अन्तर्राष्ट्रिय

प्रधानमन्त्री पद नत्यागी भागेकी थिइन् शेख हसिना, राष्ट्रपतिले भेटेनन् राजीनामा पत्र

By खबरहब

October 22, 2024

काठमाडौं- बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाड्नुअघि पदबाट राजीनामा नदिएको खुलेको छ । हाल छिमेकी मुलुक भारतको शरणमा रहेकी उनले दिएको राजीनामा पत्र राष्ट्रपतिले नभेटेका हुन् ।

शेख हसिना गत ५ अगस्टदेखि भारतमा निर्वासन जीवन बिताइरहेकी छन् । उनले देश छोड्ने क्रममा पदबाट राजीनामा दिएको कुरा सार्वजनिक भएको थियो । तर अहिले उनले राजीनामा दिएको विवरण त्यहाँका राष्ट्रपतिले नभेटेका हुन् ।

हालैमात्र बंगलादेशका राष्ट्रपतिले आफ्नो एक वक्तव्यमा त्यहाँको राजनीतिक सरगर्मी तातेको छ। टाइम्स अफ इन्डियाको समाचार अनुसार बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनले शेख हसिनानाको राजीनामाबारेको कुनै लिखित दस्तावेज आफूकहाँ नआइपुगेको खुलासा गरेका हुन् ।

राष्ट्रपति शहाबुद्दिनले देश छोड्नुअघि शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएको कुनै किसिमको कागजी दस्तावेज आफूले नभेटेको बताएका हुन् ।

बंगलादेशमा विद्यार्थी र कट्टरपन्थीसहितले तत्कालीन शेख हसिना सरकारविरुद्ध उग्र प्रदर्शन गरेका थिए । स्थिति नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री हसिनाले ५ अगस्टमा राजीनामा दिएर भारतको शरण लिएकी थिइन् । राष्ट्रपतिको भनाइ यही सन्दर्भमा आएको हो ।

राष्ट्रपति शहाबुद्दिनले यसबारेमा शेख हसिनाले देश छाड्नुअघि प्रधानमन्त्री पदबाट राजीनामा दिएको बताए । तर उक्त राजीनामाको कुनै ठोस प्रमाण आफूसँग सुरक्षित नरहेको उनले बताएका हुन् । धेरै मिहिनेत गरेर खोज्दा पनि त्यससँग सम्बन्धित कागजपत्र नभेटेको उनले बताएका छन् । उनले सायद समय नभएकाले शेख हसिनाले लिखित राजीनामा दिन नभ्याएको हुन सक्ने तर्क गरेका छन् ।

५ अगस्टको घटनाबारेमा उनले बताएअनुसार बिहासन साढे १० बजे बंगभवनलाई हसिनाको आवासबाट फोन गएको थियो । उनले त्यसबेला राष्ट्रपतिसँग मिल्न चाहेको बताएकी थिइन् ।

एक घण्टापछि अर्को फोन कल आयो । यसमा उनले अब आफू बंगभवन नआउने बताएकी थिइन् । त्यसबेला राजधानीसहित देशका अधिकांश भागमा हिंसात्मक प्रदर्शन चलेको थियो ।

‘मैले आफ्ना सैन्य सचिव जनरल मोहम्मद आदिल चौधरीलाई यसबारेमा निगरानी गर्न भनेको थिएँ । तर उनलाई पनि जानकारी मिलेको थिएन । त्यसपछि हसिना देश छोडेर भागेको खबर आयो’, उनले भनेका छन् ।

यसै वर्ष जुलाई मा आरक्षणविरूद्ध बंगलादेशमा उग्र छात्र आन्दोलन भएको थियो । यसमा कयौँ कट्टरपन्थी समूहले पनि भाग लिएका थिए । आरक्षणविरोधी आन्दोलन चर्किएपछि देशको सर्वोच्च अदालतले एउटा आदेश दिएको थियो । जसमा आरक्षणको प्रतिशतलाई ३० बाट सिंगल अंकमा झारिदिएको थियो ।

त्यसपछि छात्र आन्दोलन थामियो । तर केही समयपछि विद्यार्थीले आन्दोलन चर्काए । यस पटक भने उनीहरूले शेख हसिनाको राजीनामा मागे । जब विद्यार्थीको भीड प्रधानमन्त्री आवासतर्फ बढ्यो तब शेख हसिनाले सुरक्षाका कारण प्रधानमन्त्री पद छाड्न उचित ठानिन् ।

त्यसपछि देशबाट भागेकी शेख हसिना सेनाको विमानबाट भारत पुगिन् । त्यसपछि उनी भारतमै छिन् । बेलायत जान चाहने उनको योजना पूरा हुन सकेको छैन। यसैबीच बंगलादेशको एक अदालतले मानवाधिकार हननको मामिलामा शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

आन्दोलनका क्रममा करिब ४ सय विद्यार्थीले ज्यान गुमाएका थिए । यिनमा कयौँ विद्यार्थीको हत्या आरोप शेख हसिनामाथि लागेको छ । शेख हसिनामाथि विरोधी तह लगाउने नाममा दमन गरेर सयौँलाई जेलमा थुनेको आरोप पनि छ ।