काठमाडौं – शेयर लगानीकर्ताहरूका लागि यो साता अर्थात् मङ्सिर २ गतेदेखि ६ गतेसम्म सुखद देखिएन । अघिल्लो साता ७३ अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यो साता ६८.३४ अङ्कले घट्दा लगानीकर्ता घाटामा रहे ।
यो साता मङ्सिर २ गते सरकारले सार्वजनिक बिदा दिएकाले शेयर कारोबार भएन । बाँकी चार दिन नेप्सेमा कारोबार हुँदा दुई दिन बजार बढ्यो । दुई दिन दोहोरो अङ्कले घट्यो ।
अघिल्लो साता अर्थात कात्तिक २५ देखि २९ गतेसम्म ४६ अर्ब रुपैयाँ कारोबारसहित नेप्से ७३ अङ्कले बढेको थियो । यो साता भने नेप्से यो साता भने कारोबार रकम पनि ३६ अर्ब ९५ करोड २५ लाख ७७ हजार रुपैयाँमा खुम्चियो ।
गत साताको बिहीबार २७४८.७८ बिन्दुमा रहेको नेप्से घटेर यो साताको बिहीबारसम्म १६८०.४४ बिन्दुमा आइपुगेको छ । यो साता ३६ अर्ब ९५ करोड २५ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार हँदा दैनिक औषतमा नौ अर्ब २३ करोड ८१ लाख ४४ हजार रुपैयाँ बराबरको शेयर किनबेच भयो ।
साताभर ६ करोड ७८ लाख १२ हजार ५१७ कित्ता शेयर किनबेच भएको हो । दैनिक औषतमा एक करोड ६९ लाख ५३ हजार १२९ कित्ता शेयर कारोबार भयो ।
चार दिन अवधिमा तीन लाख ७२ हजार ५७३ पटक शेयर कारोबार हुँदा दैनिक औसतमा ९३ हजार १४३ पटक कारोबार भयो ।
चालु आर्थिक वर्षको मौद्रिक नीति समीक्षा पर्खिएका कारण शेयर बजारमा तत्काल उत्साह नदेखिएको लगानीहरू बताउँछन् । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने र त्यसपछि सरकार ढल्ने हल्लाले पनि बजार घटेको लगानीकर्ताबीच चर्चा हुने गरेको छ ।
ओली नेतृत्वको सरकारका अर्थमन्त्री विष्णु पौडेललाई लगानीकर्ताहरूले शेयर बजारका ‘बुल ड्राइभर’ भन्छन् । ओली नेतृत्वको सरकार ढलेको खण्डमा पौडेल पनि अर्थमन्त्रीबाट हट्ने र शेयर बजार पुनः १८०० को बिन्दुमा आउने डर लगानीकर्तामा छ ।
नेपाल शेयरधनी संघका उपाध्यक्ष कमल अधिकारी पनि प्रधानमन्त्री ओली चीन जाने हल्लाले बजार घटेको स्वीकार्छन् । तर, ओली चीन भ्रमणमा जानेबित्तिकै सरकार भने नढल्ने उनको दाबी छ ।
‘हाम्रो देशमा भारतको केही प्रभाव छ, त्यो सत्य कुरा हो’, अधिकारीले भने, ‘तर, ओली चीन जानेबित्तिकै सरकार ढलिहाल्छ भन्ने हल्ला चलाइएको छ, त्यसमा कुनै सत्यता छैन ।’
ओलीले भारत र बङ्गलादेशमा जस्तै चीनमा पनि विद्युत निर्यातको सम्झौता गर्न सक्ने र चीनसँगको व्यापारिक सम्झौता अझ बढ्ने भएकाले अर्थतन्त्रमा समेत टेवा पुग्ने अधिकारीको तर्क छ ।
सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेकाले पनि शेयर बजार घटेको चर्चा हुन थालेको छ । लगानीकर्ता गोपाल कटुवाल (स्वामी) दुर्गा प्रसाईंलाई सरकारले पक्राउ गरेपछि चलेको हल्लाका कारण शेयर बजार घटेको बताउँछन् ।
केही व्यक्तिहरूले दुर्गा प्रसाईंको पक्राउलाई सरकार ढल्ने कुरासँग जोडेर हल्ला चलाएकाले बजार घटेको कटुवालको भनाइ छ । प्रसाईं पक्राउपछि ‘अब सरकार ढल्छ ?’ भनी आफूलाई पनि ४–५ जना लगानीकर्ताले फोन गरी सोधेको कटुवालले बताए ।
‘नेपालको शेयर बजार यो हदसम्म कमजोर हुनु दुःखद हो’, कटुवालले भने, ‘नियामक निकाय प्रभावकारी नहुँदा र बलियो कानून बन्दा यस्तो भएको हो ।’
सातामा कुन दिन रह्यो बजार ?
