समाचार

भन्सार छलेर भित्र्याइएका सामान बरामद

By खबरहब

October 21, 2024

वीरगञ्ज– सशस्त्र प्रहरी बलले पर्साका विभिन्न स्थानबाट भन्सार छलेर ल्याएको १८ लाख ५० हजार मूल्य बराबरका लत्ताकपडासहित किरानाका सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले आइतबार वीरगञ्ज महानगरपालिका–१६ इनर्वास्थित भन्सार छली गरेर ल्याएको १४ लाख ६० हजार मूल्य पर्ने किराना सामान, कपडा, कस्मेटिक, मोटरपार्टस्, मोबाइल एसेसोरिज, इलेक्ट्रोनिक्स तथा मेडिकलका सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरी नायब उपरीक्षक विष्णुहरि घिमिरेले सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै भन्सार छली गरेर ल्याएका सामान पक्राउ पर्ने क्रम बढेको बताए । उनले भन्सार छली गरेर बरामद भएको सामानलाई वीरगञ्ज भन्सार कार्यालयमा आवश्यक प्रक्रिया पूरा गरी बुझाएको बताए ।

सशस्त्रले आइतबार नै ड्राइपोर्टबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–२५ स्थित चण्डालबाट भन्सार छली गरेर ल्याएको एक लाख ६९ हजार मूल्य पर्ने जुत्ता, कपडा र किराना सामान बरामद गरेर वीरगञ्ज भन्सार कार्यालयलाई बुझाएको छ ।