काठमाडौं – सोलुखुम्बुको दुर्गम गाउँ सोताङमा उजिरबहादुर र अम्बिकादेवी बस्नेतकी जेठी छोरीका रूपमा वि.सं. २०२८ सालमा जन्मिएकी हुन् डा. रेणुका सोलु । उनी कवि, कथाकार, गजलकार एवम् समालोचकका रूपमा नेपाली साहित्य क्षेत्रमा उदाइरहेकी छिन् ।
समानता, सभ्यता र मानविकीकरणको पक्षधर रहेर सशक्त रूपमा कलम चलाउँदै नेपाली साहित्य क्षेत्रमा आफ्नो योगदान विस्तार गरेकी छिन् । विशेषतः उनले नारी जीवन, नारी चेतना, नारीको हक, अधिकार र स्वतन्त्रताका लागि लेखनमार्फत नै आफ्नो आवाज बुलन्द गर्दै आएकी छिन् ।
सोलुले नेपाल संस्कृत विश्वविद्यालयबाट ‘विश्वेश्वरप्रसाद कोइरालाका नारीपात्रमा नीतिचेतना’ विषयमा विद्यावारिधि हासिल गरिसकेकी छिन् । त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानमा पुल्चोक क्याम्पसमा प्रशासन प्रमुखका रूपमा समेत कार्यरत छिन्।
उनका उपन्यासहरू ‘भिरमह ९२०७३०,’ ‘चिराक ९२०७५०’ कथासङ्ग्रह ‘अस्तित्वको खोजी ९२०७००,’ गजलसङ्ग्रह ‘संघर्षका पाइला ९२०७६०,’ ‘अवसरको सगरमाथा ९२०६९०,’ शोककाव्य ‘शिखर पुरुषप्रति श्रद्धासुमन ९२०६७०’ आत्मकथा ‘गुलाफ फुल्न खोज्दा ९२०७००,’ ‘उपन्यासकार विश्वेश्वरप्रसाद कोइरालाका नारीपात्रमा नीति चेतना ९समालोचना २०७००’ लगायतका कृतिहरूका साथै बालसाहित्य र सहलेखनमा थुप्रै पुस्तकहरू प्रकाशित छन् ।
उनको पछिल्लो संस्मरणात्मक निबन्धसङ्ग्रह ‘तुइन जिन्दगी’मा उनले सामाजिक, आर्थिक, राजनीतिक जस्ता दुर्गमताबीच गाजिएको पुरातना चेतनाविरुद्ध सङ्घर्षरत एक आम नारीको कथालाई उजागर गरेकी छिन् । गएको असोज १३ गते शुक्रबार पुलचोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानमा आयोजित कार्यक्रमबाट ‘तुइन जिन्दगी’ कृति सार्वजनिक भएको छ ।
‘तुइन जिन्दगी’मा समावेश निबन्ध सङ्गालोहरूले उठाएको नारी चेतना, साहित्यमा महिला लेखनको अवस्था, मूलधारको मानिने साहित्यले यसलाई हेर्ने प्रवृत्ति, नेपाली साहित्यमा यस्ता सिर्जनाहरूले पारेको प्रभाव र आगामी दिनमा महिला स्रष्टाहरूले लेखनमा चाल्नुपर्ने पाइलाहरूकै सन्दर्भमा रहेर उनै स्रष्टा डा. सोलुसँग जोयनेपालकर्मी सुशीला तामाङले गरेकी कुराकानीको सम्पादित अंशः
पछिल्लो कृति ‘तुइन जीन्दगी’मा नारी विषय र चेतनालाई कसरी उठान गर्नुभएको छ ?