आइतबार अर्थात् मङ्सिर २ गते उतारचढाव बाबजुद पनि शेयरबजार बढेरै बन्द भएको थियो । उक्त दिन नेप्से पाँच अङ्कले बढेर बन्द भएको थियो ।
आइतबार नेप्से परिसूचक उच्चतम २७८८ बिन्दु र न्यूनतम २७४८ बिन्दुसम्म पुगेको थियो । तर, तीन बजे बजार बन्द हुँदा नेप्से २७५३ बिन्दुमा पुगेको थियो ।
बजार बन्द हुँदा हरियो देखिएको नेप्सेको वृद्धिमा कारोबारले राम्रो साथ दिएको थियो । आइतबार एकै दिन ११ अर्ब ५६ करोड ८० लाख ३१ हजार रुपैयाँ बराबरको २ करोड ११ लाख ३३३ कित्ता शेयर १ लाख ११ हजार ६२८ पटक किनबेच भएको थियो ।
सोमबार सरकारले सार्वजनिक बिदा दिएकाले गर्दा नेप्सेमा कारोबार भएन । तर मङ्गलबार भने नेप्सेमा पहिरो नै गयो । एकै दिन ५१.११ अङ्कले घटेर नेप्से २७०२ बिन्दुमा आयो ।
सो दिन नेप्से उच्चतम २७५९ बिन्दु र न्यूनतम २६९६ बिन्दुसम्म पुग्यो । शेयर बजारको उच्च अङ्कको गिरावटसँगै कारोबार पनि घट्यो ।
मङ्गलबार १० अर्ब २७ करोड १४ लाख ७६ हजार रुपैयाँ बराबरको एक करोड ९० लाख ७६ हजार ४६७ कित्ता शेयर एक लाख चार हजार १७१ पटक किनबेच भयो ।
मङ्गलबार उच्च अङ्कले घटेको शेयर बजारमा बुधबार भने आशाको किरण देखियो । बुधबार नेप्से नौ अङ्कले बढेर परिसूचक २७११ बिन्दुमा पुग्दा लगानीकर्ताले केही राहतको स्वास फरे ।
उक्त दिन नेप्से परिसूचक उच्चतम २७१४ र न्यूनतम २६८३ बिन्दुसम्म पुगेको थियो । बुधबार नेप्सेले आशाको किरण देखाए पनि कारोबारले भने साथ दिएन । उक्त दिन ६ अर्ब ९८ करोड ९५ लाख १३ हजार रुपैयाँ बराबरको एक करोड २८ लाख ६७ हजार ४६१ कित्ता शेयर ७३ हजार १७० पटक कारोबार भयो । जुन अघिल्लो दिनको भन्दा निकै कम थियो ।
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्सेमा फेरि पहिरो चल्यो । एकै दिन ३१ अङ्कले घटेर नेप्से २६८० को बिन्दुमा ओर्लियो । उक्त दिन नेप्से २७२२ उच्चतम र २६७६ बिन्दुमा झर्यो ।
बुधबारको तुलनामा साताको अन्तिम कारोबार दिन बिहीबार कारोबार रकममा भने भने केही बढोत्तरी भयो । बिहीबार आठ अर्ब १२ करोड ३५ लाख ५५ हजार रुपैयाँ बराबरको एक करोड ४७ लाख ६८ हजार कित्ता शेयर ८३ हजार ६०४ पटक किनबेच भएको थियो ।
यो पनि –
ओलीले भने : कांग्रेससँग असमझदारी छैन, १८ महिनापछि देउवा प्रधानमन्त्री