आइएमएफले नेपालको अर्थतन्त्र सुध्रिएको भन्यो : अर्थ मन्त्रालय

By खबरहब

September 22, 2024

काठमाडौं – अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले नेपालको अर्थतन्त्र सुधार हुँदै गएको जनाएको अर्थ मन्त्रालयले दाबी गरेको छ ।

आइएमएफका एसिया प्रशान्त क्षेत्रीय उपनिर्देशक रूपा दत्त गुप्ताले भेटघाट क्रममा नेपालको अर्थतन्त्र सुध्रिँदै गएको बताएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अर्थ मन्त्रालयका अनुसार सो भेटमा उपनिर्देशक दत्तगुप्ताले नेपालको अर्थतन्त्र सुधार हुँदै गएको आफूले पाएको बताएका हुन् । उनले नेपालमा लगानी सहजीकरण सम्बन्धी कानूनहरू परिमार्जन हुँदै गएको, राजस्व परिचालन रणनीति कार्यान्वयनमा आएको, अर्थतन्त्र सम्बन्धी  विभिन्न सुझावहरु कार्यान्वयन हुँदै गएकाले आफू उत्साहित भएको धारणा व्यक्त गरे।

अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई सुदृढ गर्न सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको जानकारी गराएका विज्ञप्तिमा उल्लेख छ ।