समाचार

‘पूर्वाधार निर्माणको अध्ययन र डिजाइनमा समस्या’

By खबरहब

October 21, 2024

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पूर्वाधार निर्माणको अध्ययन र डिजाइनमा केही समस्याहरू देखिएको बताएका छन् ।

सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा मन्त्री दाहालले सडक, पहल लगायतका संरचना निर्माण गर्दा अध्ययन र डिजाइनमा केही समस्याहरू देखिएको बताएका हुन् । 

अहिलेको अवस्थामा संरचनाहरू बाढी पहिरोका बेला थेग्न सक्ने छ की छैन भन्ने विषय गम्भीर देखिएको उनले बताए । 

मन्त्री दाहालले इन्जिनियर, भूगर्भविद, वातावरणविद्को भूमिका देशमा कमजोर जस्तो देखिएकाले पूर्वाधार निर्माणको सर्वे र डिजाइनमा पुनर्विचार गर्नुपर्ने धारणा राखे ।

उनले हालैको बाढी पहिरोका कारण सडकतर्फ १४ अर्ब ३४ करोड र पुलतर्फ ९५ करोडको क्षति भएको जानकारी दिए । मन्त्री दाहालले विकासका लागि विद्यमानहरु बाधक रहेको उल्लेख गरे। उनले सरकारले १०० दिनमा राखेको लक्ष्य अनुसार मन्त्रालयले काम गरिरहेको बताए ।