मनोरञ्जन

हङकङमा ‘गाउँ आएको बाटो’को विषेश प्रदर्शन

By खबरहब

October 22, 2024

काठमाडौं – चिनियाँ भाषी दर्शकलाई लक्षित गरी हङकङमा आयोजना गरिएको नेपाली फिल्म ‘गाउँ आएको बाटो’ को विषेश प्रदर्शन सम्पन्न भएको छ ।

निर्माण पक्षका अनुसार हङकङको गोल्डेन सिन सिनेमाको हलमा त्यहाँको समयअनुसार आइतबार दिउँसो २ बजे देखि बेलुका ८ बजेसम्म १२ शोमा बाँडेर फिल्म देखाइएको हो ।

त्यहाँका स्थानीय दर्शकलाई लक्षित गरी फिल्म चिनियाँ सब-टाइटलमा देखाइएको थियो । निर्माता अमोल राईका अनुसार आइतबार ८ सय भन्दा बढी नेपाली र विदेशी दर्शकले फिल्म हेरे थिए ।

निर्माता राई थप्छन्, ‘नेपाली दर्शकको उपस्थिति हामीले सोचेको भन्दा उल्लेख्य रह्यो । हामीलाई आगमी दिनमा काम गर्ने थप ऊर्जा मिलेको छ ।’

त्यस्तै, निर्देशक नवीन सुब्बाले चलचित्र हेरेपछि हङकङका नेपाली दर्शकसँग साक्षात्कार पनि गरेको थिए ।

फिल्म प्रदर्शनअघि औपचारिक कार्यक्रम पनि राखिएको थियो । कार्यक्रममा चलचित्रका निर्देशक नवीन सुब्बा, अभिनेत्री पशुपति राई, बालकलाकार प्रसन राईलगायत सहभागी थिए ।

त्यस्तै, कार्यक्रममा हङकङको महावाणिज्य दूत डा. उदयबहादुर राना, हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ, हङकङ किरात राई योयोक्खाका प्रतिनिधि, कलाकार, साहित्यकार तथा विभिन्न नेपाली संघ संस्था प्रतिनिधिहरुको उपस्थिति थियो ।

यो फिल्मको हङकङको प्रदर्शन अधिकार हङकङकै गोल्डेन सिन सिनेमाले किनेको हो । उसले आफ्नै हलमा फिल्म देखाएको हो ।

यस फिल्म निर्माणमा हङकङका चिनियाँ फिल्मकर्मीहरु पनि जोडिएका छन् । चलचित्र सम्पादनमा ताइवानका क्वान पुन लुङ, संगीतमा हङकङकी संगीतकार हाइडी ली र केही प्राविधिकहरुले यस फिल्ममा काम गरेका छन् ।