अन्तर्राष्ट्रिय

इतिहास लेख्ने बाटोमा ह्यारिसको ह्वाइट हाउस प्रवेश अभियान

By मनोज घिमिरे

August 22, 2024

अप्रिल महिनामा अमेरिकामा ‘ब्ल्याक उमन हिस्ट्री मन्थ’ भव्य रूपले मनाइएको थियो। त्यसको चार महिना नबित्दै त्यसै अमेरिकाले ओलम्पिक खेलकुदमा अन्तिम स्वर्ण पदक जित्दै तालिकामा पहिलो स्थान पाएको थियो। एजा विल्सनको शानदार खेलमा अमेरिकाले फ्रान्सलाई हराउँदै महिला बास्केटबलको स्वर्ण पदक जितेको थियो। त्यसै स्वर्ण पदकसँगै अमेरिका तालिकामा पहिलो भएको हो।

ओलम्पिकमा सिमोन बाइल्सले जिम्न्यास्टिकमा तीन तथा केटी लेडेकीले पौडीमा दुर्ई स्वर्ण पदक जित्दै आफूलाई सर्वकालीन उत्कृष्ट ओलम्पियनको कोटीमा राखेका थिए। पौडीमै टोरी हस्कले तीन स्वर्ण पदक जित्दै नयाँ शक्तिको रूपमा आफूलाई स्थापित गरिन्। अर्कोतर्फ सिड्नी म्याकगाउलिनको ट्रायकमा आकर्षण त्यत्तिकै थियो।

यो अभियान यत्तिमा सीमित थिएन। यस बिचमा अमेरिकी चुनावलाई संसारले हेरिरहेको थियो। प्रौढ उमेरमा जो वाइडेनमाथि थुप्रै आरोप लागेको थियो। यी धेरै आरोप मध्य उनको बढ्दो उमेरमा कारण अबको कार्यकाल पुरा गर्न असहज हुने आरोप रिपब्लिक उम्मेदवार डोनाल्ड ट्रम्पले लगाइरहेका थिए। वाइडेनले आफ्नो उम्मेदवारी फिर्ता लिएर कमला ह्यारिसलाई उम्मेदवारको रूपमा अघि सारे।

जात, वर्ग, वर्ण, लिङ्ग र भूगोलको सीमालाई बेवास्ता गर्दै कार्य दक्षता र श्रेष्ठताको आधारमा मानिस ठुलो हुन पाउनुपर्छ भन्ने मान्यता बोकेको अमेरिकामा पछिल्लो एक शताब्दी महिलाको उपस्थिति बेजोड थियो। राष्ट्र प्रमुखको रूपमा भने अमेरिकाले अहिलेसम्म महिलाको उपस्थिति पाएको छैन।

अहिले ह्वाइट हाउस प्रवेशको अभियानमा ह्यारिस छिन्। उनको अभियानको सारथि बनेर बाइडेन अघि बढेका छन्। यस निर्वाचन अभियानमा हिलारी क्लिन्टन पनि उपस्थित भएकी छिन्। उनले डेमोक्र्याटको सम्मेलनमा २०१६ को निर्वाचनको स्मरण गर्दै आफू असफल भए पनि अमेरिकी नागरिकले नयाँ इतिहास कोर्ने विश्वास रहेको बताएकी छिन्। क्लिन्टनले भने जस्तै ह्यरसिले जीत हात पारेमा उनी अमेरिकाको पहिलो महिला राष्ट्रपति मात्र हुने छैनन्, पहिलो एसियाली मूलकी अमेरिकी राष्ट्रपति हुनेछिन्।

जमैकाका बाबु र भारतीय आमाकी छोरी कमला पहिलो अश्वेत महिला उपराष्ट्रपतिको रूपमा कीर्तिमान कायम गरिसकेकी छिन्। आज संसारले देखेको अमेरिका त्यत्तिकै बनेको पक्कै थिएन। समानताका थुप्रै मुद्दा त्यहाँ विभिन्न कालखण्डमा बहसका विषय बनेका थिए। थुप्रै मुभमेन्ट पछि अहिलेको अमेरिका बनेको हो। त्यसै मुभमेन्टको सम्झनामा अहिले पनि फेब्रुअरी महिनालाई अमेरिकामा अफ्रिकन उमन मन्थको रूपमा मनाइने गरिन्छ।

५ नोभेम्बरका दिन अमेरिकामा निर्वाचन हुने छ। त्यसको ७३ देखि ७९ दिनको बिचमा नयाँ राष्ट्रपतिले पदभार ग्रहण गर्ने छन्। ह्यारिस निर्वाचित भएमा त्यसै अफ्रिकन उम मन्थ सुरु हुनु भन्दा केही दिन अघि मात्र उनी ह्वाइट हाउसमा प्रवेश गरिसकेकी हुने छिन्।

एक शताब्दी लामो महिला इतिहासमा केही यस्ता अफ्रिकन अमेरिकन जन्मिए जसले अमेरिकाको साखलाई संसारका सामु बढाउने काम गरे। यिनीहरूको सनसनीले इतिहासका धेरै पाना ओगटिएका छन्।

ओफ्राह विन्फ्रेले जीवनमा लामो सङ्घर्ष गरेपछि आफूलाई संसारको पहिलो अफ्रिकन महिला बिलिनियरको रूपमा स्थापित गरेकी थिइन्। नृत्यङ्गना जोसेफिन बाकर दोस्रो विश्व युद्धको समयमा सफल जासुसको रूपमा आफूलाई स्थापित गर्न सफल भएकी थिइन्। इडा बी पहिलो पटक अन्तरिक्षमा प्रवेश गर्ने अश्वेत महिला भएर आफूलाई अन्तरिक्ष विज्ञानको एउटा नायिकाको रूपमा स्थापित गरेकी थिइन्।

