समाचार

‘मिनी ट्रक’ दुर्घटनामा दुई जनाको मृत्यु

By खबरहब

January 22, 2024

तनहुँ– तनहुँको देवघाट गाउँपालिका– २ कोटबैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा मिनी ट्रक दुर्घटना हुँदा दुई जना मृत्यु भएको छ ।

दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग१ख ४१८१ नम्बरको मिनी ट्रक गएराति सडकदेखि अन्दाजी पाँच सय मिटर तल खस्दा ट्रकमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मृत्यु हुनेमा देवघाट– ३ दगाराका ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङ रहेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारका लागि दमौली अस्पताल लगिएकोमा आज बिहान चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।

ट्रक चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।