राउ गरेर अनुसन्धान अगाडि बढाएकोमा कुनै आपत्ति नभएको तर सत्ता पक्षका दोषी व्यक्तिहरू पनि तत्काल पक्राउ गर्नुपर्ने बताउँछन् ।

‘यो वा त्यो भन्दा पनि प्रकरणमा दोषी देखिएका सबै व्यक्ति अनुसन्धानको दायरामा आउनुपर्छ, लिङदेनले खबरहबसँग भने, ‘राजनीतिक आड र सत्ताको खेलमा दोषी उम्कन हुँदैन । यदि यस्तो सुइँको पाए हामी पनि कता ओर्लन पर्ने हो, तयार छौँ ।’

के हो गुरुङ दम्पतीको सहकारी विवाद ?

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ आफ्नो साइनोले दाजु पर्ने मितेरीका सञ्चालक कुम्भराज गुरुङका विश्वासपात्र थिए । कुम्भराज र धनराजको राजनीतिक रूपमा पनि राम्रो मिलाप थियो ।

मितेरी सहकारीका सञ्चालक कुम्भराजका अनुसार धनराजकी श्रीमती ज्योति गुरुङ ०५८ सालदेखि मितेरी सहकारीमा जोडिएकी थिइन्। श्रीमती सहकारीमा जोडिएपछि ०५८ सालमै धनराजले पनि सहकारीको शेयर सदस्यता लिएका थिए । त्यसपछि ज्योति म्यानेजर हुँदै प्रबन्ध निर्देशकसम्म बनेकी थिइन्।

भूपू सैनिकहरूले सहकारी सञ्चालन गरेका कारण सो सहकारीमा रकम वचत गर्नेहरूको संख्या अत्यधिक बढ्यो । ०७५ सालपछि सहकारीमा समस्या आयो । ‘फिक्स डिपोजिट’ फिर्ता लिन आएका ग्राहकले सहकारीको सर्भरमा आफ्नो रकम नभएको गुनासो गरे । पासबुकमा रकम भएको तर सहकारीको सर्भरमा हेर्दा इन्ट्री नै नभएको पाइएपछि मितेरी सहकारीमा खैलाबैला मच्चियो ।

कुम्भराजका अनुसार त्यसपछि खोजीनीति गर्दा धनराजकी श्रीमती ज्योतिले बचतकर्ताको रकम सहकारीको सर्भरमा जम्मा नगरेर झोलामा राखेर हिँडेको प्रमाण फेला पर्‍यो ।

त्यसपछि यसबारे धनराज गुरुङलाई जानकारी गराइयो । अन्ततः ०७६ साल पुस १६ गते कुम्भराज र धनराजबीच सहकारीको रकम तिरोतारो गर्ने सहमति भयो ।

त्यसपछि ज्योति गुरुङ सहकारीबाट अलग भइन् । सहकारीबाट अलग भएको दुई महिना १४ दिनमा ज्योति गुरुङ र धनराज गुरुङबीच सम्बन्ध विच्छेद भयो ।

कुम्भराजले भने सहकारीको रकम हिनामिना गरेपछि लुकाउनका लागि धनराजले कागजी डिभोर्स गरेको दाबी गर्दै आएका छन् । तर, कांग्रेस उपसभापति गुरुङ भने ०७६ फागुन २९ गते नै आफू र ज्योति गुरुङ बीच डिभोर्स भएकाले सहकारीको सम्पत्ति अपचलनमा आफ्नो दायित्व नभएको बताउँछन् । तथापि, डिभोर्स भइसकेपछि पनि मितेरीमा धनराजले पटक–पटक गरेर ९१ लाखभन्दा बढी रकम भने तिरिसकेका छन् ।

यो पनि-

मैले सहकारी ठगी गरेको भन्ने समाचार भ्रामक : कांग्रेस उपसभापति गुरुङ

सहकारी ठगी आरोप लागेपछि धनराजको गुनासो, ‘मेरो घरबार पनि कुम्भराजले बिगारे’

धनराज चलाख रहेछन्, सहकारी ठगेर नाटक गरे

पछिल्लो समय कुम्भराजले सहकारी संस्था बचत तथा रकम हिनामिना सम्बन्धी बनेको संसदीय छानबिन विशेष समितिलाई ०८१ भदौ ६ गते बयान दिएका थिए । उनले भदौको तेस्रो साता प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीमा पनि उजुरी गरिसकेका छन् । उनी सीआइबीले न्याय गर्नेमा आफू ढुक्क भएको बताउँछन् ।

सीआइबीका प्रवक्ता होबिन्द्र बोगटी कुम्भराजले धनराज र उनकी श्रीमतीसँग सम्बन्धित सहकारीको रकम हिनामिनाका सम्पूर्ण कागजपत्रहरू बुझाएको र प्रहरीले यसबारे अनुसन्धान गरिरहेको बताउँछन् ।

मितेरीका अध्यक्ष कुम्भराजजीले आवश्यक कागजपत्र सहित हामीलाई सम्पूर्ण अनुसन्धानका लागि चाहिने वस्तु उपलब्ध गराइसक्नुभएको छ । बोगटीले खबरहबसँग भने, ‘हामीले कागजपत्रलाई मसिनो गरी केलाइरहेका छौँ, यदि दोषी देखिए कारबाही हुन्छ।’

सरकारले अनुसन्धानलाई प्रभावित पार्‍यो भन्ने आरोपको भने बोगटीले खण्डन गरे । उनले भने, ‘प्रहरीले आफ्नो जिम्मेवारी पूरा गर्ने हो, कुनै दबाब र प्रभावमा प्रहरी चल्छ र ? हामी आफ्नो काम गरिरहेका छौँ ।’

पोख्रेल दम्पत्तीको काण्ड के हो ?

