समाचार

पत्रकार शाक्य र गौतममाथि सुरक्षाकर्मीबाट दुर्व्यवहार

By खबरहब

February 22, 2024

काठमाडौँ– नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादक टेकमान शाक्य तथा पत्रकार सुनिता गौतममाथि सुरक्षाकर्मीले दुर्व्यवहार गरेको छ ।

समाचार सङ्कलनका क्रममा रहेका उनीहरूलाई कालिमाटी प्रहरी वृत्तबाट खटिएको सुरक्षाकर्मीको टोली ताहाचलमा दुर्व्यवहार गरेको हो ।

वैदेशिक रोजगार ठगीमा परेकाहरू दबाबका लागि ताहाचलस्थित वैदेशिक रोजगार विभागमा पुगेका बेला समाचार सङ्कलनका क्रममा पुगेका पत्रकार शाक्य र गौतममाथि प्रहरीले परिचयपत्र खोसेर दुर्व्यवहार गरेका थिए ।

सूचना विभागबाट जारी भएको प्रेस प्रतिनिधि प्रमाणपत्र देखाउँदा पनि प्रहरीले यस्तो कार्ड त पैसामा किनेर ल्याइदिन सक्ने भन्दै सुरक्षा कर्मीले धम्की दिँदै पत्रकारको परिचय कार्ड खोसेको उनीहरूको भनाइ छ ।

प्रहरीले उनीहरूलाई भ्यानमा हालेर कालीमाटी प्रहरी वृत्तमा लगेको र क्यामेरा, मोबाइल बन्द गर्न लगाएको बताइएको छ ।

कालीमाटी प्रहरी वृत्तका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीको कमाण्डमा सुरक्षा संयन्त्र खटिएको थियो ।