समाचार

सहकारीको अवस्थाबारे छलफल

By खबरहब

July 22, 2024

काठमाडौं– सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारीको अवस्थाबारेमा संघीय मामिला मन्त्रालयका साथै स्थानीय तहका प्रतिनिधिहरूसँग छलफल गरेको छ । 

सिंहदरबारमा सोमबार बसेको समितिको १९ औं बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवका साथै नगरपालिका संघ, गाँउपालिका राष्ट्रिय महासंघ लगायतका निकायसँग छलफल गरेको समिति संयोजक सूर्य थापाले जानकारी दिए ।

छलफलका क्रममा स्थानीय तहमा रहेका २४ हजार सहकारीमध्ये कुनैमा पनि ठगी सम्बन्धी समस्या नदेखिएको जानकारी प्राप्त भएको उनले बताए । त्यस्तै थापाले स्थानीय तहमा सहकारीलाई थप सुदृढ बनाउनका साथै समस्यामुक्त बनाउन सुझावहरू समेत आएको उल्लेख गरे ।

उनले सहकारी संस्था बचत रकम दुरुपयोगको छानविनका लागि सरोकारवालासँग निरन्तर छलफल गर्ने र आवश्यक निष्कर्षमा पुगिने जानकारी दिए ।