यी सबै सफलतालाई आधार मानेर प्रथम अमेरिकी महिला मिचेल ओबामाले भनेकी थिइन्, ‘सफलताको उचाई चढ्ने पहिलो आधार भनेको हामीले देख्ने सपनाको उचाई हो। दोस्रो आधार भनेको यसलाई पुरा गर्नका लागि आवश्यक दृढ इच्छा शक्ति र मेहनत मात्र हो।’

ओबामाले भनेको यो कथन अफ्रिकन महिलाको हकमा मात्र होइन सबै व्यक्तिको जीवनका लागि हो। तथापि उनले यो अभिव्यक्ति कठोर परिस्थितिका बाबजुद सफलताको सिँढी चढेको अफ्रिकन महिलाको प्रशंसामा लक्षित थियो।

मिसाउरीमा जन्मिएकी बाकर राम्रो नृत्यङ्गना थिइन्। उनी यसै कारण फ्रान्स पुगेकी थिइन्। फ्रान्समा पुगेपछि दोस्रो विश्व युद्धको समयमा उनलाई नाजीको जासुसीको काम दिइएको थियो। त्यसपछि उनी अमेरिका फर्किएकी थिइन्। अमेरिका फर्किएपछि उनले रङ्गभेदको महसुस गरेकी थिइन्।

सन् १९६३ मा मार्टिन लुथर किङ जुनियरको ‘आइ ह्याभ अ ड्रिम’ एउटा चर्चित सम्बोधन थियो। सोही सम्बोधनले उनलाई संसारको एउटा पृथक् नेताको रूपमा स्थापित गरेको थियो। त्यसै कार्यक्रममा दुई महिलालाई मन्तव्यको अवसर दिइएको थियो। सो मन्तव्यले बाकरलाई रङ्गभेद विरोधी अभियानको एउटा अभियान्ताको रूपमा अमेरिकामा स्थापित गरेको थियो।

विन्फ्रीको क्यारियरको सुरुआत सुन्दरी प्रतियोगिताको प्रतिस्पर्धीको रूपमा भएको थियो। त्यसपछि उनी सिकागो टिभीमा ‘पिपल आर टकिङ’को कार्यक्रम प्रस्तोता भएकी थिइन्।

सोही कार्यक्रमको लोकप्रियताले उनलाई ‘ओफ्राह विन्फ्री सो’ कार्यक्रम लन्च गर्न प्रेरित गरेको थियो। आफ्नै उत्पादनले उनलाई लोकप्रियता मात्र दिएन। महिला अश्वेत महिला बिलिनियरको रूपमा अमेरिकामा स्थापित गराएको थियो। उनको आवाजलाई संसारले ध्यान दिएर सुन्न पनि थाले। सो कार्यक्रम २५ वर्ष सञ्चालन भएको थियो।

माइ जेमिन्सनको सफलताको कथा भने फरक छ। शान्ति सेनामा मेडिकल अफिसरको रूपमा काम गर्नु भन्दा अघि उनी विज्ञानको विद्यार्थी थिइन्। त्यहाँ पुगेपछि उनले आफ्नै अभ्यासले चिकित्सकको काम गर्न सफल भएकी थिइन्।

एपोलो अभियानले प्रेरित उनले अन्तरिक्ष विज्ञानमा महिलाको कम उपस्थितिले छाएको थियो। अल्बामाकी उनले सन् १९८७ मा नासामा आवेदन दिएकी थिइन्। दुई हजार आवेदन दिनेमध्ये उनी केनेडी स्पेस सेन्टरका लागि छानिएकी थिइन्।

सन् १९९२ को १२ सेप्टेम्बरमा उनी ६ अन्य अन्तरिक्ष यात्रीसँगै स्पेस सटलका लागि तयार भएकी थिइन्। यस अभियानले उनलाई अन्तरिक्षमा यात्रा गर्ने पहिलो अश्वेत महिलाको रूपमा स्थापित गरेको थियो।

इतिहासका यी यावत सफलतालाई पछ्याउने क्रममा ह्यारिसका लागि धेरै चुनौती छन्। आप्रवासी मुद्दा, युक्रेन र इजरायललाई गरेको सहयोग, संसारमा परिवर्तन भएको अर्थतन्त्र, जलवायु परिवर्तन, गर्भपतन र लैंङ्गीक अधिकारमा अपुग विषय लगायत मुद्दा यस निर्वाचनमा उठेका छन्। ट्रम्प र ह्यारिस दुवै बहसमा छन्। सुरुवातमा ट्रम्प अघि देखिए पनि यस बहसमा हिलारी र बाइडेनको उपस्थितिले ह्यारिसलाई बलियो साथ मिलेको छ।

साँच्चै अबको फेब्रुअरी महिनामा अश्वेत महिला दिवस अमेरिकामा मनाइरहँदा जमैकाको बाबुकी ती छोरीले कोर्ने इतिहासले विशेष बन्छ या बन्दैन ? प्रश्नको उत्तर खोज्न अझ लामो प्रतीक्षा गर्नुपर्छ। स्रोत : टुडे डटकम,एक्ट लाइभ योर ड्रिम, बिबिसी