राजनीति

आगामी निर्वाचनसम्म कांग्रेस–एमालेको गठबन्धन कायम रहन्छ : प्रदीप ज्ञवाली

By खबरहब

July 22, 2024

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्व र देशको अवस्था परिवर्तनका लागि कांग्रेस–एमाले गठबन्धन सरकार आवश्यक परेको बताएका छन् ।

नेता ज्ञवालीले पटकपटक सरकार परिवर्तनले देशमा अस्थिरता उत्पन्न भएको भन्दै त्यसलाई जोगाउन र मुलुकमा स्थिरता ल्याउनका लागि पनि ठूला दलहरू एक हुनुपरेको बताए ।

प्रेस चौतारी नेपाल गुल्मीले आज सदरमुकाम तम्घासमा आयोजना गरको पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले देशका दुई ठूला दल दुई कित्तामा बाडिँदा अस्थिरताका शक्तिहरूले खेल्ने मौका पाउने र लोकतन्त्र खतरामा पर्ने जिकीर गरे।

लोकतन्त्र खतरामा पर्दा त्यसको अपजस कांग्रेस र एमालेको काँधमा आउने भएका कारण लोकतन्त्रको रक्षा गर्न दुई ठूला दलहरू महत्त्वपूर्ण भूमिका रहने उनले बताए ।

वर्तमान सरकार गठन भएसँगै देशले नयाँ कोर्ष लिन सुरु गरेको भन्दै नेता ज्ञवालीले आगामी निर्वाचनसम्म यही गठबन्धन कायम रहने प्रतिबद्धता व्यक्त गरे ।

संविधान संशोधनका विषयमा प्रतिपक्षद्वारा उठाइएका कतिपय आरोप गलत र निराधार भएको भन्दै उनले यदि संशोधन गर्नुपर्ने भएमा त्यसलाई अध्ययन गरेर मात्र अघि बढ्न सकिने बताए ।