सत्ता गठबन्धन भित्र विशेष गरी नेपाली कांग्रेस माओवादीको कार्यशैलीसँग असन्तुष्ट, माओवादी कांग्रेसको रबैयाप्रति सहज नरहेको अवस्थामा त्यही छिद्र उपयोग गरेर एमालेले नयाँ सत्ता समीकरणको कसरत गर्न खोजेको विश्लेषण हुन थालेको छ । कांग्रेसको नीति सम्मेलन भनिने महासमिति बैठकमा माओवादीसंगको निकटताले पार्टीको छवि धमिलिएको भन्दै नेता कार्यकर्ता पंक्तिका आएको तीव्र असन्तुष्टिले पनि सत्तारुढ गठबन्धनमा तिक्तता बढाउन मसला थप्ने काम गरेको छ । यस अवस्थामा सत्ताको ‘ढोक्सा’ थापेर बसेको एमालेलाई फलिफाप हुने सम्भावना कतिको छ ? यसै विषयमा एमाले नेता लालबाबु पण्डितसँग रेडियो क्यान्डिडका लागि कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :
तपाईँहरू विपक्षमा बसेर गठबन्धन असफल भएको निष्कर्ष निकाल्ने, गठबन्धनका नेताहरू काम गर्न सकिएन भन्ने अब यो समीकरण भित्र एमाले सत्ता केन्द्रित हुन थालेको हो ?
एमाले सत्तातिर अहिले केन्द्रित छैन । अहिले पार्टीको संगठन बिस्तार र जनतामा देखिएको आक्रोशलाई प्रमुख प्रतिपक्ष र जनमतको हिसाबले ठूलो पार्टीको हैसियतले त्यसलाई सम्बोधन गर्ने गरी केन्द्रीय कमिटीमा छलफल गरेर कार्यक्रम तय गर्ने तर्फ केन्द्रित छौँ ।
सत्ता गठबन्धन कुहिएको फर्सी जस्तै भएको छ । जनताको बीचमा पनि गनाएको छ । यसले जनतामा आक्रोश सिर्जना भएको छ । यो अपवित्र गठबन्धन हो, यसलाई भरोसा गरेर देश बर्बाद भयो भन्ने मनोभावना विकास भएर ठाउँ ठाउँमा आक्रोशको अभिव्यक्ति पनि आएको छ । र कहिलेकाहीँ प्रणाली माथि पनि प्रश्न उठिरहेको छ । अझ सत्ता गठबन्धनले सत्ता कसरी टिकाउने र जालझेल गरेर कसरी पदमा रहने भन्ने स्थितिले निराशा छाएको छ ।
एमालेले संसदमा प्रतिपक्षको भूमिका देखाउन किन नसकेको ?
हाम्रो संसदमा प्रतिनिधित्व गर्ने सदस्यबाट जनताले थप आशा राखेको छ । संसदमा अपेक्षित भूमिका निर्वाह गर्न हामी लागिरहेका छौँ । र अहिले यो संसद्को संरचनामा पनि धेरै काम गर्न नसकेको अर्को स्थिति छ । संसदभित्र उद्देश्य फरक फरक राखेका दलहरु छन् । त्यहाँभित्र कतिपय यस्ता प्रवृत्ति पनि छन्, जो अपराध लुकाउने दाउपेचमा छन् । त्यस कारण पनि संसद्को गरिमा अनुसारको भूमिका नभएको प्रश्न जनताले उठाइरहेका छन् । हामी भित्र पनि प्रश्न उठेका छन् । त्यसलाई सुधार्नुको विकल्प छैन ।
संसद् भित्रको प्रतिनिधित्वको हिसाबमा डामिएका वा अपराध लुकाउनेको सूचीमा तपाईँहरूको दल पनि अग्र मोर्चामै छ नि कसो ?
कानून अनुसारको दण्डित गर्ने कुराको विपक्षमा हामी छैनौँ । तर अहिले कतिपय मिडिया वा लोकप्रियता पाउन उठेको आधारलाई मात्रै मान्न त सकिँदैन । गलत कोही छन् भने दण्डित गर्न हाम्रो तर्फबाट पुरा समर्थन छ ।
संविधान र प्रणाली विरोधी तत्त्वहरूलाई कसले सलबलाउने अवसर दियो भनेर तपाईँहरूले समीक्षा गर्नु नपर्ने हो ?
