समाचार

उपनिर्वाचनमा मतदातालाई यातायातको व्यवस्था मिलाउन गृहलाई निर्देशन

By खबरहब

April 22, 2024

काठमाडौं– निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनमा मतदाताहरूको सहज आवागमनको लागि यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न निर्देशन दिएको छ । सोमबार बसेको आयोगको बैठकले गृह मन्त्रालयलाई सो निर्देशन दिएको हो ।

इलाम-२ र बझाङ जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ (१) मा उपनिर्वाचन हुँदै छ ।

आयोगले दुई जिल्लासँग जोडिएका राष्ट्रिय राजमार्गमा सार्वजनिक यातायातका साधनहरूको आवागमनको उपयुक्त व्यवस्था मिलाउन आग्रह गरेको छ ।

आयोगले भनेको छ, ‘निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकुल प्रभाव नपर्ने गरी सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनको लागि यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालय मार्फत निर्देशन दिने ।’

साथै आयोगले मतदान अघिको ४८ घण्टादेखि निर्वाचन आचारसंहिता अनुसार निषेध गरिएका कार्यहरू हुन नदिन समेत गृह मन्त्रालय मार्फत निर्देशन दिने निर्णय गरेको छ ।