समाचार

‘अन्तर व्यवस्थापिका संघको महासभामा नेपालको सहभागिता उपलब्धीमूलक’

By खबरहब

October 22, 2024

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले अन्तर व्यवस्थापिका संघको १४९ औँ  महासभामा  नेपालको सहभागिता उपलब्धीमूलक रहेको बताएका छन् ।

मंगलबार सिंहदरबारमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले नेपालको संघीय संसदको नेतृत्व गर्दै स्विट्जरल्याण्डको जेनेभामा भएको महासभाको  भ्रमण फलदायी रहेको जानकारी दिए ।

 शान्तिपूर्ण र दिगो भविष्यका लागि विज्ञान र प्रविधि र नवप्रर्वतनमा समतामुलक पहुँचलाई आम हितमा जानुपर्छ भन्ने विषयलाई गम्भीरताका साथ महासभामा उठाएको उनले बताए । 

जलवायु परिवर्तनका कारण नेपालजस्तो अति कम विकसित राष्ट्रहरूले भोगिरहेको समस्या र क्षतिको न्युनीकरण गर्ने बारेमा विश्व समुदायको ध्यानाकर्षण गराइएको उनले जानकारी दिए । महासभाको बैठकमा  विभिन्न राष्ट्रका प्रतिनिधिहरूसँग भएको साइडलाईन भेटवार्ता पनि उपलब्धि भएको उनले जिकिर गरे ।

यस्तै उनले नेपालको संविधान, निर्वाचन प्रणाली संसदमा, प्रतिनिधित्व संसदीय समितिहरू तथा अन्य प्रतिनिधि मण्डलमा महिला युवा लगायतका विषयगत समितिमा सम्बोधन गर्ने विषयमा जोड दिएको  बताए । 

आइपीयुको सचिवालयमा प्रतिनिधि मण्डलको सहभागिता मात्र नभई नेपाललाई पनि  काम गर्ने अवसर दिन आग्रह गरिएकोमा महासभाका अध्यक्षले सकारात्मक देखाएको उनले जिकिर गरे । गत असोज १७  देखि कात्तिक १ गतेसम्म जेनेभामा भएको महासभामा ९ सदस्यीय  टोलीको नेतृत्व गर्दै अध्यक्ष दाहालले  सहभागिता जनाएका हुन् ।