फाइल फोटो

देश/प्रदेश

तेस्रो मुलुकमा चिया निर्यात गर्नुपर्छ : नेता खनाल

By खबरहब

February 22, 2024

इलाम । नेकपा (एकीकृत समाजवादी)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालमा उत्पादित चिया तेस्रो मुलुक निर्यात गर्नुपर्ने बताएका छन् ।

इलाम नगरपालिका–१ को वडा कार्यालयले आयोजना गरेको एक कार्यक्रममा उनले नेपालमा उत्पादित चिया चीन निर्यात गर्नसके तीन गुणा बढी फाइदा हुने बताए ।

चीनमा तीन गुणा बढी मूल्यमा चिया बिक्री भइरहेको भन्दै नेता खनालले भारत केन्द्रित चियाको बजारीकरण तोड्नुपर्ने बताए । हाल वार्षिक चार अर्बको चिया विदेश निर्यात भइरहेको भन्दै उनले चीनतर्फ निर्यात गर्दा १२ अर्ब भित्रिने जानकारी दिए ।

इलाम–१ को वडाभित्र बढी चिया उत्पादन हुने भएकाले सो वडाले पूर्वप्रधानमन्त्री खनालसमक्ष चियाको समस्या किसानमार्फत राख्ने कार्यक्रम तय भएको थियो । वडावासीको तर्फबाट मोती दाहालले किसान र उद्योगी समस्यामा परेको बताए । उनले तत्काल चियाको समस्या समाधान नभए किसान र उद्योगी पलायन हुनुपर्ने स्थिति आउने बताए ।

कार्यक्रममा वडाको तर्फबाट चियाका साथै विद्यमान विभिन्न समस्या समाधान गर्न, विकास निर्माणलाई समेटेर छ बुँदे ज्ञापनपत्र बुझाइएको थियो । वडाध्यक्ष गायत्रीराम बस्नेतले खनाललाई ज्ञापनपत्र बुझाउँदै समस्या समाधानमा पहल गरिदिन आग्रह गरे ।

खनालले सम्बन्धित पक्षसँग आफूले पहल गर्ने आश्वासन दिएका छन् । वडा कार्यालयअन्तर्गतको ज्येष्ठ नागरिक समन्वय समितिको तर्फबाट खनाललाई सम्मानसमेत गरिएको थियो ।