समीक्षा गरेर नै जनताको जुन हदसम्म अपेक्षा छ, त्यही रूपमा त पुरा गर्न नसकिएला तर मन जित्ने गरी काम गर्नुपर्छ । राजनीतिक रूपमा यस्तै गठबन्धनकारी शक्तिका कारण र सत्ता स्वार्थमा केन्द्रित हुने कारण को कति पटक मन्त्री भए तर परिणाम ती पात्रबाट के पाए भन्ने हैन जे सुकै होस् एक दिनको लागि मात्रै भए पनि म मन्त्री नभई छोड्दिन भनेर त्यसको निम्ति पार्टी पनि खोलिएका छन् ।
अपराध गरेका, अदालतले दण्डित गरेका र त्यसबाट माफी मिनाहा गराउन नेपालमा पार्टी खोलेर सजाय माफी गराएर चोखो छु भन्ने लाई पनि भोट दिने जनताको बीचमा पनि अपराधी तत्त्व छन् भन्ने बुझ्नु पर्छ ।
०६२/६३ को आन्दोलनपछि यो गलत कोर्स सिर्जना गर्ने त कांग्रेस–एमाले नै हैनन र ?
०६२/६३ को आन्दोलन पछि जुन परिवर्तन आयो त्यो गलत कोर्स थिएन । बरु राजनीतिक स्थायित्व र विकास प्रणालीको सुधारमा ध्यान नपुगेकै हो । शीर्ष नेतृत्व सत्ता कसरी हात पार्ने र प्रतिद्वन्द्वीलाई कमजोर बनाउने खेलमा केन्द्रित भयो । जनताको बीचमा एक अर्काको तेजोबध गर्न विरोधको जुन संस्कार बसाइयो, त्यो दुर्भाग्यपूर्ण भयो । किनकि सत्तामा बस्नेले राम्रो काम गरेको छ भने प्रतिपक्षले समर्थन गर्नुपर्छ । सत्तापक्षले प्रतिपक्षको सुनुवाइ गर्नुपर्छ ।
अन्तरिम संसद् परिकल्पना गरेर सशस्त्र युद्धमा रहेको शक्तिलाई एमाले सरहको हैसियत दिएर राष्ट्रिय राजनीतिमा स्थापित गर्नु नै गलत परम्पराको थालनी थिएन र ?
हामीले अन्तरिम संसद् बनायौँ । द्वन्द्वमा रहेको शक्तिलाई शान्तिपूर्ण प्रक्रियामा ल्यायौँ । जुन उद्देश्यसाथ त्यो काम गरियो, सार्थक नै भएको छ । विखण्डनकारीहरू पनि अहिले संविधान मानेर अगाडि बढिरहेका छन् । यससँगै उनीहरूमा एउटा संस्कार विकास गर्न भने असमर्थ भइयो राजनीतिमा अपराधी घुस्ने र अपराधीले राजनीति गर्ने फरक विषय हो । अपराधी भित्र राजनीति घुस्यो भने परिवर्तन गर्न सकिन्छ । राजनीतिभित्र अपराध घुस्यो भने राजनीतिलाई नै आपराधिकरण गर्छ ।
राजनीति गलत ठाउँमा पुगेको हैन, राजनीति भित्र केही गलत व्यक्तिहरूले प्रवेश गरेर राजनीति दूषित बनाउने काम गरे । द्वन्द्व त संसारभर नै चलेका छन् । तिनलाई समाधान गर्नको निम्ति विभिन्न सम्झौताहरू गरेर द्वन्द्वलाई समाप्त गरिएको छ ।
संविधान अनुरूप चल्नु हुँदैन भनेर अहिले कसैले भन्दैन । संविधान संशोधनका निम्ति आफ्ना मतहरू रहन्छन् एमालेको पनि छ । परिस्थिति आएपछि एमालेले पनि संविधान संशोधनमा अहिले देखिएका जे जति विकृति विसङ्गतिहरू छन् । जनचाहना अनुकूल त्यसलाई सम्बोधन गर्न एमाले तयार रहन्छ ।
संविधान संशोधनका सन्दर्भमा कहाँ देखिन्छ त्यस्तो कमजोरी ?
जनताले देखेको पहिलो विषय भनेको जनप्रतिनिधिहरूको संख्या बढी भयो । त्यो प्रस्ट देखिन्छ । अर्को समानुपातिक प्रणालीलाई कतिपय सन्दर्भमा दुरुपयोग गरियो । आरक्षण प्रणाली पनि दुरुपयोग भयो । संविधानमा भएको विषय बोकेर अघि बढ्नुको विकल्प छैन ।
अहिले सडकमा प्रणाली परिवर्तनका लागि उठेको आवाज हो कि संविधान संशोधनका लागि ?
