राजनीति

पूर्व राज्यमन्त्री रायको हत्या- राप्रपाले सरकारसँग माग्यो जवाफ

By खबरहब

July 22, 2024

काठमाडौं- सर्लाहीस्थित पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या प्रकरण संसद्‍मा प्रवेश गरेको छ।

प्रतिनिधि सभा आइतबार बसेको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या प्रकरणबारे सत्यतथ्य छानबिन गर्न माग गरेको छ ।

बैठकमा बोल्दै राप्रपा सांसद रोशन कार्कीले रायको हत्याबारे छानबिन र मधेशमा दिनप्रतिदिन बढ्दै गएको असुरक्षाप्रति सदनको ध्यानाकर्षण गराइन् ।

पूर्वमन्त्री रायको आइतबार सर्लाहीको चन्द्रनगर गाउँपालिका-१ स्थित आफ्नै घरमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो ।

उक्त घटनापछि राप्रपाले विज्ञप्ति जारी गर्दै निन्दा गरेको छ । प्रवक्ता मोहनकुमार श्रेष्ठले भनेका छन्, ‘यस दुःखद घटनाको सत्यतथ्य जाँचबुझ गर्न, घटनामा संलग्नको खोजी गर्न र कडा कारबाही गर्न राप्रपा सरकारको गम्भीर ध्यानाकर्षण गराउँछ ।’

रायको निधनबाट राप्रपाले आफ्नो संस्थापक सदस्य र तराई मधेश क्षेत्रको लोकप्रिय राष्ट्रवादी नेता गुमाएको पनि विज्ञप्तिमा उल्लेख छ ।