ब्रेकिङ स्टोरी

जीबी राईलाई ‘हाम्रो ग्रुप अफ कम्पनी’ जिम्मा लगाएका पुष्पराजसँग बयान

By खबरहब

August 22, 2024

काठमाडौं- सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले तत्कालीन हर्बो इन्टरनेशनल प्रबन्ध निर्देशक एवं हाम्रो ग्रुप अफ कम्पनीका संस्थापक अध्यक्ष पुष्पराज पौडेल पुरूषसँग बयान लिएको छ।

समितिको बिहीबार सिंहदरबारमा बसेको ४४ ओँ बैठकमा अध्यक्ष पौडेलसँग बयान लिइएको समितिका सभापति तथा नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार विशेष समितिको कार्यविधिअनुसार विभिन्न सहकारी र कम्पनीमा संलग्न रहने व्यक्तिहरूमध्ये तत्कालीन हर्बो इन्टरनेशनल प्रबन्ध निर्देशक एवं हाम्रो ग्रुप अफ कम्पनीका संस्थापक अध्यक्ष पौडेलसँग बयान लिइएको हो ।

पौडेलमाथि सहकारीकै शैलीमा हर्बो इन्टरनेशनल नेटवर्किङ व्यवसाय गरेर करोडौँ ठगी गरेको आरोप छ । उनले अर्काको नाममा रहेको जग्गाको नक्कली लालपूर्जा बनाएर बेचेको आरोप पनि लागेको थियो । त्यस प्रकरणमा काठमाडौं प्रहरीले २०७४ सालमा नक्कली पूर्जा बनाएर ठगी गरेको आरोपमा पुष्पराज र गोकुल श्रेष्ठलाई पक्राउ गरेको थियो ।

श्रेष्ठ र पुष्पराज मिलेर पर्साको तत्कालीन मनियारी गाविस वडा नम्बर ६ स्थित १६ कठ्ठा जग्गा ८ करोड ३७ लाख रुपैयाँमा बिक्री गरेको प्रहरीले जनाएको थियो ।

तत्कालीन समयमा पौडेले हर्बो इन्टरनेशनल नेटवर्किङका अध्यक्ष थिए । हर्वोमा आर्थिक लगानी हाम्रो ग्रुप अफ इन्भेष्टमेन्टले गरेको थियो । यी दुवै संस्थाका अध्यक्ष पौडेल थिए । पछि ग्रुपको नाम गोर्खा ग्रुप अफ कम्पनी राखियो । तत्कालीन समयमा करोडौँ ठगेको आरोप लागेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मुद्दा नै चलाएको थियो ।

हर्बो चलाउन पुष्पराजले हाम्रो ग्रुपबाट ऋण लिएको खुलेको थियो । उक्त ऋण तिर्न नसकेपछि उनले आफूले लिएको पैसा बराबरको जमिन उपलब्ध गराउने वाचा पौडेलले गरेका थिए । हर्बोमाथि कारबाही हु्ँदा हाम्रो ग्रुप सञ्चालक समितिको अध्यक्ष पुष्पराज नै थिए । उनले त्यसबेलाको विवाद मिलाउन पर्साको तत्कालीन छनियारी गाविस वडा नम्बर ६ स्थित १६ कठ्ठा जग्गा देखाएका थिए ।

उनी अहिले ललितपुरको महालक्ष्मी नगरपालिका लामाटारस्थित जयसंगत आश्रममा सन्तका रुपमा बस्दै आएका छन् ।

अनि जीबी आए

पुष्पराज पुरुष बाहिरिएपछि हाम्रो ग्रुप अफ कम्पनीमा नयाँ सञ्चालक समिति भित्रियो । समितिले कम्पनीको नाम फेरेर गोर्खा ग्रुप अफ कम्पनी बनायो ।

गितेन्द्रबाबु राई (जीबी) कार्यकारी अध्यक्ष रहेको समितिले कम्पनीको नाममा रहेको भनिएको जमिन हेर्न टोली पर्सा पठाएको थियो ।

टोलीले आफ्नो कम्पनीको नाममा रहेको भनिएको जग्गा पर्साका रुदन राउतको नाममा पायो । यसमा पुष्पराजसँगै गोर्खा नेट्वर्ककै सञ्चालक समिति सदस्य गोकुल श्रेष्ठ संग्लन रहेको भेट्टिएको थियो ।

प्रहरीले त्यसबेला पुष्पराज र गोकुलमाथि किर्ते र ठगी मुद्दा चलाएको थियो । उनीहरूले नक्क्ली लालपूर्जा काठमाडौंको सुन्धारास्थित होटलमा बनाएको खुलेको थियो ।

हाल मलेसियामा लुकेका भनिएका जीबीले पुष्पराजपछि उक्त समूहको नेतृत्व लिँदै देशकै सबैभन्दा ठूलो नेटवर्किङ व्यवसाय हर्बो इन्टरनेशनल हाँकेका थिए ।

कम्पनीमा रहँदै गर्दा उनले २०६६ सालमा गोर्खा ग्रुप अफ कम्पनी अघि बढाए । तर सरकारले नेटवर्किङ व्यवसायमा २०६८ मा प्रतिबन्ध लगायो ।

त्यसपछि नेपालमा हर्बो बन्द गरी त्यही नेटवर्कबाट उनले देशभर करिब एक दर्जन सहकारी खोले । तिनै सहकारीमा सर्वसाधारणको बचत दुरुपयोग गरी नेचर हर्ब्स, नेचर नेस्टलगायतका नाममा नेपालसहित ७ वटा देशमा नेटवर्किङ व्यवसाय उनले चलाएका थिए ।

गोर्खा ग्रुप अफ कम्पनीमार्फत सातवटा सहकारी सञ्चालन भएका थिए । ती संस्थामध्ये ३ अर्ब रुपैयाँ निक्षेप रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था, काठमाडौंको अध्यक्ष जीबी राई आफैं थिए ।

उपत्यकाबाहिर पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी, नेपालगञ्जको समानता बचत तथा ऋण सहकारी, चितवनको सहारा चितवन बचत तथा ऋण सहकारी र वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था पनि जीबीकै समूहको थियो । सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको पूर्वसचिवमा पूर्वउराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुन थिए। जोसँग संसदीय समितिले बयान लिइसकेको छ ।