अहिले महिलाहरू राजनीतिक मूलधारमा नआउनुको मूल कारण घर, परिवार, समाजमा भएका चेतनाको कमी पनि हो । महिलाहरू आफैँ पनि हतोत्साहित हुने र प्रेरणाको कुनै स्रोत नहुने जस्ता पक्षलाई हामीले देखाउनुपर्छ भन्ने विषय पछि मैले समेटेकी छु । समाजमा छोरा र ज्वाइँलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ भन्ने खालको कुराहरू समेत कृतिमा छन् ।
छोराछोरीलाई हुर्काउँदा एउटै खालको वातावरणमा हुर्काउनुपर्छ, कर्मकाण्डदेखि छोराछोरीहरूले गर्ने काजकर्मका कुराहरूमा भेदभाव गर्नुहुँदैन भन्ने कुराहरूलाई उठाएकी छु । जसरी हुन्छ समाजमा महिला र पुरुषको समान सहभागिता हुनुपर्छ र दुवैको समान अस्तित्व हुनुपर्छ भन्ने कुराहरू नै कृतिमा उठान भएका छन् ।
कृतिमा समकालीन समाज र चेतनाजस्ता विषय समेटिएका रहेछन्, यस्ता विषयले नारी चेतनालाई फराकिलो बनाउन कस्तो भूमिका खेल्ला रु नारीहरू पहिलाको तुलनामा धेरै अगाडि आइसक्नुभएको छ । तर, यो शहरमुखी मात्र भइरहेको छ । खासमा चेतनाको स्तर शहरमा मात्र अगाडि आइरहेको छ ।
महिला सशक्तिकरणको अभियानमा पूर्वदेखि पश्चिमसम्मको विभिन्न गाउँहरूमा जाँदारदेख्दा साधारण साक्षर महिलाहरूलाई पनि सशक्त बनाउन कसरी भूमिका निर्वाह गर्ने त भन्ने सवालहरू पनि मैले उठाएको छु । सबै महिलाहरूमा ‘म मान्छे हुँ, म बाँच्ने पिँढी म आफैंले बनाउने हुनुपर्छ, म पनि राज्यको नागरिक हुँ’ भन्ने चेतना होस् भन्ने म चाहन्छु ।
महिलाको अस्तित्व पुरुष र घरपरिपरिवारले पनि स्वीकारोस् जस्ता धेरै प्रसङ्गहरू पुस्तकमा आएका छन् । बुहारी पनि मान्छे हुन् मेसिन होइनन् भन्ने कुराहरू समेत आएका छन् ।
जबसम्म पुरुषहरूले पनि महिलाका मुद्दाहरूलाई स्वीकार गर्दैनन्, तबसम्म रोनाधोनाकै आरोप लागिरहन्छ । आरोप लागे पनि हामीले पछि हट्नुहुँदैन, बोलिराख्नुपर्छ
त्यस्तै छोरीले दागबत्ती दिएका, जन्म दिने बुवाआमा छोरीसँग बस्नु हुँदैन भन्ने समाजको रीतिथितिलाई तोडेर छोरीहरूले पनि आफ्ना अभिभावकहरूलाई सेवा गरेका, राज्यको मूलधारमा महिलाको समान सहभागिता भएको कुरा र हुनुपर्छ भन्ने मान्यता समेत आएका छन् ।
महिलाहरूले अप्ठ्यारो पर्दा आफैँ जुट्नुपर्छ । महिला आफैँले बोल्न सकेनन् भने घर, परिवार, समाज र कार्यालयमा विभेद हुन्छ । त्यसलाई तोड्नुपर्छ भन्ने धारणाहरू छन् ।
कार्यालयहरूमा पनि गर्भवती महिलाहरूलाई अवसरबाट बञ्चित गरिएको छ । ‘महिलाको भुँडी भनेको उनको मात्र हो कि यो देशको पनि हो ?’ यसको पक्षमा घरपरिवार, संस्थाहरू र देशले किन सम्बोधन गर्दैन भन्ने सवालहरू उठान गरेको छु । यसले गर्दा यी कुराहरू थाहा नभएका महिलाहरूले पनि गर्भवती हुँदा लजाएर हिँड्ने महिलाहरूले गर्व बोध गर्न सक्छन् ।
महिलालाई परिवार, समाज र देशमा समेत समान व्यवहार गर्नुपर्ने कुराहरू समेत भएकोले महिलाहरूले नै सर्वप्रथम ‘म को हुँ, मेरो कर्तव्य पनि छ र यसलाई निर्वाह पनि गर्नुपर्छ’ भन्ने बोध हुन्छ । अधिकार खोज्नेमात्र होइन, जिम्मेवारी पूरा गर्न पनि त्यतिकै महिलाहरू सचेत हुनुपर्छ भन्ने धेरै प्रसङ्गहरू उठाइएको छ । मलाई लाग्छ यी विचारहरूले नारी सशिक्तकरणका सवालहरू पनि समेट्छन् ।
पछिल्लो समय साहित्यमा नारी चेतना कसरी उठान भइरहेको छ ?
