राजनीति

कांग्रेस बैठकमा शीर्ष नेतालाई प्रश्न : अवसर आउँदा खल्तीबाट नियुक्त गर्ने, अफ्ठ्यारो पर्दा हामी चाहिने ?

By खबरहब

May 22, 2024

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकका सहभागीहरूले नेतृत्वको कडा आलोचना गरेका छन् ।

बैठकका सहभागी नेताहरूले नेतृत्वको आलोचना गर्दै कार्यकर्ता अन्य पार्टीलाई भोट हाल्दा हाल्दा हैरान भइसके बताएका थिए ।

उनीहरूले अब कांग्रेस नेतृत्वले अब आफ्नो खुट्टामा उभिएर अघि बढ्नुपर्ने बताए । नेतृत्वले सहकारी प्रकरण र सरकारको रवैयाविरुद्ध सडक आन्दोलनमा जाने प्रस्ताव गरेपछि बैठकका सहभागीहरूले आफ्नै खुट्टामा उभिने भए साथ दिने बताएका थिए ।

‘पार्टीलाई चाहिएका बेलामा पार्टीका बिग ५ (शीर्ष नेताहरू) बसेर निर्णय गर्ने अनि अफ्ट्यारो पर्दा चाहिँ हामीलाई किन बोलाउने ?’, बैठकका सहभागीको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले भने, ‘८० प्रतिशतभन्दा बढी सदस्यहरूले नेतृत्वको कार्यशैलीको आलोचना गर्नु भएको छ ।’

बैठकका सहभागीहरूले पार्टी भ्रातृसंगठनमा शीर्ष नेतृत्वले खल्तीका मान्छे हालेको भन्दै प्रश्न उठाए । ‘पार्टीका भ्रातृसंगठनमा खल्तीका मान्छे हाल्दाको परिणाम आज संगठन कहाँ छ ?’, बैठकका सहभागीले नेताहरूलाई घेर्दै भने, ‘गल्ती गर्‍यौँ भनेर माफी माग्नुपर्छ ।’