आर्थिक

कुल गार्हस्थ्य उत्पादनको ४४.२३ प्रतिशत पुग्यो सार्वजनिक ऋण

By खबरहब

October 21, 2024

काठमाडौं– नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको ४४.२३ प्रतिशत पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म आइपुग्दा नेपालको सार्वजनिक ऋण कुल २५ खर्ब २३ अर्ब ३ करोड ९३ लाख अर्थात् कुल गार्हस्थ्य उत्पादनको ४४.२३ प्रतिशत पुगेको हो ।

कार्यालयकाअनुसार चालु आर्थिक वर्षको साउन १ गतेसम्म २४ खर्ब ३४ अर्ब ९ करोड ९८ लाख रुपैयाँ बराबर रहेको सार्वजनिक ऋण तीन महिनाको अवधिमा १ खर्ब ३६ अर्ब ३१ करोड ८१ लाखले वृद्धि भएको हो ।

सरकारले चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा ६९ अर्ब ३ करोड ३ लाख रुपैयाँ सार्वजनिक ऋण भुक्तानी समेत गरेको कार्यालयले जनाएको छ ।

कुल सार्वजनिक ऋणमध्ये १२ खर्ब ३६ अर्ब ३० करोड १८ लाख रुपैयाँ स्वदेशी र १२ खर्ब ८६ अर्ब ७३ करोड ७५ लाख रुपैयाँ विदेशी ऋण रहेको तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म कुल गार्हस्थ्य उत्पादनको २१.६७ प्रतिशत स्वदेशी र २२.५६ प्रतिशत ऋण विदेशी छ ।

सरकारले चालु आर्थिक वर्षमा ५४ अर्ब ७० करोड रुपैयाँ सार्वजनिक ऋण लिने लक्ष्य राखेको छ । जसमध्ये असोज मसान्तसम्म २४.९२ प्रतिशत लक्ष्य प्राप्ति भएको कार्यालयले जनाएको छ ।