पछिल्लो समय साहित्यमा नारी चेतनाहरू एकदमै सशक्त रूपमा आइरहेका छन् । तर, समस्या के भएको छ भने अहिले पनि निर्णय गर्ने तह र तप्कामा चाहिँ पुरुषको वर्चस्व छ ।
त्यसकारण ती नारीका आवाजहरूलाई रोनाधोनामा मात्र सीमित राखेकाले ‘रोनाधाना’ मात्रै हुन् भने भाष्य निर्माण गरिएको छ । केही कुरा महिलाहरूले बोले भने रोनाधोना हुने र पुरुषले बोले भने मुद्दा हुनाले गर्दा नारी सिर्जनाका आवाजहरू बाहिर आउन बञ्चित भइरहेको छ ।
जबसम्म पुरुषहरूले पनि महिलाका मुद्दाहरूलाई स्वीकार गर्दैनन्, तबसम्म रोनाधोनाकै आरोप लागिरहन्छ । आरोप लागे पनि हामीले पछि हट्नुहुँदैन, बोलिराख्नुपर्छ । ‘हामीले अहिले नबोले कहिले बोल्ने र हामीले नै नबोले कसले बोलिदिने ?’ भन्ने चेतनाले ओेतप्रोत भएका नारी लेखकहरूले लेखेका सिर्जनाहरू बाहिर आइरहेका छन् ।
यसले गर्दा सशक्त आवाजहरू समेत बाहिर आइरहेको छ । साहित्यले समाजका सवालहरू उठाउने भएकाले उठ्नुपर्ने सवालहरू उठ्दै नै आइरहेका छन् । तर, सम्बन्धित निकायहरूमा पुरुषहरू नै भइरहेकोले अलि गाह्रो चाहीँ भइरहेको छ । तर, पनि सशक्त सिर्जनाहरू आइ नै रहेका छन् ।
यो समयमा महिलाका कलम शक्तिशाली रूपमा आउन कत्तिको जरुरी देख्नुहुन्छ ?
अहिलेको समयमा एकदमै जरुरी छ । यो त लिखित दस्तावेज हो । कलमसँग यति शक्ति छ कि माइतीघर मण्डलामा गएर गरेको भाषण लिपिबद्ध भएन र अखबारहरूमा आएन भने त्यो मुद्दा बन्दैन ।
महिलाका पखेँटा नै समाइराखेको हुनाले कहाँ र कसरी उड्ने भन्ने मुख्य चिन्ता छ । घर र बाहिर संसार महिला पुरुष दुवैको हो, यो धरती र आकाश दुवैमा समान अधिकार तथा जिम्मेवारी छ भन्ने चेतनाको स्तर माथि उठ्यो भने केही सहज होला
तर, हाम्रो लिखित रूपमा दस्तावेज भएमा पाठ्यक्रममा जान सक्छ । धेरै ठाउँका विद्यालय तथा कलेजका पुस्तकालयहरूमा पुग्छ । यसले गर्दा सारा मानिसहरूको हात हातमा पुस्तकहरू पुग्न सक्छ । त्यही भएर कलमको शक्ति लिपिबद्ध रूपमा आउनुपर्छ ।
मूलधारको मानिने साहित्यले हिजोका दिनमा महिला लेखनलाई सिर्जनाको रूपमा नमान्ने प्रवृत्ति थियो भनेर कतिपय लेखन क्षेत्रमै रहेका महिला लेखकहरूले गुनासो गर्नुहुन्छ । वर्तमान समयमा यो प्रवृत्ति कत्तिको फेरिएको छ ?