धर्मको सन्दर्भमा हिन्दुको बाहुल्य मुलुक भएकोले उठेको हो । तर अहिले नै संविधान संशोधनको परिस्थिति देखिँदैन । समय अनुसार परिवर्तन हुन सक्छ र यस्ता विषयको छिनोफानो हुन सक्छ ।
हिन्दु बाहुल्य मुलुक भनिरहँदा संविधान लेखनको बेलामा बाबुराम भट्टराइले जनताले जे पठाए हामीले यो राख्यौँ भन्नु भयो । संविधान पढ्ने बेला हुँदै नभएको कुरा तपाईँका पार्टीका नेता सभामुखले पढ्नु भयो भनेर चर्चा चलेको थियो । अहिले त्यही कुरा बारम्बार बल्झिरहेको छ नि ।
तिनै बाबुराम जी हुन् संविधान जलाउनु पर्छ भनेर भागेका थिए । भगुवाको कुरा के गर्ने ? जसको विचारमा स्थिरता छैन । चटके कुरा गरेर हुँदैन त्यस्ता चटकेको यो देशमा काम छैन ।
यो देशमा यी नै बाबुरामहरू भारतमा बसेर कल्पना पनि गर्न नसक्ने कुराहरू २२ से २४ राज्यको मानसिकता लिएर देशै समाप्त गर्न सकिन्छ भनेर अरूको बुई चढेर के के गरे भनेर जनताले स्पष्ट बुझेका छन् ।
त्यही विखण्डनवादी र विसर्जनवादीलाई बोकेर हिँड्नु भयो अहिले काँध गल्यो ?
हामीले अहिले पनि गौरव गर्छौँ कि विदेशमा बसेर विदेशीको बुई चढेकालाई स्वदेशमा ल्यायौँ, शान्ति प्रक्रियामा ल्यायौँ र शान्तिपूर्ण तरीकाले आफ्ना भनाइ अभिव्यक्त गर्न पाउने अधिकार स्थापित गर्यौं । त्यति बेला पनि संविधान जारी गर्न नदिने पक्षमा नै बाबुरामजीहरू हुनुहुन्थ्यो । यो खेलाभित्र राष्ट्रलाई नै विखण्डन गर्ने गराउने तर्फ केन्द्रित रहेकाले राष्ट्रलाई संविधान दिन हामी सफल भयौं ।
अब प्रणालीको विकास, सुशासन दिनमा भएका कमजोरीलाई समाधान गरेर अगाडि बढ्नुको विकल्प छैन । यो निरन्तरको काम हो । यो विकास क्रमलाई हामी सकारात्मक नै लिन्छौँ ।
अहिले फेरि तिनै पार्टीहरूसँग कुम मिलाउन सकिन्छ कि भनेर अवसर खोजिरहनु भएको छ । आखिर सबै आदर्श त सत्तामै पुगेर खरानी बन्ने त रहेछ भन्ने निष्कर्ष निकालियो भने कति सही हुन्छ ?
हामीले सत्ता गठबन्धन भित्र भाग खोजेका छैनौँ । कोशीमा पनि हामीले सत्ता खोजेको हैन । अस्थिरतालाई स्थायित्व दिन खोजेको हो । कोशीमा वर्ष दिन नपुग्दै चुनावमा जानु राम्रो हुँदैनथ्यो । त्यस कारण हामीले मुटुमाथि ढुङ्गा राखी हाँस्नु परेको छ भनेजस्तै सहयोग पुर्याएका हौँ ।
तपाईँहरूको केन्द्रको राजनीतिमा अबको भूमिका के त ?
अहिले हामी पार्टी निर्माणमा केन्द्रित छौँ । प्रचण्डजीले सरकार चलाउन सक्ने स्थिति छैन । हामी प्रमुख प्रतिपक्ष छौँ । प्रचण्डजी अब केही दिनमा प्रतिपक्षमा आएर बस्नुहुन्छ ।
कांग्रेससँग मिलेर माओवादीलाई प्रतिपक्षमा ढाल्दै हुनुहुन्छ ?
नसक्ने स्थिति भएपछि जबरजस्ती बसिराख्नुहोस् भनेर पूजा गरेर मस्त भइराख्नुहोस् भन्ने पक्षमा छैनौँ । प्रचण्ड, माधव नेपाल र ओलीको बीचमा अहिलेको परिस्थितिमा गाउँले भाषामा तीन खुट्टे ओदानको स्थिति हो । एकता र सहकार्यको स्थिति छैन । ०८४ मा एमाले एक्लै अगाडि हिँड्छ ।