देश/प्रदेश

राष्ट्रपति पौडेल बागलुङको पञ्चकोटमा

By खबरहब

February 22, 2024

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेल बागलुङको पञ्चकोट पुगेका छन् । हिजोदेखि सुरु भएको ब्रह्माण्डीय महायज्ञमा सहभागी हुन राष्ट्रपति पञ्चकोट पुगेका हुन् । उनलाई प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्वागत गरे ।

राष्ट्रपति पौडेल पञ्चकोटमा राखिएको पाँच हजार पाँच सय ५५ किलोको महाघण्टी उद्घाटनका लागि बागलुङ गएका हुन् । पञ्चकोटमा अनन्तश्री ब्रह्माण्डीय महायज्ञ सञ्चालन भएको छ । बुधबारदेखि सुरु भएको महायज्ञमा राष्ट्रपति पौडेलले अर्चना गर्ने कार्यक्रम छ ।

पञ्चकोटलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न महाघण्टी राखिएको हो । विसं २०७१ देखि पञ्चकोटमा धार्मिक संरचना बनाउन सुरु गरिएको थियो ।

गत साता महाघण्टीलाई पञ्चकोट लगिएको थियो । पञ्चकोटमा अहिलेसम्म सिस महल, गण्डकीमाताको मन्दिर, यज्ञशाला, हनुमानको विशाल मूर्तिलगायत दर्जनौँ धार्मिक संरचना बनिसकेका छन् ।

पञ्चकोटमा निर्माण गर्न लागिएको एक सय आठ फिट अग्लो गण्डकी विश्वशान्ति कलशको नजिकै महाघण्ट राखिएको छ । महाघण्ट बनाउन करिब दुई करोड खर्च लागेको अनुमान गरिएको छ ।