अझै पनि महिला लेखन सिर्जनालाई त्यसरी नै हेरिएको छ । महिलाहरूको विधा र लेखन भनिसकेपछि के गतिलो होला र भनेर पाना नै नपल्टाइकन अनुमान गरेर मूल्याङ्कन तहमै कृतिहरू नराखिदिने र महिलाहरूको कृतिलाई नपत्याइदिने मानसिकता अझै पनि छ ।
पुरुष समालोचकहरूले पनि हृदयदेखि नै स्वीकारेर महिलाहरूको कृतिलाई सशक्त भन्न अझै पनि गाह्रो भइरहेको छ । किनभने मैले अघि भनेजस्तै महिलाको लेखनमा रोनाधोना हुन्छ भन्ने मानसिकता उहाँहरूले बोकिरहनुभएको छ ।
तर त्यो घर अनि घरभित्रको रोनाधोना पनि समाज हो र त्यो समाजस भित्रकै मुद्दा हो भन्ने कुरा उहाँहरूले स्वीकार गरिसकेको अवस्था छैन । तर अहिले महिलाहरू लेखनमा यति सशक्त भएर आउनुभएको छ कि अब उहाँहरूले बाध्य भएर पनि स्वीकार्नैपर्ने अवस्था आइसकेको छ ।
यो समयमा महिला लेखन सिर्जनामा मुख्य चुनौती चाहीँ के छ ?
महिलाहरूले अझै घर व्यवहारबाट बाहिर निस्कन पाएका छैनन् । मुख्य चुनौती यसैमा छ । स्वस्फूर्तमा रूपमा पुरुष लेखक सरह नै महिलाहरूले आनन्दले लेख्न पाएका छैनन् ।
हामी घरभित्र मात्र हुँदा घरकै कुरा लेख्यौँ । अब त हामी बाहिर निस्केका छौँ । हामी धेरथोर राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरमा समेत पुगेका छौं
सारा संसार जिम्मेवारीहरूले यतिधेरै थिचिरहेको छ कि त्यही थिचाइहरूको अनुभवहरू मात्र लेखाइमा आइरहेको आरोप अहिले खेप्नुपरेको छ । घर, परिवार, समाज, आफन्त चारतिरबाट समातिराखेकोले जमीन छोडेर उड्न कठिन भइरहेको छ ।
महिलाका पखेँटा नै समाइराखेको हुनाले कहाँ र कसरी उड्ने भन्ने मुख्य चिन्ता छ । घर र बाहिर संसार महिला पुरुष दुवैको हो, यो धरती र आकाश दुवैमा समान अधिकार तथा जिम्मेवारी छ भन्ने चेतनाको स्तर माथि उठ्यो भने केही सहज होला । तर, ती असहजताको चुनौती चिरेर नै अवसरहरू भेट्टाइन्छ । त्यो चिर्ने क्रममा नै हामी छौं ।
तपाईँको आफ्नो भोगाइ र लेखन अनुभवमा यस्ता असहजताको बीचमा अबको महिला लेखनको बाटो कस्तो हुनुपर्ला ?
हामी घरभित्र मात्र हुँदा घरकै कुरा लेख्यौँ । अब त हामी बाहिर निस्केका छौँ । हामी धेरथोर राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरमा समेत पुगेका छौं ।
त्यही हामीले देखेका कुराहरू अब हामीले लेख्न थाल्नुपर्छ र लेख्न थालेका पनि छौं । यसले गर्दा हाम्रो लेखनको स्तर उन्नति र दायरा पनि फराकिलो हुन्छ । यही क्रममा नै हामी अझै माथि उठ्न सक्छौं भन्ने मलाई लाग्छ ।