काठमाडौं– कात्तिक लागेसँगै चिसो बढिरहेको छ । यो चिसोमा गाउँघरतिर आगो बालिन्छ तर सहरका कोठाहरूमा धेरैले हिटर बालेर बस्ने गरेको पाइन्छ । हिटर बाल्दा केही कुरामा ध्यान नदिँदा निसासिएर धेरैको मृत्यु हुने गरेको समाचारहरू हामीले सुन्दै आएका छौँ ।
कोठा थुनेर हिटर ताप्दा ज्यान पनि जोखिममा पर्न सक्ने चिकित्सकहरू बताउँछन् । चिकित्सकका अनुसार आगो वा हिटर बालेको बन्द कोठामा शुद्ध हावाको प्रसार हुन पाउँदैन ।
कोठाभित्र अक्सिजन कम हुँदै जान्छ। अक्सिजन कम हुने बित्तिकै कार्बनको एक परमाणुले अक्सिजनको दुई भाग परमाणु लिएर रासायनिक प्रतिक्रिया सुरु गर्छ र कार्बन मोनोअक्साइड ग्यास बनाउँछ।
यसले हेमोग्लोबिनमा अक्सिजनको मात्रा कम गर्दै लैजान्छ। यो क्रम बढ्दै जाँदा अर्थात् लामो समय कोठाभित्र आगो र हिटरमा बस्दा शरीरका कोषहरू मर्दै जान्छ । जसका कारण मानिसको मृत्यु समेत हुन सक्छ ।
हिटर बाल्दा यी कुरामा ध्यान दिनु होस्
– कहिले पनि बन्द कोठामा हिटर नबाल्ने ।
– हिटरलाई बेलाबेलामा बन्द गर्ने ।
– राति सुत्ने बेला पूर्ण रूपमा हिटर बन्द गरेर मात्र सुत्ने ।
– बालबालिकाको पहुँच पुग्ने ठाउँमा हिटर नराख्ने ।
– हिटर बाल्दा छाला सुख्खा हुने, आँखामा समस्या आउने रातो दाग बस्ने, चिलाउने र नाकको रक्त नली फुट्नेजस्ता समस्या देखा पर्न सक्छ, त्यसैले पानी, चिया, कफीजस्ता पेय पदार्थ पिउँदै हिटर ताप्न सकिन्छ ।
– हिटरको नजिक छिटो जल्ने खालका कुनै पनि सामाग्री राख्नुहुँदैन ।
– दीर्घ रोगी, एलर्जीका रोगी, दम, श्वासप्रश्वास, छातीका समस्या भएका बिरामीले हिटर ताप्दा खोकी लाग्ने, श्वास फुल्ने अर्थात् स्वाँस्वाँ हुने समस्या बढ्न सक्छ ।
– बन्द कोठामा हिटर अन गरेर हिँड्नु हुँदैन । यसबाट बाहिरिने कार्वनमाेनोक्साइड ग्यास हाम्रो लागि लागि निकै हानिकारक हुन्छ ।