काठमाडौं- पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको बरमझिया स्वादिष्ट पेडाका लागि प्रशिद्ध ठाउँ हो । तर, त्यहाँका सबै पेडा पसलेहरु आफ्नो पसल मात्र असली भएको दाबी गर्छन् । सबैले पसलको नाममा ‘बाजे’ झुण्ड्याएकै हुन्छन् ।
बरमझियामा आफ्नो पसललाई सक्कली देखाउन ‘असली बाजेको पेडा पसल’, ‘पुरानो बाजेको पेडा पसल’ इत्यादि नामहरु राख्ने होडबाजी नै चल्छ ।
बरमझियाका पेडा पसलेले आफ्नो पसललाई असली देखाउने प्रयास गरेजस्तै नेपालमा अस्थित्वमा रहेका १७ वटा कम्युनिष्ट पार्टी र समूहरुले पनि आफूलाई मात्र असली देखाउने प्रयास गर्दै आएका छन् ।
असली देखाउने यही होडमा ७५ वर्षअघि खुलेको नेपाल कम्युनिष्ट पार्टीमा फुटको सिलसिला अहिलेसम्म रोकिएको छैन । कम्युनिष्ट नाममा नयाँ-नयाँ पसल खुलिरहेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको सोमबार ७५ वर्ष पूरा भएको छ । विसं २००६ वैशाख १० गते दिन नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको हो । यो अवधिमा ०४८ सालयता कम्युनिस्ट नेताहरु बारम्बार सरकारमा गएका छन् । कम्युनिष्ट पार्टीबाटै छ जना प्रधानमन्त्री र एकजना राष्ट्रपतिसमेत भइसकेका छन् । देशमा राजतन्त्र ढलेर गणतन्त्र आएको छ । तर, कम्युनिष्टले भन्दै आएको सामाजिक न्यायको महसुस भने जनताले गर्न सकेका छैनन् ।
कम्युनिष्ट पार्टी स्थापना भएको ७५ वर्षको यो अवधिमा मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल प्रचण्ड, केपी शर्मा ओली र डा. बाबुराम भट्टराईसमेत गरी छ जना कम्युनिष्ट नेताहरु प्रधानमन्त्री बनेका छन् । कम्युनिष्ट पार्टीबाटै विद्या भण्डारी राष्ट्रपति बनेकी छन् ।
तर, प्रश्न छ– कम्युनिष्टहरु सरकारमा हुँदा पनि किन जनताले पुँजीवादीको सरकारकै जस्तो स्थिति भोग्नुपरिरहेको होला ?
कम्युनिष्ट पार्टीहरुले सरकारमा गएर पनि किन राम्रोसँग काम गर्न सकेनन् ? यसको राजनीतिक विश्लेषण र बहस हुँदै जाला, यहाँचाहिँ नेपालमा कम्युनिष्ट नामधारी पार्टी र समूहहरु कति छन्, त्यसको मात्र चर्चा गर्ने प्रयास गरिएको छ ।
पुष्पलाल श्रेष्ठको नेतृत्वमा निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ संस्थापक रहेर भारतको कोलताकामा विसं २००६ सालमा नेकपाको स्थापना गरिएको थियो ।
विभिन्न समयमा नेतृत्वको टकरावका कारण पार्टीहरू फुटेर हालसम्म १७ वटा कम्युनिष्ट पार्टी र समूहहरु अस्थित्वमा छन् । हाल नेपालमा अस्थित्वमा रहेका कम्युनिस्ट पार्टी र समूह यस्ता छन् :
१. नेकपा एमाले : केपी शर्मा ओली
२. नेकपा माओवादी केन्द्र : पुष्पकमल दाहाल प्रचण्ड
३. नेकपा एकीकृत समाजवादी : माधव नेपाल
४. नेपाल मजदुर किसान पार्टी : नारायणमान बिजुक्छे
५. क्रान्तिकारी कम्युनिस्ट पार्टी : मोहन वैद्य
६. राष्ट्रिय जनमोर्चा : चित्रबहादुर केशी
७. नेकपा मसाल : मोहनविक्रम सिंह
८. नेकपा संयुक्त : चन्द्रदेव जोशी
९. नेकपा बहुमत : हेमन्तप्रकाश वली
१०. नेकपा : नेत्रविक्रम चन्द विप्लव
११. नेकपा माले : सिपी मैनाली
१२. नेपाल कम्युनिस्ट पार्टी : क्रषि कट्टेल
१३. नेकपा माओवादी : गोपाल किराँती
१४. वैज्ञानिक समाजवादी पार्टी : विश्वभक्त दुलाल
१५. नेकपा मार्क्सवादी : लोकनारायण सुवेदी
१६. आम जनता पार्टी : प्रभु साह
१७. नेकपा एकता राष्ट्रिय अभियान : वामदेव गौतम
यसरी १७ वटा समूहमा बाँडिएका कम्युनिष्ट पार्टीका नेताहरु आफ्नो दलमात्रै असली कम्युनिष्ट भएको दाबी गर्छन् ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे भन्छन् ‘हामी त जनताको पार्टी हो । लाभ लिने र अवसर खोज्ने होइन ।’
किन मिल्दैनन् कम्युनिस्ट ?