ऋषिकेश पोखरेल एमालेबाट निर्वाचित मोरङ इोत्र नम्बर २ का सांसद हुन् । उनी हाल सत्तापक्षमा भएता पनि प्रतिपक्षले पाउनुपर्ने सार्वजनिक लेखा समितिको सभापति पदमा आसीन छन् । मोरङको उमागैरी कृषि सहकारीको १४ करोड ५६ लाख रकम हिनामिनामा उनकी श्रीमती अञ्जना कोइराला मुछिएकी छन्।

कोइरालाले सो सहकारीबाट रकम हिनामिना गरेको भन्दै सञ्चालकसहित अध्यक्षहरूले विभिन्न निकायमा उजसरी दर्ता गराए पनि दोषीमाथि अनुसन्धान वा कारवाही भएको छैन ।

अञ्जना उमागैरी सहकारी संस्थाको ६ वर्ष सञ्चालक रहेकी थिइन् । कोशी प्रदेशको सहकारी रजिस्ट्रार कार्यालयका अनुसार उमागैरी सहकारीको विगत १० वर्षको कागजात नै हालसम्म गायब छन् ।

कार्यलयका एक अधिकारीले खबरहबसँग भने, ‘उहाँको विषयमा प्रदेश प्रहरी कार्यालय लगायतले अनुसन्धान गरिरहेको हामीले बुझेका छौँ । हामीले कागजपत्र पाएका छैनौँ । १० वर्षको कागजात नै गायब भएको छ।’

उनले सरकार र शक्तिको आडमा यस्तो भएको हुनसक्ने बताउँदै आफूहरूले कागज खोज्नका लागि कुनै कसुर बाँकी नराखेको दाबी गर्छन् ।

अन्जनालाई १४ करोड ५६ लाख सहकारीको रकम हिनामिना गरेको आरोप लागेको छ। यसमा उनका श्रीमान ऋषिकेशको पनि मिलेमतो रहेको सञ्चालक समितिको आरोप छ ।

यो पनि-

सरकारलाई वर्षमानको प्रश्न : रवि पक्राउ पर्दा धनराज र ऋषिकेशलाई किन छुट ?

सहकारी रजिस्ट्रारको कार्यालयका अनुसार हाल यो सहकारीमा विगत दुई वर्षदेखि ताला लागेको छ । ०६८ देखि ०७२ सम्म पोखरेल पत्नी अञ्जना सञ्चालक थिइन्।

सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार थिए । उनले केही समय अगाडि कोशीको एक अनलाइनलाई दिएको जानकारीअनुसार प्रदेश रजिस्ट्रारको कार्यालयले अञ्जनाको नाम काटेर अनुसन्धानमा आनाकानी गरेको थियो ।

हाल सहकारीका अध्यक्ष रौनियार, उपाध्यक्ष दिलमाया राई, कोषाध्यक्ष शम्भुप्रसाद सिंह, सचिव आमोद अन्सारी मियाँ र सदस्य अञ्जना कोइरालाको नाम कालोसूचीमा छ ।

सीआइबीका सूचना अधिकारी बोगटी भने ऋषिकेशको विषयमा भने सीआइबीमा उजुरी आइनपुगेको बताउँछन् ।

दोषी कसैले पनि उन्मुक्ति पाउँदैन : गुरुङ

सरकारका सूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङ सहकारी या कुनै पनि क्षेत्रमा दोषी देखिएको व्यक्ति उन्मुक्ति नपाउने बताउँछन् । अनुसन्धानका क्रममा दोषी रहेका व्यक्ति कुनै पनि हालतमा उन्मुक्ति नपाउने भन्दै उनी समय र सीमाअनुसार सबैको अनुसन्धान भएर जाने दाबी गर्छन् ।

सहकारी होस् या अरू नै काण्ड, दोषी छ भने कसैले पनि उन्मुक्ति पाउँदैन । हामी कसैलाई पनि बचाउने, जगेर्ना गर्ने पक्षमा छैनौँ । मन्त्री गुरुङले खबरहबसँग भने, ‘प्रहरीले आफ्नो ढंगले अनुसन्धान गरिरहेको होला, यसमा सरकारको कुनै दबाब र प्रभाव छैन। हामीले आफ्नो काम गर्ने हो, प्रहरीले आफ्नो काम गरिरहेकै छ।’

विपक्षीहरूले अनेक लाञ्छना लाउनका लागि आफूहरूलाई आरोप लगाएको समेत मन्त्री गुरुङले बताए। उनले रवि पक्राउ गर्नु सुरुवात मात्र भएको बताए । उनले संसदीय छानविन समितिले दिएको प्रतिवेदन कार्यान्यन हुँदै जाने बताए ।