काठमाडौँ– बलिउड अभिनेता रणवीर कपुर उमेरले ४१ वर्ष पुगे, दुई वर्षअघि विवाह बन्धनमा बाँधिएका उनी एक छोरीको बाबु पनि बनिसकेका छन् ।
नायिका आलिया भट्टसँग लामो प्रेम सम्बन्धमा रहेर विवाह गरेका उनलाई ‘धोकेबाज’ र ‘प्ले बोई’को आरोप लाग्ने गरेको छ ।
दुई सफल नायिकासँगको प्रेम सम्बन्ध असफल भएपछि उनलाई ‘धोकेबाज’ र ‘प्ले बोई’को ट्याग लागेको हो । ती नायिकाहरु हुन्– दीपिका पादुकोण र कटरिना कैफ ।
रणवीरले कटरिनाका लागि दीपिकासँगको सम्बन्ध टुटाए । यी दुईको ‘ब्रेकअप’पछि दीपिकाले रणवीरको नामको ट्याटु ‘आरके’ त मेट्नुपर्याे नै, उनी यही कारण डिप्रेसनको शिकार बनिन् । पछि रणवीरले कटरिनासँग ‘ब्रेकअप’ गरेपछि प्रेमलाई लिएर उनको छवि धमिलियो । दर्शकले उनको नाममा ‘धोकेबाज’ र ‘प्ले बोई’को ट्याग झुण्ड्याइ दिए।
झन् दीपिकाले ‘कफी विथ करण’ कार्यक्रममा नायिका सोनाम कपुरसँग रणवीरसँगको प्रेम सम्बन्धका बारेमा खुलेर गफ गरिन् । त्यसपछि रणवीरमाथि खुलेरै सो आरोप लाग्ने गर्याे ।
यी दुई ‘ट्याग’ लाग्दा आफू हैरान बनेको रणवीरले भर्खरै एक अन्तर्वार्तामा भनेका छन् । दीपिका र कटरिनाका कारण आफूमाथि सो ट्याग लागेको थाहा भएको समेत उनले बताएका छन् ।
निखिल कामथसँगको कुराकानीमा उनले भने, ‘मैले दुई सफल नायिकासँग प्रेम सम्बन्ध राखेँ । त्यो नै मेरो परिचय बन्यो । मलाई प्लेबोई र धोकेबाजको ट्याग लाग्यो । म वर्षौँदेखि यो ट्षग खेपिरहेको छु ।’
उनले आफ्नो नाम पछाडि यी ट्याग लाग्दा मानसिकरूपले असहज हुने जिकिर गरे । उनले भने, ‘मलाई पनि यो खराब लाग्छ । तर आफूले आफैँलाई सम्झाउँछु ।’