वाम विश्लेषक श्याम श्रेष्ठ कम्युनिस्ट पार्टीहरू मिल्न नसक्नुका तीन कारण दिन्छन् । श्रेष्ठका अनुसार राजनीति नमिल्नु पहिलो कारण हो ।
दोस्रो– राजनीतिक सिद्धान्त र बाटो मिले पनि सत्ता स्वार्थको अहंकारका कारण कम्युनिष्टहरु नमिलेका हुन् ।
तेस्रो– कुनै पनि दलबाट क्रान्ति हुन सक्दैन भनेर संसदबाट समस्या समाधान हुन नसक्ने सोचले गर्दा पनि कम्युनिष्ट पार्टीहरु मिल्न नचाहेको श्रेष्ठको भनाइ छ ।
श्रेष्ठले उदाहरण दिँदै भने, ‘प्रचण्ड र ओलीको नमिल्नुपर्ने कारण के थियो र ? माधव र ओलीको नमिल्नुपर्ने कारण के थियो ? बाबुराम र प्रचण्ड नमिल्नुपर्ने कारण पनि केही थिएन । मोहन वैद्य, आहुति, विप्लव पनि संसदीय अभ्यासमा नआउनुपर्ने कारण के होला र ? अहङ्कार नै हो । जुँगाको लडाइले सबै कम्युनिस्ट फुटेका हुन् ।’
ढिलो–छिटो संसदीय अभ्यासमा रहेका एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी, नेमकिपा, जनमोर्चा र बाबुराम भट्टराईको पार्टी मिलेर जानेमा श्रेष्ठ विश्वस्त छन् ।
उनी भन्छन्, ‘जुँगाको लडाइले छेकेन भने संसदीय अभ्यासमा भएका दलहरु मिल्छन् । अनि क्रान्तिकारी धार भएका पार्टीहरू पनि एक ठाउँमा आउँछन् ।
नेताहरूको आन्तरिक बेमेल र पार्टीहरूको फुटले जनतालाई पनि असर गरेको भन्दै फुट र गुटको राजनीति गर्नुभन्दा विचार मिल्ने शक्तिहरू एक हुनुपर्ने श्रेष्ठको सुझाव छ ।
वाम विश्लेषक श्रेष्ठ नेपालको कम्युनिस्ट आन्दोलनको तीन धार रहेको बताउँछन् । उनले माओवादी धारका पार्टीहरू एक ठाउँमा आउने विश्लेषण गरे ।
यस्तै, संसदीय अभ्यासमा रहेका एमाले, एकीकृत समाजवादी एक ठाउँमा आउने उनको तर्क छ ।
संसदमा रहेका तर अझ कान्तिकारी रहेका नेमकिपा, जनमोर्चा , बाबुराम तथा अन्य केही पार्टीहरूले एक धारको प्रतिनिधित्व गर्ने श्रेष्ठको विश्लेषण छ । उनी भन्छन्, ‘नेपाली कम्युनिस्ट आन्दोलन अब तीन धारमा अगाडि बढ्ने छ ।’
ठूला-साना सबै कम्युनिस्ट पार्टीमा पनि फुट र गुटको राजनीति मौलाएको हुँदा यसको फाइदा अन्य दलले उठाएको विश्लेषक झलक सुवेदीको भनाइ छ
पछिल्लो समय नेपालमा ठूला-साना सबै कम्युनिस्ट पार्टीमा पनि फुट र गुटको राजनीति मौलाएको हुँदा यसको फाइदा अन्य दलले उठाएको विश्लेषक झलक सुवेदीको भनाइ छ ।
नेताहरूको आन्तरिक बेमेल र पार्टीहरूको फुटले जनतालाई पनि असर गरेको भन्दै अन्य नयाँ शक्तिको उदयले अब कम्युनिस्टहरूलाई एक हुनुपर्ने पाठ सिकाएको सुवेदीको भनाइ छ ।
वाम एकता गफमै सीमित
नेपालका कम्युनिष्टहरु एक हुनुपर्छ भन्ने थेगो नेताले भन्न छाड्दैनन् । पूर्वमाओवादीको एकताको कुरा पनि यसैगरी गफमै सीमित हुँदै आएको छ ।
नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोख्रेल विचार र सिद्धान्त मिल्ने कम्युनिस्ट पार्टीहरू एक हुने आश्वासन दिन्छन् । यस्तै एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि छिटै वृहत् वाम एकता हुने बताउँछन् ।
माओवादीका महासचिव देव गुरुङ कम्युनिस्ट एकताको पक्षमा माओवादी रहेको भन्दै चाँडै एकता हुने आधारहरू बनेको दाबी गर्छन् । उनी पूर्वमाओवादीहरूलाई पनि मिलाउने प्रयास भइरहेको बताउँछन् ।
वामदेव गौतम सहिष्णुतासहितको नेतृत्व हुन नसकेकाले एकताको जग नै खडा हुन नसकेको बताउँछन्
बाबुराम भट्टराईबाट अलग भएर माओवादीसँग मिलेका गङ्गालाल श्रेष्ठ अब कम्युनिस्टहरु एक नभए विकास र देशको निकास हुन नसक्ने बताउँछन् ।
पार्टीको स्वरुप नै नलिइसकेको नेकपा एकता राष्ट्रिय अभियानका संयोजक रहेका वामदेव गौतम सहिष्णुतासहितको नेतृत्व हुन नसकेकाले एकताको जग नै खडा हुन नसकेको बताउँछन् । उनले खबरहबसँग भने, ‘नेताहरू सबै सक्षम छन् तर सहिष्णुतासहितको सक्षमता देखिएन ।’
आफूले पनि मिलाउन धेरै प्रयास गरेको तर नसकेको बताउँदै गौतमले भने, ‘०७४ मा कम्युनिस्टहरू मिल्न हतार भए भन्ने सबैको ठहर छ । समय क्रममा हामी कुनै दिन एउटै पार्टीमा विकसित हुन्छ ।’